ब्रेकिङ स्टोरी

नेपालमा चिकित्सा शिक्षा : ऐतिहासिक विकास, प्रगति र चुनौती

By खबरहब

January 14, 2024

विश्वमा चिकित्सा शिक्षामा निरन्तर परिवर्तन हुँदै गइरहेको छ । प्रविधिका कारणले भएको दु्रत गतिको आधुनिक विकास तथा प्रगतिले हाम्रो सामाजिक आवश्यकता र मूल्य मान्यता पूरा गरिरहेको छ, जसको हामी स्वयं साक्षी छौं ।

वास्तवमा भन्नुपर्दा ‘भविष्य युवाहरूमा निहित छ’, यस पुस्ताका चिकित्सा शिक्षार्थीहरू बिल्कुलै फरक छन् भन्ने कुरा हामीहरुले बुझ्नुपर्छ । युवाहरुले अहिलेको आफ्नो दैनिक जीवनमा प्रविधिको भाषा मात्र सुन्ने र बोल्ने भएकाले उनीहरु अहिलेको परिवेशमा छिट्टै दक्ष बन्दै गएको पाइन्छ ।

अर्कोतर्फ, आजको यस डिजिटल युगमा शिक्षाविदहरूले विद्यार्थीको परिवर्तनशील विशेषतालाई बुझ्नु, विद्यार्थीका लागि कुशल, शोभनीय र उपयुक्त शिक्षण, पढाइ, सिकाइ र बुझाइका रणनीतिहरू पहिचान गरी उनीहरुलाई सक्रिय तथा सक्षम बनाउन आवश्यक छ ।

यसका साथै उनीहरूलाई समस्याहरू छिटो बुझ्न सक्ने र सक्रिय सिकाइमा संलग्न गराउनुपर्दछ । किनकि, अहिलेको समय सापेक्ष सिकाइका लागि आउने दिनमा निष्कृय सिकाई विधि ‘प्रशिक्षक केन्द्रित विधि’ विस्तापित हुने चुनौतिको सामना सँगसँगै गरिरहेका छन् ।

चिकित्सा शिक्षामा भएका धेरै अध्ययनहरूले देखाएको छ कि विद्यार्थीको संलग्नता परम्परागत ‘प्रशिक्षक केन्द्रित’ विधिहरूको तुलनामा ‘सक्रिय सिकाइ’ रणनीतिहरूमा बढी हुन्छ । यी शैक्षिक रणनीतिहरूले ‘सक्रिय शिक्षार्थी केन्द्रित’ शिक्षण दृष्टिकोणलाई सहज बनाएका छन्, जसमा सबैभन्दा बढी जोड विद्यार्थीहरू र उनीहरूले के सिक्छन् भन्ने कुरामा दिइन्छ ।

विद्यार्थीहरूको स्तर र सिकाई अनुभवको अवधारणा एवं अनुभूतिलाई सुधार गर्ने उद्देश्यका साथ फिल्ड कक्षा, सहपाठी शिक्षण र समस्यामा आधारित सिकाइ जस्ता केही दृष्टिकोणहरु चिकित्सा शिक्षा पाठ्यक्रममा समावेश गरिएका छन् ।

पोडकास्ट र भिडियो एप्ससहितको मोबाइल उपकरण, भिडियो गेम, र सिमुलेशनहरु पाठ्यक्रममा समावेश गरिएका नयाँ विधि हुन् । तसर्थ, हाम्रो देशको प्रत्येक मेडिकल स्कुलले यो विश्लेषण गर्न आवश्यक छ कि हाल कुन परिप्रेक्षमा शिक्षण सिकाइ सञ्चालन भइरहेको छ ? र, भविष्यको लागि कुन शिक्षण सिकाइ विधि उपयुक्त हुने हो ? यसको मनन एवं विश्लेषण गरी छनोट गर्ने प्रबन्ध मिलाउनु उपयुक्त हुन्छ ।

यस स्तम्भको प्रमुख ध्येय हालका वर्षहरूमा चिकित्सा शिक्षाको सिकाइ र शिक्षणमा भएका प्रमुख प्रगतिहरू वर्णन गर्नु हो । यसको अन्य कुनै उद्देश्य भन्दा पनि बढी सिक्ने वातावरणलाई उत्साहित गर्ने, गहन सिकाईलाई प्रोत्साहित गर्ने, ज्ञान धारण र विद्यार्थीहरूको प्रेरणालाई सुधार गर्ने दृष्टिकोणहरूको पहिचान गर्नु रहेको छ ।

