काठमाडौं– नेकपा एमालेका नेता विशाल भट्टराईले संसदीय चुनावमा हारेका व्यक्तिलाई राष्ट्रियसभामा पठाउन नहुने बताएका छन् । विगतमा नेकपाको सरकार हुँदा राष्ट्रपतिबाट वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नु पनि गल्ती भएको एमाले नेता भट्टराईको स्वीकारोक्ति छ ।
अहिले राष्ट्रियसभाको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग एक्लै लड्न डराएर गठबन्धन बनाएको भट्टराईले बताए । राप्रपासँग गठबन्धन गर्नु सिद्धान्तहीन भएको उनको तर्क छ ।
सत्तारुढ दलहरुको व्यवहारका कारण जनतामा निराशा आएको बताउँदै भट्टराईले नेकपा एमाले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको रक्षार्थ उभिने बताए । तर, निर्वाचन प्रणाली र प्रादेशिक संरचनामा भने पुनर्विचार गर्नुपर्ने उनको विश्लेषण छ । प्रतिनिधिसभाको निर्वाचन समानुपातिक नभएर पूर्ण प्रत्यक्ष प्रणालीमा आधारित हुनुपर्ने उनी बताउँछन् ।
राष्ट्रियसभाको चुनाव र समसामयिक राजनीतिका बारेमा रेडियो क्यान्डिडका लागि कृष्ण तिम्सिनासँग एमाले नेता भट्टराईले गरेको कुराकानीको सम्पादित अंश–
नेकपा एमाले राष्ट्रियसभामा सबै भन्दा ठूलो दलको हैसियतबाट तल झर्दै गइरहेको छ, अब एमालेको रणनीति के हो ?
राष्ट्रियसभालाई एउटा संघीय संसदको प्रमाणित सदनको रूपमा र प्रतिनिधि सभासँग ‘चेक एण्ड ब्यालेन्स’ गर्ने महत्त्वपूर्ण सभाका रूपमा हामीले लिएका छौँ । त्यो राष्ट्रिय सभामा हाम्रो उपस्थिति अगाडि सशक्त रूपमा रहेको छ । त्यही बुझेर अहिले सत्तारुढ गठबन्धनले एक्लाएक्लै चुनाव लड्न नसकेर, एक्लै लड्दा एमालेले सबै सिट जित्छ भन्ने त्रासले उहाँहरू नै एक ठाउँ भेला हुनुभएको छ । कुनै प्रदेशबाट राप्रपा पनि त्यहीँ मिलेको खबर आइरहेको छ । यस्तो अवस्थामा एमाले उहाँहरूसँग कडारूपमा प्रतिस्पर्धा गर्छ । हाम्रा उमेदवारहरु सबै ठाउँमा उठाएका छौँ । जित्नका लागि प्रयास गर्छौँ ।
अब प्रतिनिधिसभाले कानून बनाएर पठाउँछ, सल्लाहकार सभाबाट कृष्ण सिटौला र दुर्गा पौडेलहरूले यो भएन भनेर फिर्ता पठाइदिन्छन् हैन त ?
यो एकदमै अनैतिक काम हो । राष्ट्रिय सभाको तेजोवध गर्ने काम भयो । राष्ट्रिय सभाको अपमान गरेको जस्तो भयो । राष्ट्रिय सभालाई सम्मानित, गरिमामय बनाउन यही कार्यकालमा प्रतिनिधिसभामा पराजित भएका व्यक्तिलाई लानुहुँदैनथ्यो ।
मान्छेले सबै चुनाव जित्छन् भन्ने छैन । विभिन्न चुनाव हार्छन् । तर, यही चुनावमा, ठ्याक्कै बहाल रहेकै संसदमा हारेको व्यक्तिलाई लैजानु भनेको सम्बन्धित राजनीतिक दलले जान्ने कुरा हो । तर, अहिलेको हाम्रो सत्तारुढ गठबन्धनलाई के गर्न हुन्छ, के गर्न हुँदैन, के गर्दा सम्मानित भइन्छ, जनताको मन कसरी जित्न सकिन्छ भन्नेमा कुनै मतलब छैन । जनतामा उहाँहरूदेखि निकै निराशा फैलिएको छ । अहिलेको व्यवस्थामाथि प्रश्न उठिरहेका छन् । हामीले धेरै ठूलो मूल्य चुकाएर बनाएको गणतन्त्र, लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ । यस्तो बेलामा त्यही सडकमा असन्तुष्टि पोख्दै हिँड्ने र व्यवस्था उल्ट्याउन खोज्नेलाई नै बल पुग्ने गरी जुन क्रियाकलाप अहिलेको गठबन्धनले गरेको छ, यसले जनतामा थप निराशा ल्याउँछ ।
एमालेका तर्फबाट हामीले त्यो प्रकारका उमेदवारहरु उठाएका छैनौँ । हामीले राष्ट्रिय सभालाई सम्मानित बनाउनुपर्छ, गरिमामय बनाउनुपर्छ र यसको उचाइ अझै माथि उठाउनुपर्छ भनिरहेको छौँ । तर सत्तारुढ गठबन्धनले सिङ्गो प्रणालीलाई नै गिज्याउने काम गरिरहेको छ ।
राष्ट्रिय सभाको तेजोवध गर्ने, संविधानको मर्म बाहिर जाने काम त तत्कालीन नेकपाबाट हारेका व्यक्ति वामदेव गौतमलाई राष्ट्रियसभामा पठाएर सुरु भएको होइन ?
