राजनीति

माओवादी नेता शाहीको जिकिर- दलहरूको चुरिफुरीले जनता आक्रोशित छन्, देश दुर्घटनातिर जाँदैछ

By खबरहब

August 13, 2024

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले राजनीतिक दलहरूको चुरीफुरीले जनतामा निराशा बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद शाहीले जनताको निराशा आक्रोश र आवेगमा बद्लिन सक्ने खतरा रहेको बताए ।

जनतामा रहेको निराशाको सम्बोधन गर्नेबारेमा सबै राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

‘देशमा दलहरूको हालिमुहाली अर्थात चुरिफुरी चलिरहेको छ । जनताको निराशा लामो समय रहिरहन सक्दैन । युवाहरूमा देखिएको निराशा भोलि आवेग र आक्रोशमा बदलिए देशको हविगत के होला ?’, उनले भने, ‘एक पटक सबै दलहरूले यो विषयमा गम्भीर चिन्तन गर्नुपर्ने आवश्यक्ता छ ।’

शाहीले अहिले सबै राजनीतिक दलमाथि अविश्वास बढ्दै गइरहेको बताए । सत्ताको नेतृत्व गरिरहेका दलहरूले यो विषयलाई गम्भीतापूर्वक लिएर समाधान नखोजे देश दुर्घटनामा जाने खतरा बढेको तर्क शाहीले गरे ।

माओवादीले संविधान संशोधन गर्न नहुने नभनेको उनले बताए । माओवादी अग्रगामी संविधान संशोधनको पक्षमा रहेको पनि उनले बताए । संविधान बनाइसकेपछि संघीय ऐन बनाउनुपर्नेमा दलहरूले सत्ताभन्दा अरु कुरामा चासो नदेखाएको उनले बताए ।