उपयुक्त शिक्षण विधिको चयनले शिक्षाविदहरूको शिक्षण क्षमता अभिवृद्धि गर्ने र आधुनिक शिक्षार्थीलाई अवधारणाहरू व्यक्त गर्न र बुझाउन सहजता मिल्नेछ ।

विश्वव्यापीरुपमा तथाकथित ‘चिकित्सक अनुसन्धानकर्ता’ हरूको संख्यामा गिरावट आएको छ । यसले चिकित्सा शिक्षाका विद्यार्थीमा दीर्घकालसम्म नकारात्मक असर पार्न सक्छ । अब चिकित्सा शिक्षामा उपयुक्त शिक्षण विधि पहिचान गर्ने बेला आएको छ ।

अग्रणी अस्पताल र तिनका कार्यक्रमको इतिहास

सन् १८८९ मा स्थापित वीर अस्पताल (नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज) नेपालको सबैभन्दा पुरानो प्रमुख संस्था हो । राणा शासनकालमा देशकै एक अग्रणी र दीर्घकालसम्म सेवा दिने अस्पतालका रुपमा यो स्थापना भएको हो ।

त्यतिखेर वीर अस्पतालमा केवल एक डाक्टर र केही सहायक कर्मचारीलाई सहयोगीका रूपमा लिई सेवा शुरु गरिएको थियो । सन् १९७२ मा शाह वंशका पालामा ‘इन्स्टिच्युट अफ मेडिसिन’ को जन्म भएको थियो । यसले प्रारम्भमा हेल्थ एसिस्टेन्ट कार्यक्रमहरू सञ्चालन गर्न ‘अक्जिलरी हेल्थ वर्कर्स’ स्कुलको स्थापना गरेको थियो । सन् १९८२ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्थापनासँगै देशमै पहिलोपटक स्नातक तहको एमबीबीएस कार्यक्रम सुरु भयो ।

सन् १९९४ मा स्नातकोत्तर चिकित्सा शिक्षा समन्वय समितिको स्थापना भयो । यसले काठमाडौं उपत्यकाका अस्पताल (भ्याली ग्रुप अफ हस्पिटल) हरुमा पोस्टग्राजुयट रेसिडेन्टहरुलाई भर्ना गरी हाम्रो देशमा प्रथम पटक स्नातकोत्तर तहको पाठ्यक्रमका लागि मार्ग प्रस्तुत गर्‍यो । त्यसपछि एक्काइसौं शताब्दीको दोस्रो दशकमा काठमाडौं विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, न्याम्स र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयमा डीएम र एमसीएच, सबस्पेशियाल्टी वर्ग सुरु गरे । यसपश्चात हाम्रो देशमा उच्च तहको शिक्षण तथा स्वास्थ्य सेवाको उत्तरोत्तर प्रगतिका लागि टेवा पुग्यो ।

हालको तथ्यांक अनुसार सन् २०२३ मा हाम्रो देशमा सरकारी र निजी मेडिकल कलेजहरूमा गरी जम्मा १ हजार ८९५ जना एमबीबीएस डाक्टर, १ हजार १२८ जना एमडी/एमएस स्पेशलिष्ट र ८३ जना डीएम/एमसीएच सुपर स्पेशलिष्ट मेडिकल शिक्षाको अध्ययनका लागि भर्ना भएका छन् ।

चिकित्सा शिक्षा ऐन र आयोग

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले चिकित्सा संस्था र चिकित्सा शिक्षण पेशालाई नियमन गर्ने, हाम्रो सामाजिक आवश्यकता र यिनको मूल्य मान्यता अनुसार पाठ्यक्रम पुनरावलोकन गर्ने, विभिन्न पूर्वाधारहरूको निर्धारण र मूल्यांकन गर्ने, योग्यतामा आधारित दक्ष जनशक्ति उत्पादन गर्ने सन्दर्भमा राष्ट्रिय आवश्यकताहरूको मूल्यांकन गर्ने एवं नीतिहरू निर्माण गर्न खोजेको छ ।

