समाचार

उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान  

By खबरहब

November 13, 2024

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

 सरकारले महशुल बक्यौता उठाउन निर्देशन गरेसँगै प्राधिकरणले पनि मंगलबार सञ्चालक समितिको बैठक बोलाइ लाइन काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गर्‍यो ।

ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय प्राधिकरणको बोर्ड निर्णयबाट भइसकेको छ । त्यसअनुसार, मंगलबार रातीसम्म लाइन काटिएका अधिकांश उद्योगमा लाइन जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

उनका अनुसार, बाँकी उद्योगमा आज (बुधबार) लाइन जोडिनेछ । उद्योगमा लाइन जोडेसँगै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलनका आयोजना गर्दैछन् । प्राधिकरणको सभाहलमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदैछ ।

यसअघि लाल आयोगको प्रतिवेदनअनुसार १५ दिनभित्र सम्पूर्ण बक्यौता उठाउनुपर्ने चुनौती प्राधिकरणलाई छ । घिसिङ स्वयं पनि प्राधिकरणमा बाँकी ८ महिनाको कार्यकालमा महशुल बक्यौता उठाउन लागिपरेको बुझिएको छ ।