बामदेव गौतम त्यसबेला हाम्रो पार्टीमा हुनुहुन्थ्यो । तर, हामीले पार्टीका तर्फबाट अगाडि सारेको होइन । राष्ट्रपतिबाट मनोनित कोटाबाट नै उहाँ त्यहाँ जानुभयो । व्यक्तिगतरूपमा पनि त्यो उहाँले नगर्नु पर्थ्यो भन्ने हामीलाई लागेको हो । त्यसले राष्ट्रिय सभालाई सम्मानित बनाउँदैन भनेर त्यसबेला पनि हामीले भनेका हौँ । तर, राष्ट्रपतिबाट मनोनयनमा उहाँ जानुभयो ।
बामदेव गौतम त्यसबेला हाम्रो पार्टीमा हुनुहुन्थ्यो तर हामीले पार्टीका तर्फबाट अगाडि सारेको होइन । राष्ट्रपतिबाट मनोनित कोटाबाट उहाँ त्यहाँ जानुभयो
त्यो गल्ती भयो भनेपछि फेरि त्यसैलाई दोहो¥याइरहनु उचित हुँदैन । योबेला मान्छेहरूमा चरम निराशा छाएको छ । यस्तै घटनालाई लिएर असन्तुष्टि गर्ने र यो प्रणालीमा प्रहार गर्ने बेलामा उहाँहरूले सोच्नुपर्थ्यो । कहिले काहीँ निर्णयहरू समय अनुकूल पनि हुनु पर्छ । त्यसकारणले यो नैतिक काम हैन ।
कोशी प्रदेशमा तपाईँहरूले कांग्रेसको शेखर कोइराला समूह र राप्रपासँग सहकार्य गर्नुभयो । हामी कुनखालको राजनीति गरिरहेका छौँ भनेर नेकपा एमालेले समीक्षा त गरेको होला नि ?
