काठमाडौं- प्रवीण खतिवडा एक सशक्त कलाकार हुन्। चलचित्र लुटदेखि महाजात्रासम्म आइपुग्दा उनले अभिनय क्षमताबाटै यसलाई प्रमाणित गरेसकेका छन्।
व्यवसायिकरुपले असफल फिल्ममा पनि प्रवीणको अभिनयको चर्चा हुन्छ। सानो भूमिका भए पनि उनको अभिनय स्मरण गर्न लायक हुन्छ। सोही कारण कलाकारको अभिनय क्षमता बुझ्ने सिनेकर्मी उनलाई कम आँक्न नमिल्ने कलाकार भन्छन्।
राम्रो अभिनय क्षमता भए भएर पनि प्रवीण ओझेलमा पर्नुको कारण हो– उनको केन्द्रीय भूमिका रहेका चार फिल्म प्रदर्शनमा आएनन्। केन्द्रीय भूमिकामा देखिएका ती फिल्म व्यवसायिक धारका थिएनन्।
उपेन्द्रको सुब्बाको निर्देशन रहेको ‘मनसरा’मा भने उनी केन्द्रीय भूमिकामा देखिएका छन्। लामो समय केन्द्रीय भूमिका नपाएको तुस झार्ने गरी त्यो फिल्ममा काम गरेको उनी बताउँछन्।
सुब्बाको लेखन र प्रवीणले गरेको अभिनयको संगम कस्तो होला ? त्यो हेर्न भने वैशाक २१ सम्म कुर्नुपर्छ। प्रवीणको परिचय वि.सं. २०८० मा विस्तार भएको छ। उनी सशक्त कलाकार र नाटक निर्देशकबाट अब लेखक बनेका छन्। उनले भर्खरै ‘अकथ्य’ किताब बजारमा ल्याएका छन्।
उत्तरी मोरङमा राजनीतिक परिवारमा हुर्किएर अन्जानमै गुरुकुल प्रवेश गरेका प्रवीणको अभिनय यात्रा रोमाञ्चक छ।
प्रवीण खतिवडा ।
बहुदलले दिएको उपहार प्रवीण उत्तरी मोरङको लेटाङमा राजनीतिक परिवारमा हुर्किए। बुबा पञ्चायतकालमा भूमिगत थिए। बहुदल आएपछि घर फर्केका बुबाले दुई कार्यकाल चुनाव जितेर गाविस अध्यक्षको भूमिका निभाए।
बुबा नेता भए पनि गाउँका अन्य साथीहरुकै सरह आफ्नो बाल्यकाल सामान्य रुपमै बितेको प्रवीण सुनाउँछन्। प्राथमिक तहसम्म गाउँकै स्कुलमा पढे पनि माध्यमिक तह पढ्न भने करिब दैनिक डेढ घण्टाको यात्रा गरेको अनुभव उनीसँग छ।
उनी भन्छन्, ‘अहिले सुटिङमा विकट गाउँ जाँदा स्कुल कति टाढा रहेछ भन्ने हेर्छु। बढीमा आधा घण्टाको दूरी हुन्छ। अहिलेका बच्चाले हामीले जस्तो हिँड्नु चाहिँ नपर्ने रहेछ।’
स्कुले जीवनको बाल मस्तिष्कले त्यही जीवनशैलीलाई स्वीकार गरेकाले उनलाई अझै पनि त्यो क्षणको स्मरणले रमाइलो महसुस हुन्छ। स्कुल जाँदा तर्नुपर्ने चिसाङ खोलाको बाढीले बगाउन नसकेको स्मृति उनको मानसपटलमा ताजा छन्।
पुल नभएकाले चिसाङ खोलो तर्दा कपडा र किताब-कापी कतिपटक भिजे, गन्ती छैन। प्रवीण र उनका साथीहरुका लागि त्यो सामान्यजस्तै थियो। अहिले समय फेरिएको छ।
चिसाङमा पुल बनेको छ। फँडानी गाउँका विद्यार्थीले लेटाङमा पढ्न जाँदा खोलामा पस्नु पर्दैन। तैपनि भेल तरेर स्कुल पुग्दाका किस्साहरु आजपर्यन्त प्रवीणको मनमा गढेका छन्।
‘बर्खाको बेला खोलामा ठूलो बढी आएको थियो। दूध पुर्याउन बजार जानेहरु खोलो तर्न नसकेर बगरमै थिए। म र राजेन्द्र भन्ने साथी अरुले गाली गर्दागर्दैै खोलामा होमियौं,’ उनी सम्झन्छन्, ‘स्कुल पुगेपछि सरले धन्यवाद दिनुहुन्छ भन्ने थियो तर सुरुमै दुई–दुई झापड लगाउनुभयो। ज्यान फालेर खोला तर्ने ? बगाएको भए के हुन्थ्यो ? आज खोलो को तरेको छ ? भन्नुभयो।’
