फाइल तस्बिर

समाचार

मेलम्चीको पानी भोलि काठमाडौं आउने

By खबरहब

January 14, 2024

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको पानी भोलि (सोमबार) काठमाडौं आउने भएको छ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी माघ १ गतेदेखि काठमाडौं आउन लागेको हो ।

खानेपानी परियोजना अवरुद्ध भएको स्थानमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौंतर्फ पथान्तरण गरिएको थियो ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउनेगरी भएको सहमति अनुसार सोमबारदेखि मेलम्चीको पानी काठमाडौं आउन लागेको हो । यससँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकाबासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी थालेको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर काठमाडौंका लागि पानी पठाएको सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले बताए ।