हामीले गलत क्रियाकलाप गरेर उहाँहरू एक ठाउँमा हुनुभएको हैन । उहाँहरू एमालेलाई एक्लाएक्लैले परास्त गर्न सकिँदैन भन्ने मूल मन्त्रमा आधारित भएर एक हुनु भएको छ । परिस्थिति पनि त्यस्तै छ । अहिले पनि उहाँहरूसँग राष्ट्रिय सभामा एक्लाएक्लै लड्ने हो भने एमालेको सम्मानित पोजिसन आउँछ । उहाँहरू एक्लै लड्ने आँट गर्नुहुन्न । डाक्टर प्राध्यापक, पत्रकार, इन्जिनियर र सहकारीमा पनि उहाँहरु गठबन्धन बनाएर आउनुभएको छ । वडादेखि केन्द्र, राष्ट्रपतिसम्म सबै ठाउँमा एक्लै लड्न आँट नै गर्नुहुन्न ।
उनीहरु राजा ल्याउँछु भन्नेहरू, लोकतन्त्र समाप्त गर्ने र धर्म निरपेक्षता हटाउनुपर्छ भन्नेहरू सँग पनि मिसिएको स्थिति छ । एजेन्डामा भन्दा पनि त्रासले एकठाउँमा भेला भएका शक्ति हुन् ।
देशभित्र मात्र हैन, बैदेशिक शक्तिहरूको पनि महत्त्वपूर्ण योगदान छ । उच्च स्तरका नेताहरूसँग कुरा गर्दा यो थाहा हुन्छ । उहाँहरूलाई हिन्दी र अंग्रेजीमा फोन आउन थालेपछि हाम्रा नेताहरूसँग भएको कुरामा यस्तै भयो भन्न थाल्नुहुन्छ । चाहे त्यो कोशी प्रदेशको कुरा होस् या अन्यत्रको ।
प्रधानमन्त्री भारत भ्रमणमा जानेबेला राष्ट्रपतिले इन्कार गरेको नागरिकता विधेयक च्यापेर जाने कुरा होस् वा नरेन्द्र मोदी हाम्रो भूमिमा आएर परेड खेल्दा सरकारले थाहा नपाउने र पाएपछि पनि त्यसको प्रतिवादमा बोल्न नसक्ने कुरा होस् । यस्तो बेलामा हामी निरन्तर अरूका कुरामा फसिरहेका छौँ । त्यसमा पनि उनीहरूको इच्छा केपी ओली नआउन्, जसले गर्दा हामीले भनेको मान्ने, ल्याप्चे लगाउने जहाँ भन्यो भेट्न मान्ने र जे पनि गर्न तयार हुने चाहिएको छ छिमेकीलाई । त्यो पूरा गरिरहनुभएको छ ।
हामी नैतिक मूल्यमा अडिएर राजनीतिक गर्छौं । नैतिक मूल्य भनेको मूलभूत हामीले प्राप्त गरेका उपलब्धिहरू हुन्, त्यसमा हामी उभिनुपर्छ भनेर एक ठाउँमा उभिन्छौँ । तर उहाँहरू राजा ल्याउँछु भन्नेहरू पनि त्यहीँ, संघीयतालाई खारेज गर्छौं भन्ने पनि त्यहीँ मिसिएको हुन्छ । लोकतन्त्र समाप्त गर्ने र धर्म निरपेक्षता हटाउनुपर्छ भन्नेहरू पनि त्यहीँ मिसिएको स्थिति छ । जुन कुनै एजेन्डामा आधारित भन्दा पनि त्रासले एक ठाउँमा भेला भएका शक्ति हुन् ।
त्यसैले यो कुनै पनि हालतमा असैद्धान्तिक, अवैचारिक र केवल आफ्नो सत्ता र पदका लागि भेला भएको जमात हो । यसलाई तोडेर एमाले आगामी दिनमा अगाडि बढ्छ । यसले ७५ वर्षको राजनीतिक इतिहास भएको एमालेलाई एउटा दुइवटा सिट हार्ने कुराले ठूलो अर्थ राख्दैन । किनकि हामी समाज परिवर्तनको लामो यात्रामा छौँ । हामी मुलुकमा सामाजिक परिवर्तनको एजेन्डा लिएर सुखी नेपाली समृद्ध नेपालको सपना बोकेर हिँडेका छौँ । यो सपना पूरा गर्न हामी दृढ संकल्पित छौँ ।
अहिलेको राजनीति न विचार, न वाद, न कार्यक्रम, न भरोसा, न सिद्धान्तमा अडिएको देखिन्छ । यही त रहेछ राजनीति भन्ने भाष्य सिर्जना भइरहेको छ प्रणालीका विरुद्धमा उभिएकाहरू संगठित भइरहेका छन् । उनीहरुको मैदान फराकिलो भइरहेको हो ?
