स्टोरी

सुनजत्तिकै महँगो नुन !

By हिमाल कोइराला

February 14, 2024

हाम्रो खानामा अनिवार्य चाहिने पदार्थ हो– नुन । नुनबिना हामीले दैनिक खाने खानेकुराको कल्पना पनि गर्न सकिँदैन । उखानै छ नि– नुनबिनाको तरकारी । जिब्रोलाई मात्रै होइन, मानव शरीर सञ्चालनका लागि पनि नुन उत्तिकै महत्वपूर्ण छ । नुनमा हुने सोडियमले मांशपेशी नियन्त्रण, स्नायु प्रसारण रक्त सञ्चारमा पनि महत्वपूर्ण भूमिका खेल्छ । केही दिन नुन नखाए रिँगटा लाग्ने, टाउको दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्छन् ।

नुनले आसपास भएका पानी शोचन गर्ने भएकाले धेरै नुन भएको स्थान बसोबासका लागि उपयुक्त मानिँदैन । नुन धेरै भएको ठाउँमा ब्याक्टेरिया पनि टिक्न सक्दैन । त्यसैले खानेकुरालाई जोगाएर राख्न नुनको प्रयोग हुने गरेको छ । खानेकुरा जोगाउन मद्दत गर्ने भएका कारण तातो र रुखो स्थानमा विकसित आदिम सभ्यताका मानिसहरुले नुनलाई निकै नै महत्वपूर्ण वस्तुका रुपमा लिने गर्थे ।

इतिहास

ईसापूर्व ६००० मा वर्तमान रोमानियामा बस्ने आदिम मानवले खोल्सीको पानी उमालेर नुन निकाल्ने गरेको प्रमाण भेटिएको छ । त्यस्तै, २७ औँ शताब्दी ईसापूर्वदेखि नै चीनमा समुद्रको पानी वाष्पीकरण गरेर बाँकी रहेको वस्तुलाई नुनका रुपमा उपभोग गर्ने अभ्यास रहेको पाइएको छ । त्यस्तै, प्राचीन मिश्रको सभ्यतामा पनि समुद्री पानीलाई प्रशोधन गरी नुन निकाल्ने गरिन्थ्यो ।

इजिप्टको वादी अल नट्रोन भनिने स्थानबाट प्राचीन मिश्रका बासिन्दाहरुले नुन प्राप्त गर्थे । नुनमा हुने सोडियम (एनए) तत्वको ल्याटिन रुप ‘नाट्रियम’ पनि यही नट्रोनबाट शब्द आएको विश्वास गरिन्छ । मिश्रका बासिन्दाहरुले खानेकुरामा स्वाद बढाउन, खानेकुरालाई जोगाएर राख्नुका साथै मम्मीलाई सुरक्षित रुपमा राख्नपनि नुनको प्रयोग गर्थे ।

त्यसबाहेक हिट्टेली, हिब्रु, युनानी, रोमन, भारतीय सभ्यतामा पनि नुनलाई निकै महत्वपूर्ण र मूल्यवान वस्तुका रुपमा लिने गरिएको थियो । इतिहासका पिता मानिने युनानी इतिहासकार हेरोडोटसले लिबियाली मरुभूमिमा नुन बोकेर ओहोर दोहोर गर्ने उँटका लस्करको वर्णन गरेका छन् ।

प्राचीन अस्सिरियाका क्रुर शासक अशुरबानिपालले आफ्नो परम्परागत दुश्मन एलमको राजधानी सुसा कब्जा गरेको र त्यहाँ नुन छर्केको वर्णन गरेका छन् । इराकको निनेभामा सन् १८५४ मा फेला परेको एउटा माटोको ट्याब्लेटमा ईशापूर्व ६५० ताका लेखिएको अशुरबानिपालको लेखोटमा उल्लेख छ–

‘सुसा, पवित्र ठूलो सहर, उनीहरुका ईश्वरको बासस्थान, उनीहरुको रहस्यको ठाउँ, मैले कब्जा गरेँ । म उनीहरुको दरबारमा छिरेँ, मैले सुनचाँदी, बहुमूल्य सामान र सम्पत्तिले भरिएका उनीहरुका ढुकुटी खोलेँ, मैले सुसाको महल भत्काइदिएँ । मैले तामाले बनेका उनीहरुका बाजागाजा टुक्र्याइदिएँ । मैले एलामको मन्दिर ध्वस्त पारिदिएँ । मैले उनीहरुका देवी देवतालाई हुरीमा उडाइदिएँ । उनीहरुका नयाँ र पुराना राजाहरुका चिहान, मैले भत्काइदिएँ, घाममा सुकाइदिएँ र तिनीहरुको हड्डी अशुरको भूमितिर लगेँ । मैले एलामको क्षेत्र ध्वस्त पारिदिएँ र उनीहरुको भूमिमा–मैले नुन छर्किएँ ।’

