स्टोरी

‘गिरीबन्धुमा ओलीलाई १ अर्ब, आरजूलाई ४१ करोड’

By खबरहब

February 14, 2024

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘ठगका राजा’ को उपमा दिएका छन् ।

झापाको गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा केपी ओली, आरजू राणा र नेकपा एमालेले जम्मा १ अर्ब ५७ करोड लिएको प्रसाईँले आरोप लगाएका छन् । यो प्रकरणमा व्यापारी दीपक मल्होत्रा र ओलीबीच पार्टनरशीप रहेको उनको आरोप छ ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईँले सार्वजनिकरुपमै केपी ओली र आरजू राणामाथि आरोप कमिसन बुझेको लगाए । प्रसाईँ नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं उद्योग विभागका उपप्रमुखसमेत हुन् । अहिले उनी हिन्दु राष्ट्र र राजा फर्काउने अभियानमा छन् ।

प्रसाईँले भृकुटीमण्डपमा आयोजित सार्वजनिक कार्यक्रममा गिरीबन्धु टी स्टेट प्रकरणको चर्चा गर्दै भने, ‘एक अर्ब ओलीलाई, ४१ करोड चाहिँ आरजू देउवालाई बुझाएको हो । एमालेको नारायणी किनारमा भएको महाधिवेशनमा सबै पैसा दीपक मल्होत्राले दिएको हो । १६ करोड खर्च भएको थियो ।’

कार्यक्रममा प्रसाईँले भने, ‘मैले गिरीबन्धुको कुरामा हजुरबुबा (केपी ओली) लाई भनेको थिएँ, हजुरबा यो चियाबगान रहनुञ्जेल रहन्छ, नभए श्री ५ सरकारको नाममा जान्छ भनेर स्वामित्व दिएको हो, नचलौं । यो चिया बगान मास्दा हजारौं मजदुरको बिजोग हुन्छ भनेको थिएँ ।’ प्रसाईले थपे, ‘ओलीले तिमीले कुरा बुझेकै छैनौं नाति भने । उता दीपक मल्होत्राले लगेर माल खुवाइहालेछ पहिल्यै । ओलीलाई एक अर्ब खुवाएको रहेछ, पछि पो थाहा पाएँ मैले ।’

एमालेलाई २५ बिघा जमिन र एक अर्ब दिने प्रस्ताव आएको सुनाउँदै पूर्वएमाले नेता प्रसाईँले कार्यक्रममा भने, ‘२५ बिगा जमिन र एक अर्ब दिने सर्त भएको रहेछ । त्यो २५ बिगा जमिनचाहिँ मलाई राख भनेका थिए । मलाई २५ विगा जमिन दिन्छु भनेपछि मैले थाहा पाएको हो ।’

गिरीबन्घु टि स्टेट प्रकरणमा प्रचण्डको भने लेनदेन नरहेको भन्दै प्रसाईँले बचाऊ गरे । उनले भने, ‘प्रचण्डले पनि ओलीलाई तपाईं यस्तो काम नगर्नु है भन्नुभएको थियो । केपी ओली र प्रचण्डको लडाइँ भएपछि म त केपी ओलीसँग बसेँ ।’

अहिले सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न नपाउने भनेपछि जनताबाट रकम उठाएर कमिसन खानेहरुको बिजोग भएको प्रसाईँको भनाइ छ । उनले भने, ‘अदालतले फर्काएपछि अहिले हेरेको हेर्यै भएका छन् ।’

प्रसाईँले झापाको ७ हजार बिघा चिया बगान सांघाई ग्रुपले खाएको आरोपसमेत लगाए । उनले भने, ‘झापाको ७ हजार बिघा चिया बगान सांघाई ग्रुपले खाएको छ ।’

यो पनि– ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज

अघिल्लो साता झापा पुगेका ओलीले प्रसाईँको मानसिक स्थिति ठीक नभएको बताएका थिए । त्यसको जवाफमा प्रसाईँले भने, ‘यहाँ ल्याउने, होटलमा बसाउने, खुवाउने गरुञ्जेलसम्म मेरो नाति राम्रो भने । मैले मेरो हजुरबुवालाई हेलिकप्टर रिजर्भ गरेर उडाउँथें । कार्यकर्ता प्रवेश गराइञ्जेलसम्म दुर्गा प्रसाईँं ठीक, अहिले मैले सबै कुरा बुझेर सत्य कुरा भन्दिँदाखेरि म पागल भएँ अरे । तपाईहरु पत्याउनुहुन्छ ?’

प्रसाईको आरोप : केपी ओली ‘ठगका राजा’

नेकपा एमाले परित्याग गरेर गतवर्षदेखि राजावादी बनेका मेडिकल व्यवसायी प्रसाईँ केही समय यता नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको विरोधमा आक्रामक देखिएका छन् । ओलीलाई ‘हजुरबा’ भन्ने गरेका उनले अब एमाले झापामा पत्तासाफ हुने दाबी गरेका छन् ।

अघिल्लो साता केपी ओलीको गृहनगर दमकमा आयोजित कार्यक्रममा उनले एमालेको ढाडमा टेकेर टाउकामा हानेको तर केपी ओली दूधेमा आयोजित कार्यक्रममा भागेर हिँडेको बताएका थिए ।

