औषधी/उपचार

यसरी जोगिन सकिन्छ ज्यान लिने कारण बनिरहेको सेप्सिसबाट

By पवन मुडभरी

September 13, 2024

आज विश्व सेप्सिस दिवस ‘सेप्सिसको रोकथाम गर्दै जीवन रक्षा गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ । नेपालसहित विश्वभर यस दिनमा जनचेतनामुलक कार्यक्रम भइरहेका छन् । सेप्सिसले वार्षिक रूपमा विश्वभर कम्तीमा एक करोडको मृत्यु हुने गरेको तथ्याङ्क छ । विश्व सेप्सिस दिवस सन् २०१२ मा ग्लोबल सेप्सिस गठबन्धनले मनाउन थालेको हो ।

हरेक वर्ष सेप्टेम्बर १३ मा विश्वभर गरिने कार्यक्रमहरूले सेप्सिसबारे चेतना जगाउने विश्वास छ । सेप्सिस के हो ? के कारणले हुन्छ ? यसको उपचार तथा रोकथाम के ? खबरहबले यिनै विषयमा फिजिशियन डा. प्रतीक पौडेलसँग गरेको कुराकानी :

सेप्सिस भनेको के हो ?

सेप्सिस कुनै पनि रोगका कारण हुने इन्फेक्सन जस्तै निमोनिया, एपेन्डिक्स आदिले रगतमा संक्रमण बढेको अवस्थालाई भनिन्छ । यो छुट्टै रोग नभएर एक गम्भीर स्वास्थ्य अवस्था हो । शरीरको प्रतिरक्षा प्रणालीले सङ्क्रमणका लागि चरम प्रतिक्रिया गर्दा यो समस्या देखिन्छ ।

यस्तो बेला शरीरको आफ्नै प्रतिक्रियाले तन्तु र अङ्गलाई क्षति गर्छ । सेप्सिसले जोसुकैलाई पनि असर गर्दछ । यसलाई मानिसको मृत्युको मुख्य कारण मानिएको छ । बालबालिका, वृद्धवृद्धा, गर्भवती र अन्य स्वास्थ्य समस्या भएका मानिसहरू यसको उच्च जोखिममा हुन्छन् ।

सेप्सिसका कारण

डाइरियाको संक्रमण निमोनिया पेटको संक्रमण मिर्गौलाको संक्रमण रगतको संक्रमण ब्रेनको संक्रमण

क्षयरोगलगायत कुनै स्वास्थ्य संक्रमण हुँदा समयमै उपचार नभए सेप्सिस हुने सम्भावना धेरै हुन्छ ।

कस्तो अवस्थालाई सेप्सिस भन्ने ? लक्षण के के हुन् ?

रक्तचाप घट्ने, जस्तै : माथिको सयभन्दा कम र तलको ८० भन्दा तल झर्ने ।

शरीरको तापक्रम ३८ दशमलव ३ डिग्री सेन्टिग्रेटभन्दा बढी अथवा ३७ डिग्री सेन्टिग्रेटभन्दा कम हुने ।

मुटुको चाल प्रतिमिनेट ९० भन्दा बढी हुने ।

श्वासप्रश्वासको गति प्रतिमिनेट २० देखि २२ भन्दा बढी हुने ।

पिशावको मात्रा अति कम हुने ।

होस् पनि कम हुने ।

शरीरमा सेतो रगतको मात्रा बढ्ने लगायत लक्षणहरु देखिएमा सेप्सिस भएको मान्न सकिन्छ ।

उपचार कसरी गर्ने ?

शुरुमा के कारणले सेप्सिस भएको हो ? कारण पत्ता लगाउनुपर्छ । जस्तै : कसैलाई झाडापखालाकाले सेप्सिस भए त्यसको उपचार गर्ने । कसैको एपेन्डिक्स फुटेर रगतमा संक्रमण फैलिँदा सेप्सिस भएको हुन्छ । त्यस्तो केशमा तुरुन्तै अप्रेशन गर्नुपर्छ ।

रक्तचाप घट्ने, श्वास्प्रश्स्वास बढ्ने समस्या छ भने बढाउन स्लाइन दिने, बिरामीलाई अक्सिजन दिएर राख्ने र सेप्सिसको शंका लागेको बिरामीलाई एक घण्टाभित्रै एण्टिबायोटिक दिनु पर्छ ।

नेपालमा सेप्सिसमै जाने बिरामीको अवस्था कस्तो छ ?

हुन त यो विश्वभर बढिरहेको छ । तर एसिया र अफ्रिकी मुलुकमा बढी देखिन्छ । हाम्रोमा तुरुन्तै उपचार पाउन अलिक गाह्रो छ । आईसीयूहरु पनि पर्याप्त छैनन् । जसबाट बिरामीलाई संक्रमण फैलिने जोखिम उच्च हुन्छ ।

यो मुख्यतः दुई किसिमको छ । एउटा नियोलएड्रोट, जुन जन्मजात बच्चाहरूमा देखिन्छ । समयअगावै जन्मिएका, कम तौलकामा देखिन्छ । घरमै सुत्केरी हुँदा संक्रमण फैलिएर सेप्सिस हुने गर्दछ । अर्को, एडल्ट सेप्सिस, जुन आईसीयूका बिरामीहरूमा हुन्छ । यो आईसीयूमा भर्ना हुने ३० प्रतिशतमा देखिन्छ । सेप्सिस भएका ४० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ ।

सेप्सिसबाट बच्न के गर्ने ?

यसबाट बच्न सबैभन्दा महत्वपूर्ण सचेतना हो । डाइरिया लगायत संक्रमणबाट बच्न स्वस्थ खाना खाने, धुमपान र मदिरापान नगर्ने, सरसफाइमा ध्यान दिने र समय समयमा हात धुने ।

बिरामीलाई छुुनुअघि र पछि, संक्रमित कुराहरू छोएपछि हात धुने, कुनै संक्रमण भएको शंका लागे तुरुन्तै स्वास्थ्य सल्लाह लिने । सेप्सिसबारे जनचेतना फैल्याउने, सेप्सिस भइहाले कारण पत्ता लगाएर एन्टिवायोटिक सुरु गर्नुपर्छ । यति गर्नसके सेप्सिसको जोखिमबाट जोगिन सकिन्छ । यस दिवसको उद्देश्य पनि यही हो ।