प्रारम्भीक गणतन्त्रकालमा रोमनहरुले नुन प्राप्त गर्न उपयुक्त ठाउँको पहिचान गरी रोमदेखि आद्रियाटिक सागरको तटमा अवस्थित कास्ट्रम टरान्टिनमसम्म बाटो नै खोलेका थिए । तेस्रो शताब्दी ईसापूर्वदेखि नै रोमनहरुले त्यस बाटोलाई रोमनहरुले भाया सलारिया (ल्याटिनमा नुनको बाटो) भन्दै आएका थिए । रोमन गणतन्त्रले दुई वटै प्युनिक युद्धमा कार्थेजलाई पराजित गरेपछि स्किपियो अमेलियानसको नेतृत्वमा रोमन सेनाले कार्थेज सहर ध्वस्त पारिदिएका थिए । त्यसपछि रोमन सेनाले त्यहाँ केही उब्जनी नहोस् भनेर कार्थेजको भूमिमा नुन छर्केको इतिहासमा पढ्न पाइन्छ ।

ल्याटिन भाषाको ‘साल’ वा ‘सलिस’ शब्दबाट अरु धेरै शब्दहरुको विकास भएको बताइन्छ । उदाहरणका लागि नुन हालिएको ताजा तरकारीलाई ‘हेरबा सलाता’ भनियो, जसबाट ‘सलाद’ शब्दको विकास भयो । त्यसैगरी, ससेज, ससजस्ता खानेकुराको नाम पनि नुनको ल्याटिन नामबाट आएको विद्वानहरु बताउँछन् ।

मैले तपाईँको नुन खाएको छु सरदार !

एउटा किंवदन्ती अनुसार रोममा नुन यतिधेरै मूल्यवान् थियो कि सैनिकहरुलाई तनखा पनि नुनकै आधारमा दिने गरिन्थ्यो । सोही कारण तलबका लागि अङ्ग्रेजी शब्द ‘स्यालरी’ पनि नुनको ल्याटिन भाषाको नाम ‘साल’ अथवा ‘सालिस’ बाट आएको एकथरि विद्वानहरुको तर्क छ । सरकारी नुन खाएरै होला रोमन सैनिकहरु स्किपियो, मारियस, सल्ला, पोम्पी, जुलियस सिजर, अक्टेभियनजस्ता कमाण्डरप्रति पूर्ण वफादार रही जस्तोसुकै युद्धमा पनि होमिन तयार हुन्थे ।

हिन्दी फिल्म ‘शोले’ मा एउटा संवाद निकै चर्चित छ । जय र बिरुबाट मात खाएर आफ्नो अखडामा फर्केका  बेला कालियाको कन्चटमा पेस्तोल ताकेर सरदार ‘गब्बर सिंह’ ले सोध्छन्- ‘अब तेरो के हुन्छ, कालिया ?’ कालियाले जवाफ दिन्छन्, ‘मैले तपाईँको नुन खाएको छु सरदार !’

दक्षिण एसियामा नुनलाई वफादारिताको प्रतीक नै मानिन्छ । उदाहरणका लागि नेपाली भाषामा इमान्दारितालाई अर्को शब्दामा भन्दा ‘नुनको सोझो’ भन्ने गरिएको छ ।

नेपाल–भोट नुन व्यापार

नेपाली शब्द र नेपालको प्रसंग जोड्दा कुनै समय भोटसँग नेपालको व्यापार पनि नुनमै आधारित थियो । त्यसबेला भोटबाट नेपालमा नुन, भेँडा च्याङ्ग्रा, ऊनीजस्ता सामान आयात हुन्थ्यो भने नेपालबाट चामलजस्ता खाद्यान्न भोटतर्फ निर्यात हुन्थ्यो ।

भोटका नुनिला तालमा प्रचुर मात्रामा नुन पाइने तर अन्न नउब्जने र दक्षिणी नेपालमा प्रचुर धान फल्ने तर नुनको राम्रो स्रोत नभएकाले कुनै समय यो व्यापार अति फस्टाएको थियो । चौरी, खच्चड, भेँडाजस्ता जनावरको पिठ्युँमा माल बोकाएर व्यापारीहरु हिमाली बाटोको ओहोर दोहोर गर्थे ।

एरिक भालीले निर्देशन गरेको ‘क्याराभान’ फिल्म पनि यही व्यापारको पृष्ठभूमिमा आधारित छ । १९५० को दशकमा चीनले तिब्बत कब्जामा लिएसँगै यो व्यापार सुस्ताएर गयो । पछि सन् १९६२ मा भारत–चीन युद्ध भएपछि सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएकाले यो व्यापार सामसुम नै हुनपुग्यो ।

