देश/प्रदेश

भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर 

By खबरहब

March 14, 2024

रुकुम पश्चिम – भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको लागि रुकुम पश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको आयोजनामा तीन दिने कार्यक्रम सम्पन्न भएको हो ।

शिविरबाट रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरूलाई प्रेस पास उपलब्ध गराइएको छ भने तीन वटा अनलाइन दर्ता तथा नवीकरण गरिएको पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले बताए । उनका अनुसार तीनै जिल्लाका ६५ जना पत्रकारलाई क्षमता अभिवृद्धि तालिम समेत दिइएको छ ।

अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सञ्चार माध्यम दर्ता, नवीकरण, प्रेस प्रतिनिधि पत्र वितरण लगायतका काममा सहजता दिलाउन घुम्ती शिविर मार्फत सेवा दिइएको अध्यक्ष केसीले बताए ।

त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. विजयराज मिश्रले विपद्मा पत्रकारिता, स्थलगत रिपोर्टिङ, तथ्यहरूको खोजी शैली, न्यु मिडियाको प्रयोग, समाचार शैली, विधागत पत्रकारिता लगायतका विषयमा सहजिकरण गरेका थिए ।

घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममा विभागका महानिर्देशक शंकर नेपाल, निर्देशक भरत गौतम, शाखा अधिकृत टेक बहादुर ओली, पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।