समाचार

खानेपानीमन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

By खबरहब

October 13, 2024

वीरगञ्ज– खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति गरेको थियो ।

भेडाहा खोलाको अनियन्त्रित बहावले विशेषगरी इस्लामपुर र आसपासका बस्तीहरूमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति भएको थियो । निरीक्षणका क्रममा स्थानीयले वर्षौंदेखि खोलाले कटान र बाढीको जोखिम हुँदै आएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणका लागि आग्रह गरेका थिए ।

मन्त्री यादवले समस्याका दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व नै हो । त्यसैले यहाँहरूका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्छु ।’