चिकित्सा शिक्षाका भावी चुनौती

‘आवाशीय प्रशिक्षण’ शारीरिक र मानसिक रूपमा अति कठिन छ । ‘भविष्यका चिकित्सक’ हरुको समन्वय र कल्याण समुदायका लागि अपरिहार्य छ ।

शिक्षाविद, क्लिनिकल प्रशिक्षक र विद्यार्थीहरूले प्राविधिक ज्ञानको युगमा स्वास्थ्य सेवाको माग पूरा गर्ने हेतु समय सापेक्ष अनुरुपको विधिको अध्ययन र कार्यान्वयन गर्ने खालको सीप सम्बोधन गर्नु नितान्त आवश्यक छ ।

हाम्रो देशमा कतिवटा विश्वविद्यालय, कति स्वास्थ्य शिक्षण संस्था र कुन–कुन स्थानमा निर्माण गर्दा उपयुक्त हुने हो ? दक्ष स्वास्थ्य जनशक्ति कति आवश्यक छ ? यी कुराको मापन गर्नु, राष्ट्रिय पाठ्यक्रमको रूपरेखा निर्धारण गर्नु, साझा प्रवेश परीक्षा र अन्तिम परीक्षा तथा मूल्यांकन संकलन विधिहरूको विकास र पुर्नसंगठन गर्नु जरुरी छ ।

चिकित्सा शिक्षा तथा शिक्षण विधिमा अन्तर्राष्ट्रिय मापदण्डको अवलम्बन गर्ने, स्वास्थ्य शिक्षाको समय–समयमा नियमित रुपमा पर्यवेक्षण, अनुगमन र नियमन गर्ने आवश्यकता छ ।

नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउने चिन्तनशील तथा गम्भीर रुपले विचार गरी योजना तर्जुमा गर्नुपर्छ, जसले सम्पूर्ण उपमहाद्वीप र अन्य राष्ट्रहरूलाई दीर्घकालीन रूपमा मद्दत पुर्‍याउनेछ ।

भविष्यको चिकित्सा पाठ्यक्रम कस्तो हुनुपर्छ ?

स्वास्थ्य सेवा र हेरचाहको ध्यान अस्पतालबाट समुदायतर्फ उन्मुख भएको छ । गम्भीर रोगबाट दीर्घकालीन अवस्थाहरूमा प्रविधिको सदुपयोगले सिकाइलाई रूपान्तरण गर्न निर्णायक भूमिका खेलेको छ । ‘विद्यार्थी केन्द्रित दृष्टिकोण’ विकसित हुँदैछ र सयमसँगै सम्मानित ‘शिक्षक केन्द्रित’ शिक्षण विधिलाई प्रतिस्थापन गर्ने नियति रहेको छ । इ–लर्निङले ‘लेक्चरमा आधारित शिक्षण’ लाई विस्थापित गरिरहेको छ र तुलनात्मकरूपमा नयाँ उदाहरणहरू, जस्तै– ‘योग्यता वा परिणाममा आधारित शिक्षा’ ले ‘सामग्री उन्मुख’ वा ‘समय आधारित शिक्षा’ लाई प्रतिस्थापन गर्ने देखिन्छ ।

चिकित्सा पाठ्यक्रमलाई पुनर्निर्माण गरिनु पर्छ । राम्रो ढाँचासहित स्तरीय परिणामहरू समावेश गरी जसले व्यक्तिगत सिकाइलाई स्वीकार गर्दछ, त्यसले ‘स्वनियन्त्रित सिकाइ’ मार्फत सिकाइको जिज्ञासालाई बढावा दिनुपर्छ । प्रारम्भिक क्लिनिकल एक्सपोजर, दीर्घकालीन अनुभवहरू र सेवा सिकाइ मार्फत व्यावसायिक पहिचान र सिकाइलाईमाथि उठाउनुपर्छ ।

हामीले यी भावी आयामिक दृष्टिकोणमा गम्भीर रुपमा सोच विचार गर्न जरुरी छ । यसका बुँदाहरु चर्चा गरौं–

विद्यार्थी केन्द्रित पाठ्यक्रम : चिकित्सा शिक्षालाई मोड्युलमा आधारित र एकीकृत शिक्षा बनाउन प्रेरित गर्छ ।

फ्लिप्ड कक्षा : विद्यार्थीहरूले कक्षामा आउनुअघि घरमा रेकर्ड गरिएका भिडियो वा पोडकास्टहरू हेर्छन् । उनीहरूले अन्तरक्रिया र उच्च मनोबल एवं सोचका साथ कक्षा कोठाको उपयोग गर्छन् ।