तिब्बतलाई चीनसँग जोड्ने राजमार्ग बनेपछि भोटमा खानेकुरा चीनबाट आउन थाल्यो भने भारतसँगको व्यापारका कारण नेपालमा दक्षिण तिरबाट नुन आउन थाल्यो । यो कोरोनाकालमा चीनले नेपालसँगका नाका बन्द गरिदिएकाले भोटसँगको व्यापार ठप्पै भयो ।

इथियोपियामा नुन

नुन व्यापारको कुरा जोड्दा पूर्वी अफ्रिकाको इथियोपियामा हुने गरेको नुन उत्खनन र व्यापार प्रसंग पनि रोचक छ । इरेट्रियाको सीमानजिक इथियोपियाको डानाकिल क्षेत्रलाई ‘मृत्युको भूमि’, ‘पृथ्वीको सबैभन्दा क्रुर ठाउँ’, ‘संसारकै सबैभन्दा प्रतिकूल ठाउँ’ र ‘नर्कको ढोका’ जस्ता उपनाम दिइएको छ । कारण हो– यहाँको तातो मौसम । यो ठाउँ विश्वकै सबैभन्दा धेरै गर्मी हुने र वर्षा पनि न्यून हुने ठाउँको सूचीको शीर्ष तिरै पर्छ ।

यहाँ वार्षिक औसत तापक्रम ४१ डिग्रीसम्म पुग्छ भने औसत एक वर्षमा वर्षा पनि १ इन्चजति मात्रै हुन्छ । तर, यो ठाउँमा नुन भने प्रशस्त पाइन्छ । उसैपनि गरिबीको चपेटामा रहेको यो क्षेत्रमा मान्छेहरु ‘डानकिल डिप्रेसन’ मा रहेको नुन उत्खनन गरेर जीविकोपार्जन गर्छन् । हरेक वर्ष यहाँबाट १३ लाख टन नुन उत्खनन् हुन्छ ।

नुन आपूर्ति गर्न हरेक दिन यहाँबाट १ हजार गधा र २ हजार बढी उँटको लस्कर ओहोर दोहोर गर्छन् । यहाँ नुन उत्खनन गर्ने प्रथा शताब्दीऔँदेखि एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको छ । एक समय यहाँ नुनको टुक्रालाई नै मुद्राका रुपमा प्रचलनमा ल्याइएको थियो ।

सुनकै हाराहारी नुन

अफ्रिका, नुन र द्रव्यको कुरा गर्दा हामीले पश्चिमी अफ्रिकामा सुन बराबर नुनको कारोबार हुने गरेको पनि भुल्न हुँदैन । पश्चिम अफ्रिकामा सहारा मरुभूमिभन्दा दक्षिणमा साहेल भन्ने क्षेत्र पर्छ । यस ठाउँलाई अरबहरुले बिलाद अल सुदान (काला जातिको देश) भनेर चिन्छन् । यो ठाउँमा प्रचुर परिमाणमा सुन पाइन्थ्यो, तर नुन भने पाउनै कठिन ।

यस्तो अवस्थामा तुआरेग व्यापारीहरु सहारा मरुभूमि छिचोलेर टाढाटाढाबाट उँटको पिठ्यूँमा बोकेर नुन ल्याउँथे भने त्यहाँबाट सुन लिएर भूमध्य सागरको तटीय क्षेत्र, मिश्र, लाल सागरजस्ता ठाउँमा लैजान्थे । सो क्षेत्रमा अझै पनि तुआरेग व्यापारीले उँटको पिठ्युँमा नुनको भारी बोकाएर महिनौँसम्म लामो यात्रा गर्ने गरेका छन् ।

पश्चिम अफ्रिकामा सुन कतिसम्म प्रचुर थियो भन्ने जान्न हामीले चौधौँ शताब्दीको पूर्वाद्र्धमा माली साम्राज्यमा शासन गरेका मान्सा मुसाबारे जाने पुग्छ । सम्राट मान्सा मुसाले हज गर्ने क्रममा सुन बाँड्दा भूमध्यसागरमा सुनको पगितो आपूर्ति भएर त्यहाँका राज्यहरुको अर्थतन्त्र नै धराशायी भएको बताइन्छ ।

ईश्वीको दोस्रो शताब्दीतिर पश्चिम अफ्रिकामा नुनको माग यतिसम्म थियो कि सुन बराबर नुनको कारोबार हुन्थ्यो । सुन सस्तो भएर हो वा नुन मूल्यवान् भएर हो त्यसबेला पश्चिम अफ्रिकामा एक औँस सुन बराबर उत्तिनै नुनको कारोबार हुन्थ्यो । इतिहासमा पश्चिम अफ्रिकामा उदाएका घाना, माली, सोङ्घाइजस्ता साम्राज्यहरु नुन र सुनकै कारोबारले धनी बन्न पुगेका थिए ।

