‘नेक’बाट चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीहरूको विदाई

By खबरहब

January 14, 2024

काठमाडौँ– नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पुरा गरेका विद्यार्थीहरूलाई बिदाई गरिएको छ । शनिबार कलेजले एक कार्यक्रमका बीच कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका विद्यार्थीहरूको बिदाई गरेको हो ।

बिदाई कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाहीले व्यवसायिक क्षेत्रमा प्रवेश गर्न तयार नव इन्जिनियरहरुलाई पेशागत मर्यादामा रहेर काम गर्न सुझाब दिए ।

उनले व्यावसायिक जीवनमा प्रवेश गरेपछि प्रत्येक दिन परीक्षा दिइरहनु पर्ने भन्दै इन्जिनियरिङमा अनुभव र सीप नै महत्वपूर्ण भएकोले अरुभन्दा अब्बल हुन अनुशासित, मेहनती बन्न जरुरी रहेको उल्लेख गरे ।

पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्राडा राजेश ठकुराठीले उच्च शिक्षा पुरा गरेका विद्यार्थीहरूले प्राप्त गर्ने सफलता नै पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ कलेजको ब्राण्ड एम्बेसडर रहेको उल्लेख गर्दै विश्वविद्यालय र कलेजको नाम रहने गरी काम गर्न सुझाए ।

कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले कलेजमा ४–५ वर्ष अध्ययन गरेर हासिल गरेको ज्ञान र सीपलाई व्यवसायिक जीवनमा प्रयोग गर्न सुझाउँदै विद्यार्थीले हासिल गर्ने सफलता नै कलेज र संकायहरुको सफलता रहेको बताए ।

बिदाई कार्यक्रममा विद्यार्थीहरूले अध्ययनका क्रममा बिताएका पलहरूको सम्झना गर्दै नेपाल इन्जिनियरिङ कलेजका पूर्णकालीन शिक्षक, मित्रवत व्यवहार गर्ने कर्मचारी, कलेजको ल्याब, पुस्तकालय, रिसर्चका माध्यमहरूका कारण आफूहरू इन्जिनियर बन्न सफल भएको बताए । उनीहरूले कलेजमा हासिल गरेको ज्ञान, सीपलाई व्यवहारमै उतार्ने प्रतिबद्धता जनाउँदै स्वदेशमै रहेर देशको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच कार्यक्रममा ग्रेजुएट विद्यार्थीहरू निलिमा थापा, लक्ष्मी चालिसे, दशुनाथ कंडेल, अनिलकुमार यादवलाई प्रोगाम टपर अवार्ड दिइएको थियो ।