समस्यामा आधारित शिक्षा : यसले संस्थागत बनाउँछ र विद्यार्थीहरुले न्यून स्मरण गर्दा पनि सिकाई हुनेछ ।

सहपाठी सिकाइ : विद्यार्थीद्वारा नै आफ्नै साथी विद्यार्थीका लागि सहयोग हो, यसले शैक्षिक आत्मविश्वास र लचिलोपन बढाउँछ ।

सिमुलेशन आधारित चिकित्सा शिक्षा : यसले सीप उकास्ने, पुनः सीप आर्जन गर्ने तथा ज्ञान र मनोवृत्तिको उत्थान गर्न सक्षम बनाउँछ ।

ई–लर्निङ : यसले डिजिटल स्रोतहरू मार्फत सबैलाई शिक्षित, सशक्त र संलग्न बनाउँछ ।

जब हामीले सिकाइका बारेमा धेरै सिक्ने कुरा महशुस गर्छौं, टेलिमेडिसिन जस्तै चिकित्सा शिक्षा पनि ‘दुर शिक्षा’ मार्पmत सञ्चालन गर्न सकिन्छ ।

चिकित्सा तथा स्वास्थ्य सेवाका चुनौतीहरू

विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका लागि डाक्टर–बिरामी अनुपात प्रतिएक हजार नागरिकमा १ जना डाक्टरको मापदण्ड तोके तापनि हाम्रो देशमा अहिले १: १९०० रहेको छ । भारतमा १: ८३४ रहेको छ ।

सन् २०२१ को विश्वव्यापी तथ्यांकले १ हजार नागरिकका लागि ५.३५ डाक्टरसहित अस्ट्रिया शीर्ष स्थानमा छ । चीन र ब्राजिल क्रमशः २.३६ र २.०५ भई सबभन्दा तल्लो स्थानमा रहेको देखिन्छ ।

हाम्रो देशमा क्लिनिकल डाक्टरहरुको पदस्थापन अवस्था मिलेको पाइँदैन । लगभग ८५ देखि ९० प्रतिशतसम्म चिकित्सकहरु तराई र उपत्यकामा मात्र केन्द्रित छन् । उनीहरू त्यहाँका विभिन्न सरकारी अस्पताल र निजी श्रोतमा स्थापित अस्पतालहरुबाटै जनतालाई सेवा दिन खोजिरहेका छन् । यसले गर्दा हाम्रो देशको पहाडी भेगमा रहेर कष्टकर जीवन व्यतीत गरिरहेका नागरिकहरुले स्तरीय स्वास्थ्य उपचार सेवा पाउन सकिरहेका छैनन् ।

देश वा प्रदेशको उचित, न्यायोचित, भौगोलिक विशेषतः जनसंख्या पर्याप्त भएका स्थानहरूमा चिकित्सा संस्था र अस्पतालहरूको स्थापना तथा तिनीहरूको समयमै सम्वृद्धि सबैभन्दा महत्वपूर्ण हुन्छ ।

स्वास्थ्य सेवा प्रदायक, नीति निर्माता, व्यवसायी, सरोकारवाला र विश्लेषकहरूले समावेशी रुपमा व्यापक र निष्पक्ष अन्तरक्रिया गर्न आवश्यक छ । जसले गर्दा हरेक नेपाली नागरिकका घर परिवारका लागि स्तरीय स्वास्थ्य सेवा पुग्न जान्छ । हामीले हाम्रो तथा भावी सन्तान एवं नयाँ पिढीलाई सबैभन्दा उत्तम तथा अनुकूल स्वास्थ्य सेवा प्रदान गर्न सकौँ ।

भावी शिक्षक

यस डिजिटल युगमा शिक्षकहरू ‘शिक्षक’ भन्दा पनि ‘सहजकर्ता’ बन्नुपर्छ । उनीहरूमा विद्यार्थीसँग धेरैभन्दा धेरै मिलनसार भएर विद्यार्थीहरूलाई सिकाइमा सही तरिकाले निर्देशन दिन सक्ने दक्षता हुनुपर्छ । सानो समूहको सिकाइमार्फत् विद्यार्थीहरुलाई दक्ष बनाउनुपर्छ । समस्यामा आधारित सिकाईमा जोड दिनुपर्छ ।

अहिलेको सन्दर्भमा राम्रो शिक्षकले सुचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) मा दख्खल राख्ने तथा दक्षता हासिल गर्न सक्ने हुनुपर्छ र अन्य सहयोगी सिकाइ संस्थाहरूसँग नियमित र आवधिक रूपमा अन्तरक्रिया गरी निरन्तर सिकाइ कायम राख्नु पर्छ ।

स्नातक तहका लागि अनुसन्धान परियोजना किन आवश्यक छ ?