विशाल साहारा मरुभूमिको कठोर ठाउँमा पनि यही नुन र सुनको व्यापारले टिम्बुक्टू नगर विशाल सहरका रुपमा विकसित भएको थियो । वर्तमान समयमा पश्चिम अफ्रिकामा पर्ने माली भन्ने देशमा पर्ने टिम्बुक्टू सहरले अतिवादी लडाकुको हमला झेल्दै आएको छ । यद्यपि यो सहरले अझै पनि आफ्नो अस्तित्व कायमै राखेको छ ।

नुनको होटेल

दक्षिण अमेरिकाको बोलिभियामा सलार डे उयुनी नाम गरेको एउटा ठाउँ छ । ३ हजार ५ सय मिटरको उचाइमा एण्डिज पर्वतमालामा पर्ने यो ठाउँको धर्ती ऐनाजस्तै टल्किन्छ ।

४ हजार वर्गमाइलमा फैलिएको यो ठाउँ पुग्दा अर्कै ग्रहजस्तो लाग्छ । आँखाले भ्याएसम्म चारैतिर सेतैसेतो ।

आकाश र जमिन छुट्याउने क्षितिज कहाँ हो, थाहै हुन्न । खासमा यो ठाउँ संसारकै सबैभन्दा ठूलो नुनिलो भूमि हो । नुनिलो तालको पानी सुकेर यहाँ नुनमात्रै बाँकी रहेको विश्वास गरिन्छ । नुनको यो भूमिले हरेक वर्ष दशौँ हजार पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

हालै प्रकाशित समाचारमा यो ठाउँमा पैलासियो डि साल नामक होटेल स्थापना भएको छ । यसको अर्थ नै नुनको दरबार हुन आउँछ । यस होटलका तस्बिरहरूमा खम्बा र पर्खालहरू नुनका इँटाले बनेको देखाउँछ । होटेलमा राखिएका सेतो सोफा पनि नुनले नै बनाइएको हो भने कतिपय पाहुनाले भित्ता वा फर्निचर चाटेर नुनको जाँच समेत गर्छन् ।

भारतीय स्वतन्त्र संग्राम र नुन

भारतीय स्वतन्त्रता संग्राममा पनि नुनले महत्वपूर्ण भूमिका खेलेको थियो । स्वतन्त्र संग्रामका क्रममा महात्मा गान्धीले नुन सत्याग्रह नै थालेका थिए । भारतमा बेलायतको शासन हुँदा नुनमा बेलायतकै एकाधिकार थियो । हरेक भारतीय नागरिकलाई नुनको पाउने अधिकार रहेको गान्धीको विचार थियो । तर, नुनमा रहेको बेलायतको यस्तो एकाधिकार नतोडी भारतले स्वतन्त्रता नपाउने विचारमा उनी दृढ थिए । उनी विभिन्न पत्रिकामा बारम्बार यही विचार लेखिरहन्थे ।

यही संकल्पसहित गान्धी १९३० को १२ मार्चमा अहमदावादस्थित साबरमती आश्रमबाट सुती कपडाको सेतो धोती लगाएर लौरो टेक्दै ७८ जनाका साथ दांडीका लागि यात्रामा निस्के । गान्धीको नुन सत्याग्रह यात्रामा विस्तारै दशौँ हजार भारतीयहरु जोडिन पुगे । उनको यात्रा रोक्न ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । ३९० किलोमिटर लामो पैदल यात्राका क्रममा युवा, महिला, केटाकेटी, पुरुष सबै जनाको सहभागिता थियो ।

दांडीको समुद्री किनारमा पुगेपछि गान्धीले जमिनबाट मुठ्ठीभर नुन उठाए । त्यसपछि यात्रामा सहभागी यात्रीहरुलाई आवश्यकताअनुसार नुन बाँड्न थालियो । गान्धीले दांडीबाट ४० किलोमिटरको दूरीमा रहेको धारासनास्थित नुन खानी जाने योजना बनाएका थिए । दांडीबाट धरासनासम्म गान्धीको यात्रा असफल पार्नका लागि गान्धीलाई गिरफ्तार गरियो ।

इतिहासकारहरु महात्मा गान्धीको नुन सत्याग्रह यात्राले भारतीय स्वतन्त्रता संग्राममा एउटा इँटा थप्ने काम गरेको बताउँछन् । र, यो सत्याग्रहले बेलायती शासनको विरोध गर्ने भारतीय नागरिकको दृढतामा थप बल प्रदान गरेको पनि इतिहासकारहरुको बुझाइ छ ।