आर्थिक

दूधकोशी हाइड्रोको वित्तीय व्यवस्थापन ६ महिनाभित्रै, लागत तीन खर्ब

By खबरहब

September 13, 2024

काठमाडौं –  प्रस्तावित ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन आगामी ६ महिनाभित्र हुने भएको छ । सन् २०२५ मार्चभित्र वित्तीय व्यवस्थापन गरी आयोजना निर्माण थालिने आयोजनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय दातृ संस्था एसियाली विकास बैंक (एडीबी) ले समेत ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको आयोजनालाई सरकारले चालू आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने लक्ष्य लिएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आयोजना निर्माण सुरु गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण अघि बढाउन आवश्यक बजेट समेत व्यवस्था गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

आगामी ६ महिनाभित्र वित्तीय व्यवस्थापन सम्पन्न गरी आयोजनाको ठेक्का यसै वर्षभित्र लगाइने दूधकोशी जलविद्युत आयोजनाका प्रमुख विमल गुरुङले जानकारी दिए । ‘दूधकोशीमा खासगरी एडीबीकै मुख्य लगानी रहनेछ । कम्तिमा ६ महिना अर्थात् सन् २०२५ मार्चभित्र ‘फाइनान्सिङ क्लोजर’ गरिसक्ने लक्ष्य छ,’ आयोजना प्रमुख गुरुङले भने ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीअन्तर्गत रहेको दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडको प्रवर्द्धनमा आयोजना निर्माण हुनेछ । एडीबीको ७० प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ३० प्रतिशत स्वःपूँजी रहने गरी लगानी जुटाइने लक्ष्य लिइएको छ ।

आयोजना निर्माणका लागि ब्याजसहित (प्रसारण लाइनबाहेक) २२०० मिलियन अमेरिकी डलर अर्थात् २ खर्ब ९६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माण गर्न आवश्यक लगानी रकम एडीबीसहित विश्व बैंक, साउदी फण्ड, युरोपियन इन्भेष्टमेन्ट बैंक, ओपेक फण्ड, सार्क डेभलपमेन्ट फण्डलगायतबाट जुटाउने सरकारको योजना छ ।

चालू आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने लक्ष्यअनुरूप आयोजना प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्ने, पहुँच मार्ग विस्तारलगायतका पूर्वतयारीका काम अघि बढिरहेको  गुरुङले बताए । आयोजना प्रभावित खोटाङ, ओखलढुंगा र सोलुखुम्बु क्षेत्रमा कुल २१ हजार ३०० रोपनी निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

एसियाली विकास बैंकको सहयोगमा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रोकन्सल्टले सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन, डिजाइनका गरेको थियो । उक्त कम्पनीले विस्तृत डिजाइन, बोलपत्रसम्बन्धी कागजातहरू र वातावरणीय प्रभाव मुल्यांकन (इआए) समेत गरेर अन्तिम प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ ।

कसरी बन्दै छ आयोजना ?

सप्तकोशी सहायक नदीका रूपमा रहेको दूधकोशी जलविद्युत आयोजनाको बाँधस्थल खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने रबुवा बजारभन्दा एक किलोमिटर दक्षिणमा निर्माण हुनेछ । आयोजनाका दुई वटा विद्युत् गृहहरू हुनेछन् ।

६०० मेगावाटको विद्युत गृह खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ स्थित धितुङ गाउँ नजिकै निर्माण गरिनेछ भने अर्को ७० मेगावाटको विद्युत गृह भने ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका–६ मा निर्माण हुनेछ ।

२२० मिटर अग्लो रकफिल बाँधबाट ३१.५ किलोमिटर लामो र १५८ करोड घन मिटरको कृत्रिम जलाशय निर्माण गरिनेछ । १३.२ किलोमिटर लामो सुरुङ बनाए फ्रान्सिस प्रविधिका ४ वटा टर्बाइन राखेर विद्युत् उत्पादन गरिनेछ । सुरुङ टनेल बोरिङ मेसिन(टीबीएम) मार्फत खनिनेछ ।

आयोजनाबाट वार्षिक ३ अर्ब ३७ करोड युनिट बिजुली उत्पादन हुने अनुमान छ । यसरी उत्पादन हुने बिजुली धनुषाको ढल्केबर सवस्टेशनमा जोडिनेछ । त्यसका लागि विद्युतगृहस्थल खोटाङको धितुङदेखि ढल्कबेर सवस्टेशनसम्म ८१ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

जग्गा अधिग्रहण, पहुँच मार्ग निर्माणलगायतका निर्माण पूर्वका कामहरू भइरहेका छन् । राष्ट्रिय राजमार्ग हुँदै आयोजनास्थलमा ठूला–ठूला उपकरण तथा मेसिन लैजानुपर्ने र ढुवानी गर्नका लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माणको काम भइरहेको छ ।

सगरमाथा राजमार्गको कदमहा–गाइघाट–माहुरे, सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मी–हिलेपानी र मध्यपहाडी राजमार्गको हिलेपानी–बिजुले–माहुरे पुग्ने पहुँच मार्ग निर्माण गर्नपर्छ ।

आयोजनाले कुल ९८ किलोमिटर पहुँच मार्ग बनाउनुपर्नेछ । जसमध्ये ७० किलोमिटर सडकमार्ग केन्द्र र प्रदेश सरकारको मातहतमा पर्छ । बाँकी पहुँच मार्ग र ५ वटा पुल निर्माण गर्ने काम आयोजनाले गर्नुपर्नेछ ।

आयोजना निर्माण सुरु भएको ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कुलेखानीभन्दा २२ गुणा ठूलो आयोजना

दूधकोशी जलाशयुक्त बन्न लागेको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । आयोजनाको सम्भाव्यता अध्ययनले पनि दूधकोशी आयोजना अन्य जलाशययुक्त आयोजनाको तुलनामा धेरै ठूलो क्षमताको हुनेछ ।

आयोजना नेपालको विद्युत् खपत र निर्यातका दृष्टिकोणले कोशेढुंगा साबित हुने देखिएको छ । विस्तृत अध्ययन प्रतिवेदनका अनुसार, कुलेखानी जलाशय आयोजनाका तुलनामा दूधकोशी आयोजना २२ गुणा ठूलो हुनेछ । पानीको भण्डारणको क्षमताका आधारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाभन्दा यो आयोजना ७ गुणा ठूलो हुने आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य संरचनालाई ४ वटा लटमा विभाजन गरेर अघि बढाइनेछ । पहिलो लटमा बाँध, सिभिल र हाइड्रो मेकानिकलको काम हुनेछ । दोस्रो लटमा मुख्य सुरुङ र विद्युतगृहको सिभिल र हाइड्रो मेकानिकल कार्य, तेस्रो लटमा इलेक्ट्रो मेकानिकल कार्य र चौथो लटमा प्रसारण लाइन निर्माण कार्य हुनेछ ।

मुख्य संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । त्यस्तै, आयोजना निर्माणको सुपरिवेक्षक कार्यका लागि अन्तर्राष्ट्रिय परामर्शदाता समेत चयन गरिने आयोजनाले जनाएको छ ।