काठमाडौं– दसैंमा एकभन्दा बढी फिल्म एकैसाथ हलमा लाग्नु स्वाभाविक हो । यसअघि पनि दसैंमा दुई वा दुईभन्दा बढी फिल्म प्रदर्शन भएका छन् ।
यसपटक पनि असोज २४ अथवा फूलपातीका दिन दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् । ती हुन् : दीपक–दीपाको ‘छक्का पञ्जा–५’ र जितु नेपाल ‘मुन्द्रे’ र नीति शाह शीर्ष भूमिकामा रहेको ‘ज्वाइँ साब’ ।
छक्का पञ्जा टिमले जेठमै प्रदर्शन मिति तय गरेर छायांकनमा निस्किएको थियो । ज्वाइँ साबले मंगलबार मात्रै प्रदर्शन मिति तय गरेको हो । अर्थात्, छक्का पञ्जा टीमसँग प्रतिस्पर्धा गर्न ‘‘ज्वाइँ साब’ अग्रसर भएको हो ।
फिल्म जुध्नु सामान्य भए पनि ‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’को प्रतिस्पर्धाले चर्चा बटुलेको छ ।
यो चर्चाको प्रमुख कारण हो : दीपक-दीपा टीमबाट निकालिएका जितुको फिल्म उनीहरूसँगै जुध्नु । विगतको विवादले टाढिएका जितु र छक्का पञ्जा टिमबीच चार वर्षसम्म सहकार्यको वातावरण नबन्नू ।
त्यहीकारण जितुले टिमबाट निकालिएको रिस फेर्न फिल्म जुधाएको एकथरी विश्लेषण र गसिपले पनि स्थान पाएको छ ।
‘ज्वाइँ साब’को प्रदर्शन मिति घोषणापछि छक्का पञ्जा टिमका केदार घिमिरे ‘माग्ने बूढा’ले सहमतिमा अगाडि बढ्न सक्ने धारणा राखेका छन् ।
हलमा प्रतिस्पर्धा नगर्न छलफलबाट समाधान निस्किने आशयसिहत उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाँस्य कलाकारहरूबीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म भएको छैन । अहिलेको कुरा पनि वार्ता र संवादको माध्यमबाटै हल हुनेछ ।’
मिल्ला कुरा ?
एकैदिनदुई फिल्म हलमा लाग्दा दर्शक बाँडिन्छन् । दुवै फिल्मले कम शो पाउँछन् । यस अर्थमा दुवै पक्षलाई फाइदाभन्दा घाटा हुने निश्चित छ । केदारले भने जस्तै छलफलबाट उचित निष्कर्ष निकाल्दा दुवैलाई फाइदा पुग्न सक्छ ।
यता दीपकराज गिरी पनि ‘ज्वाइँ साब’ले ‘छक्का पञ्जा– ५’सँग प्रतिस्पर्धा गरोस् भन्ने चाहँदैनन् । खबरहबसँगको कुराकानीमा भन्छन्, ‘हामीले पहिल्यै प्रदर्शन मिति तोकेका हौं । उहाँहरू प्रतिस्पर्धा गर्न आउनुभयो । तिहारमा आउने योजना सुनेका थियौँ । त्यही समयमा आउँदा उचित हुन्छ ।’
यद्यपि आफूहरू फूलपातीमै दर्शकमाझ जानेमा दीपक स्पष्ट छन् । जानजान फिल्म जुधाउन आउनेसँग छलफल गर्नुपर्ने कारण नरहेको उनी बताउँछन् ।
भन्छन्, ‘हामीले के छलफल गर्नु ? उहाँहरूले छलफल गरेरै फूलपातीमा आउनु भएको होला ?’
सार्वजनिक भएका ‘ज्वाइँ साबका दुई पोस्टर जितुले ढिलोगरी आफ्नो फेसबुकमा सेयर गरेका छन् । जितुले ढिलो पोस्टर सेयर गर्नुको कारण ‘छक्का पञ्जा–५’सँग फिल्म जुधाउन नचाहेको केहीको अनुमान थियो । ज्वाइँ साबका निर्देशक वसन्त निरौला भन्छन्, ‘उहाँ अर्को फिल्मको सुटिङमा हुनुहन्थ्यो, नेटको पहुँच बाहिर भएर पोस्टर ढिला सेयर गर्नु भएको हो ।’ खबरहबले जितुलाई फोन सम्पर्क गर्दा कुराकानी हुन सकेन ।
निर्देशक निरौलाले जितुको कारण नभइ टिमकै सहमतिमा फिल्मको प्रदर्शन मिति तय भएको स्पष्ट पारे । उनले खबरहबसँग भने, ‘कलकारको कारणले मिति तय भएको होइन । फिल्म टिममा हुने काम हो । टिमले नै मिति तय गरेको हो ।’
ज्वाइँ साब दसैंछेका हेर्दा रमाइलो हुने फिल्म भएकाले फूलपातीमै प्रदर्शन गर्नेमा उनी अडिग छन् । भन्छन्, ‘फिल्म जुधाउने हाम्रो लक्ष्य होइन । दसैंको लामो बिदामा दर्शकलाई हलमा ल्याउने हो । यो मिति हेरफेर हुने सम्भावना छैन ।’