फाइल तस्बिर

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्ने

By खबरहब

January 14, 2024

काठमाडौँ– सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे सुरु हुने बताइएको छ ।

बैठकमा आगामी माघ ११ गते राष्ट्रियसभाका १९ पदमा हुने निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले १९ सिटमा भागबण्डा गरी साझा उम्मेदवार तय गरेका छन् ।

आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा चालिने कदमका बारेमा बैठकमा छलफल हुनेछ । गठबन्धनले राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा निर्वाचन समन्वय समिति समेत गठन गरेको छ ।

सो समितिले गठबन्धनका शीर्ष नेताहरूलाई साझा उम्मेदवारहरूलाई जिताउनका लागि सम्युक्त अपील जारी गर्न लगाउने हिजोको बैठकले निर्णय गरेको थियो । सो विषयमा पनि नेताहरूबीच छलफल हुनेछ ।

यस्तै, सङ्क्रमणकालीन न्यायसम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।