एकथरी मान्छेहरूबाट राजनीतिक पार्टीहरूलाई सबै उस्तै हुन् भनेर प्रमाणित गर्ने प्रयास भइरहेको छ । यसमा आफूलाई पृथक ठाउँमा राख्ने प्रयास एमालेले गरिरहेको छ ।
अहिले हामीले प्राप्त गरेका मूलभूत उपलब्धि, यद्यपि निर्वाचन प्रणालीका बारेमा हामीले पुनर्विचार गर्न बेला भएको छ र प्रादेशिक संरचनाका बारेमा पनि पुनर्विचार गर्नुपर्छ । यसको मतलब, हामीले गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षतामाथि जुन किसिमको धावा बोल्ने काम भएको छ, सडकमा एकदुई वटा ढुंगा खाँदैमा अरुका भाषाहरू बदलिएलान्, कुरा फेरिएलान्, तर नेकपा एमालेको भाषा परिवर्तन पनि हुँदैन ।हामी त्यो अडानमा दृढ भएर धर्मनिरपेक्षता, लोकतन्त्र र गणतन्त्रको रक्षार्थ उभिन्छौँ ।
संविधान बनाए बापत छिमेकीले नाकाबन्दी गर्दा कसैले नाकाबन्दीकै पक्षमा पारी बसेर नेपालतिर ढुङ्गा हाने । कसैले बोल्न पनि सकेनन् । कांग्रेस, माओवादीले सीमानामा उत्पन्न समस्या भने । तर, हाम्रा पार्टी अध्यक्ष प्रधानमन्त्री भएका बेला प्रतिपक्षमा बसेर हैन, सिंहदरबारको कुर्सीमा, प्रधानमन्त्रीको पदमा बसेर उहाँले नाकाबन्दीको कडा प्रतिवाद गर्नुभयो ।
यो प्रणाली धेरै मान्छेहरूको बलिदानबाट ल्याएको हो । एमाले यो प्रणालीको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार छ ।
हिजो हाम्रो गुमेको नक्सा नक्सांकन गर्ने काम भयो । चीनसँग व्यापार सन्धि गर्नुभयो । देशको समृद्धि र विकासको खाकामा हामीले कोर्यौं। जसरी कोभिडको प्रतिकुल बेलामा पनि देशको आर्थिक वृद्धिदर एउटा सम्मानजनक र देशलाई धान्न सक्ने थियो, आज हेर्दा त्यो अवस्था नाजुक छ । राजस्व उठेको छैन । पुँजीगत खर्च अहिले १२ प्रतिशत छ । हामीले मुलुक सम्हालेका बेला आर्थिक अवस्था राम्रो देखिन्छ । तर, गठबन्धन आइसकेपछि सबै चिज कमजोर बन्दै गएका छन् ।
अहिले उठेको असन्तुष्टिको मुख्य कारण के हो ?
अहिले त सिंगै प्रणालीमा नै प्रश्न उठेको छ । गणतन्त्र खारेज गर्नुपर्छ र राजा ल्याउनुपर्छ, लोकतन्त्रलाई हटाएर फेरि राजालाई सक्रिय गर्नुपर्छ भन्नुको अर्थ एक किसिमले पञ्चायत फर्काउनुपर्छ भन्नु नै हो । अहिले हामीले अपनाएको समानुपातिक निर्वाचन प्रणाली ०६२/६३ को जनआन्दोलनपछि सही थियो तर अब हामीले प्रतिनिधि सभालाई समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनकै माध्यमबाट समावेशी बनाउने हो भने कुनै न कुनै लोकप्रिय पार्टीको बहुमत आउँछ । अहिलेको जस्तो हङ पार्लियामेन्ट पनि हुँदैन र अरूले चलखेल गर्न पनि पाउँदैनन् । एक सिट जित्नेले मन्त्री खाने र १८ सिट जित्नेले प्रधानमन्त्री हुने व्यवस्थाको पनि अन्त्य हुन्छ । त्यसैले निर्वाचन प्रणालीमा पुनर्विचार हुनुपर्छ ।
संघीयताको कुरामा हाम्रो मौलिक संघीयता छ । खालि प्रादेशिक संरचनामा प्रश्न उठेको छ, त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ र कसरी त्यसलाई जनताले औँल्याएका प्रश्नहरूको जवाफ दिएर चुस्त दुरुस्त पार्न सकिन्छ भनेर सोच्ने बेला भएको छ । यी दुई कुरामा ध्यान दिएर अर्को चुनावसम्म हामीले कुनै न कुनै एउटा सुधारको कदम चाल्नुपर्छ ।
यो प्रणाली धेरै मान्छेहरूको बलिदानबाट ल्याएको हो । त्यसैले यसको रक्षा गर्नको लागि पिपलपाते भएर यता पनि ठीक, उता पनि ठीक भनेजस्तो भोटका लागि जोसँग पनि मिल्न जाने कार्य एमालेलाई स्वीकार्य छैन । नेकपा एमाले यो प्रणालीको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार छ ।
हजारौँ मरेर प्रणाली ल्याए, सयौँको व्यवस्थापनका लागि यसलाई अस्त्र बनाइयो भन्छन् नि जनताले ?