प्रसाईँले ओलीप्रति लक्षित गर्दै भने, ‘यिनीहरुको काल भनेको दुर्गा प्रसाईँँ हो ।… मारवाडीलाई पार्टनर बनाएर जनताको मान्छे दुर्गा प्रसाईँँलाई थुन्छु अरे केपी ओलीले । थुन न । म बालकोट जान्छु । म केपी ओलीसँग डराउनेवाला छैन ।’

प्रसाईँले झापास्थित ओलीको गृहनगर दमकको कार्यक्रममा भनेका थिए, ‘म केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा, माधवकुमार नेपालजस्तो पार्टीको दलाल होइन । म केपीओलीजस्तो ठग्ने, ढाँट्ने होइन । म ढाँटको सिटीमा आएर ढाँट कुरा गर्दिनँ ।’

दमकमा अस्पताल बनाउनुको साटो टावर बनाएर ओलीले ठगी काम गरेको प्रसाईको आरोप छ । ओलीको पहलमा ठडिएको टावरलाई प्रसाईँले ‘बुर्ज खलीफा’ को संज्ञा दिए । त्यसको मुआब्जामा पनि ओली लगायतको टिमले आर्थिक चलखेल गरेको प्रसाईको आरोप छ ।

ओलीकै गृहनगरबाट प्रसाईले के भनेका थिए ? उनकै शब्दमा –

केपी ओली भनेको सबैभन्दा ठूलो ढाँट हो । यो भन्दा मान्छे ढाँट त संसारमै छैन । आज मैले दमकमा आएर भन्नैपर्दाखेरि यस्तो ढाँट त मान्छे नै जन्मिँदैन । हाम्रो कुमाई परिवारमा यस्तो ढाँट कुमाई त कोही पनि छैन । यस्तो ढाँट पनि हुन्छ मान्छे ?

ढाँट अनि अवसरवादी । आज हामी सबैजना ढाँटको फेला पर्‍यौं। यस्तो नराम्ररी फेला प¥यौं कि आज सीमित सामन्त र तस्करको हातमा । हेर्नोस् त तपाईहरुजस्ता मान्छेको भोट लाने । यहाँ (दमकमा) आएर बांगा औंला यस्तो देखाउने क्या ! भोट लाने अनि माथि गएर दीपक मल्होत्रा, तुल्सीलाल अग्रवाल, सांघाई ग्रुप, मोतीलाल दुगड, यति होल्डिङ्ससँग पार्टनरशीप । कम्बोडियामा लगानी । मंगोलियामा लगानी । हेर्नोस् त, आज तपाई–हामी नांगो भयौं । मैले यो कुरा थाहा पाएर यो विद्रोह गरेको हो ।

म सिंगो मेची अञ्चललाई हेन्डिल गरेर बसेको मान्छे हुँ, केपी ओलीजस्तो ठग होइन । म केपी ओलीको आँगनमा आएर भन्दैछु । केपी ओलीको छातीमा टेकेर भन्दैछु यो कुरा । तिमीहरुले धेरै ढाट्यौ हामीलाई ।

तिमीहरुले के–के गर्‍यौ ? यो बिजनेश कोरिडोर भनेर १ लाख ७० हजार रुपैयाँ बिघा जग्गा लिएर २२ लाख रुपैयाँ बिघादेखि २८ लाख रुपैयाँ विघासम्म तिमीहरुले मुआब्जा खायौ । गोविन्द थापाको नेतृत्वमा त्यो काम भयो ।

चाहिँदै नचाहिँएको ठाउँमा तपाईहरुले ल्याएर बुर्ज खलीफा (दमक भ्यु टावर) बनाइदिएको छ, यहाँ दमकबाट १६ किलोमिटर माथि । त्यहाँ मान्छे जाँदैन । तपाई दमकको मान्छे कोही जान्छ त्यहाँ ? तपाईहरुलाई त्यो बुर्ज खलीफाको आवश्यकता छ ? त्यो ठाउँमा आज हस्पिटल थियो भने तपाईहरुलाई काम लाग्थ्यो ।

दमक भ्यु टावर

एक्काइशौं शताब्दीमा ल्याएर तस्करहरुका जग्गामा बुर्ज खलीफा बनाइयो । अनि, यही दमकमा आएर ठगका राजा केपी ओलीज्यू, मेरा हजुरबा पनि हुन्, के भन्दैथिए भने हैन, त्यो भवन बनाउँदा, त्यो बुर्ज खलीफा बनाउँदा गिटी बोक्नेले काम पाए, भित्तो लिप्नेले काम पाए, सिमेन्ट कतिका बिके, कतिका रड बिके, कतिले आँगन बढारे । काम पाएनन् ? भन्दै थिए ।

अहिले चाबी लगाएर राखेको छ । किन बनाएको त्यो चिज ? म केपी ओलीलाई के भन्छु भने केपी ओलीभन्दा पहिला विश्व भ्रमण गर्ने मान्छे म हुँ । आजको आवश्यकता बुर्ज खलीफा नै बुर्ज खलीफा भएको देशमा, पहाडै पहाड भएको देशमा ऊ… माथि ल्याएर बुर्ज खलीफा बनाइएको छ । त्यसको फाइदा के भयो ?

त्यति नै लगानीमा मैले अस्पताल बनाएँ, आज संसारका मान्छे आउँछन् । त्यही चिज यहाँ (दमकमा) बनाइदिएको थियो भने आज संसारका मान्छेले उपचार गर्न आउने ठाउँ हुन्थ्यो ।

यो पनि-

दमक भ्यू टावर : सञ्चालनमा संकट, नगरपालिकाले हात उठायो