ती दिनहरू बिलाए, जब हामी पुस्तकालयमा जान्थ्यौं र पत्रपत्रिका तथा पुस्तक खोज्न घण्टौं संघर्ष गर्नुपर्थ्यो । आज हामी कुनै पनि समयमा आवश्यक पर्ने सबै जानकारी प्राप्त गर्न सक्छौं । हाम्रो वरपर आजकल धेरै जानकारीहरु इन्टरनेटद्वारा उपलब्ध भएका कारण मानिसहरूले अनुसन्धान र शिक्षाप्रतिको आफ्नो झुकाव परिवर्तन गरिरहेको हुन सक्छ ।

विश्वव्यापीरुपमा हाल तथाकथित ‘चिकित्सक अनुसन्धानकर्ता’ हरूको संख्यामा गिरावट आएको छ । यसले चिकित्सा शिक्षाका विद्यार्थीहरूमा दीर्घकालसम्म नकारात्मक असर पार्न सक्छ ।

हाम्रो संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्नातक तहको तेस्रो वर्षमा प्रवेश गरेपछि विद्यार्थीले ६ हप्ताका लागि आफ्नो रोजाइको क्षेत्रमा गाउँघरको दैलोमा पुगी स्वास्थ्य सम्बन्धी परियोजना सञ्चालन गर्छन् । अनुसन्धान पश्चात उक्त कार्य विवरण आफ्ना प्रशिक्षकहरूलाई प्रस्तुत गर्छन् । कतिपयले पत्रपत्रिका, जर्नलमा पनि आफ्ना काम प्रकाशित गर्दछन् र गौरव महशुस गर्दछन् । एमबीबीएस शिक्षामा पढाइका दौरान नै अनुसन्धान कार्य गर्नु अझ बढी प्रशंसनीय छ ।

अनुसन्धानको मन्त्र

आफ्नो जीवनको शुरुमै अनुसन्धान कार्य गर्नाले आत्मविश्वास ल्याउँछ । अनुसन्धानसम्बन्धी कार्य टोलीको हिस्सा बन्नका लागि एक अद्वीतीय सिक्ने अवसर हुन्छ । विद्यार्थीले टिमवर्कको महत्व कस्तो हुँदोरहेछ बुझ्छन् ।

विद्यार्थीहरुले अनुसन्धानबाट सिकेका कुराहरू पछि आफ्नो पठनपाठन कार्यमा लागू गर्न सक्छन् । जब उनीहरू अन्तिम क्लिनिकल परीक्षामा बस्छन्, यसले रेसिडेन्सी कार्यक्रमलाई बलियो बनाउन र पोस्टडक्टोरल डिग्री आवेदनमा पनि मद्दत गर्छ । सम्मानित जर्नलहरूमा आफ्नो काम प्रकाशित गर्ने मौका पाउनाले आफ्नो बायोडाटामा समावेश गर्न सक्षम हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गर्ने अवसर पनि पाउन सक्छन् ।

विद्यार्थीहरूले स्नातक तहको अध्ययन अवधिमा सामान्य भन्दा बढी आर्थात केही अतिरिक्त मैले हासिल गरेँ भनेर पनि सन्तुष्ट महशुस गर्छन् । यसले केही विद्यार्थीहरूलाई आफ्नो जीवनमा अनुसन्धानको क्षेत्रमा वृत्ति विकासका लागि थप मद्दत समेत गर्न सक्छ ।

यो केवल नेपालको चिकित्सा शिक्षाका बारेमा मेरो एउटा सामान्य विचारलाई विश्वास दिलाउने तरिका हो । र, एउटा त्यस्तो चिन्ता हो, जहाँ सबैजना एकै पृष्ठमा, एक अर्काका हरेक मुद्दामा सँगै हुँदैनन् ।

(प्रा.डा. अधिकारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन् )