केही कमीहरू भएनन् भनेर हामीले भन्नुहुँदैन । किनभने पुरानो राज्य संयन्त्र छ । पुराना बानीहरू छन् । हाम्रा आनीबानीहरूमा पनि सुधार भएका छैनन् । राष्ट्रियताको भावना नै विकास गर्न सकेका छैनौँ । नागरिकहरूमा चेतनाको स्तर त बढेको छ तर राष्ट्रभक्तिको भावना कमजोर बन्दै गएको छ । असाध्यै गैरजिम्मेवार भएर प्रस्तुत हुने, सामाजिक सञ्जालदेखि लिएर मिडियाहरूमा र आफूबाहेक सबैले राम्रो गरिदिए हुन्थ्यो भन्ने चलन छ । अरु देशको विकासको कुरामा नागरिकहरू पहिला जागरूक हुनुपर्छ ।
विदेशमा बसेर थुक्क मेरो देश भनेर लेख्छन् । त्यहाँ बसेर देशलाई सरापेर हैन, देश वास्तवमा मेरो हो भन्ने भावनाको विकास गरेर जानुपर्छ
नागरिकहरूमा यो देश मेरो हो, मैले म जहाँ छु त्यहीँबाट राम्रो गर्छु भन्ने भावना भएन भने राज्यले जे गरे पनि केही रहँदैनन् । जस्तो– भर्खरै एउटा जिल्लाको बाइपास टर्निङमा राखिएका ऐनाहरू धेरै ठूलो खर्च गरेर राखिएको एक महिना नभई मान्छेले तोडिदिए । सार्वजनिक चिजहरू सबै तोडिदिने भावना रहेपछि त कसरी विकास सम्भव हुन्छ ? त्यसैले सबै नागरिकमा हाम्रो भन्ने भावनाको विकास राजनीतिक दलहरूले गराउन सक्नु पर्छ ।
माथि बस्नेलाई एउटा र तलकालाई अर्को कानूनको अभ्यासमा राज्य जाने, अनि नागरिकले गरेनन् भनेर नागरिकलाई औंलो ठड्याउन मिल्छ ?
हो, कहिलेकाहीँ अगुवा भनिएका मान्छेहरूले नै राम्रोसँग कानूनको पालना गर्ने र अरूलाई पालना गराउने परिपाटी हामीले विकास गराउन सकेनौँ । त्यस कारण तल–माथि बस्ने सबैमा जागरण सिर्जना गर्नुपर्छ । आफूलाई सुधार्नुपर्छ । नेतृत्वबाट त्यो कमजोरी भयो भने, कर्तव्यपरायण नागरिकले प्रश्न उठायो भने नैतिक दबाब हुन्छ । तर, मैले गर्न नपरोस्, अरु सबैले राम्रो गरुन् भन्ने प्रकारको सोचाइ नेतृत्वदेखि लिएर नागरिकसम्म नै छ । त्यसैले यसलाई धेरै ठूलो जागरणको माध्यमबाट सबैमा लानु पर्छ ।
विदेशमा बसेर थुक्क मेरो देश भनेर लेख्छन् । ठिक छ, विदेश जानुपर्ने बाध्यता छ । नजान पाए हुन्थ्यो, देशमै रोजगारी सिर्जना भए हुन्थ्यो, त्यो हामीलाई पनि लाग्छ । विदेश कोही रहरले गएका छन् र कोही बाध्यताले पनि गएका छन् । तर, त्यहाँ बसेर देशलाई सरापेर हैन, देश वास्तवमा मेरो हो भन्ने भावनाको विकास गरेर जानुपर्छ ।
सुधार गर्नुपर्ने कुराहरू धेरै छन् । कयौँ कुराले नागरिकमा वितृष्णा बढिरहेको छ । तर, सही राजनीतिक पार्टीको सही काम र क्रियाकलापले हामीले यो प्रणालीको रक्षा र विकास गर्न सक्छौँ । तर, सबैले पनि गर्दैनन्, देश बनाउने क्षमता कसैसँग छैन भनेर निराशा फैलाउनुहुँदैन । राजनीतिक पार्टीले असल प्रतिनिधिहरू छानेर देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन हामीसँग । अरु कुनै बाटो नै छैन ।