शिक्षकको त्यो झापडलाई प्रवीण प्रेमका रुपमा चित्रण गर्छन्। उनी भन्छन्, ‘त्यो त सरको जिम्मेवारी रहेछ नि। कति अगाध प्रेम देखाउनुभएको रहेछ।’
बुबा राजनीतिक नेता भएकाले देशको परिस्थितिका कारण बाल्यकाल आमा र हजुरबा–हजुरआमासँगै बिताएको प्रवीण बताउँछन्। उनी भन्छन्, ‘म सानो हुँदा पञ्चायतविरुद्धको आन्दोलन उत्कर्षमा थियो। बुबा भूमिगत हुनुहुन्थ्यो। उहाँसँग मेरो बाल्यकालको सुन्दर स्मृति हुन पाएन। तर, ०४६ सालमा आएको बहुदलले मलाई बुबा उपहार दियो।’
अर्थात्, पञ्चायतकालमा भूमिगत भएका बुबा बहुदल आएपछि बल्ल घर फर्किए।
साइन्सको पढाइ हापेर गुरुकुल प्रवेश एसएलसीमा प्रथम श्रेणी ल्याएपछि साइन्स नै पढ्नुपर्छ भन्ने सोचाइ धेरै मानिसहरुमा पाइन्छ। त्यही सोचाइका बोकेर धरान पुगेका प्रवीणले ठक्कर खानु पर्यो। उनले आइएस्सी पूरा गरेनन्। पढ्दापढ्दै गाउँमा फर्किएका प्रवीणले एक वर्ष गाउँकै विद्यालयमा पढाए। त्यहीँबाट उनी नाटकतिर तानिँदै गए।
प्रवीण सम्झन्छन्, ‘हामीले विद्यालयमा पढ्दा सात-आठ वटा नाटक देखाएका थियौं। क्याम्पस गएपछि अभिनय छुटेको थियो। गाउँको विद्यालयमा पढाउन थालेपछि अतिरिक्त क्रियालापका रुपमा विद्यार्थीलाई नाटक सिकाउन थालेँ।’
धरानबाट आईएस्सी हापेका प्रवीण पत्रकारिता पढ्न जागिर छाडेर काठमाडौं आए। काठमाडौंले उनलाई रंगमञ्चसँग परिचित गरायो। ‘क्याम्पसको प्रयोगात्मक प्रोजेक्टमा रिर्पोटिङ गर्ने क्रममा म गुरुकुल पुगेँ। चिनेका दाइहरु सञ्चार गृहमा भएकाले क्याम्पसमा बुझाउनुपर्ने लेटर दाइले मिलाइदिने भए पनि त्यो दिन दबाबकै कारण म रिपोर्टिङमा गएको हुँ’ उनी सम्झन्छन्।
गुरुकुल पुगेपछि आफूले चाहेको क्षेत्र भेटेको महसुस भएको उनी सम्झन्छन्। उनी भन्छन्, ‘गुरुकुल प्रवेश गर्दा म छक्के परेँ। मलाई चाहिएको विषय त यहाँ रहेछ, पढाइ सकेर यता पनि म आउँछु भन्ने भयो।’
सोही अठोट अनुसार आईए सकेपछि प्रवीण गुरुकुलमा भर्ना भए। उनी भन्छन्, ‘बीचमा पनि नाटक हेर्न गुरुकुल जाने गरिरहेँ। नयाँ ब्याच राख्ने भन्ने बित्तिकै छनोट प्रक्रियामा सहभागी भएँ। तीनजनाको कोटा खाली थियो, १६८ जनाबाट छानिनुपर्ने थियो, म सफल भएँ।’
अनि यहीँबाट सुरु भयो प्रवीणको गुरुकुल नाट्य यात्रा।
गुरुकुल छात्रावासको बसाइलाई प्रवीण अत्यन्तै रमाइलो र उपलब्धिमूलक मान्छन्। त्यहाँ भेटिएका संगतप्रति उनी कृतज्ञ छन्।
उनी भन्छन्, ‘त्यहाँ नेता, साहित्यकार र पत्रकारहरुको चिया अड्डा नै थियो। बौद्धिक वर्गको संगत भयो। समाजलाई बुझ्नुपर्छ भन्ने चेतना पनि जागृत भयो।’ यही ज्ञानले बुबाको चुनावी हार-जितलाई समेत विश्लेषणात्मक दृष्टिकोणले हेर्ने चेतना मिलेको उनको बुझाइ छ। उनी भन्छन्, ‘बुबाले मोरङबाट पहिलो संविधानसभाको निर्वाचन हार्नुभयो। ०७४ को चुनावमा प्रतिनिधिसभामा जित्नुभयो। ०७९ को चुनाव हार्नुभयो। तर, मैले यसलाई समाजको बौद्धिकता, जित–हारमा प्रभाव पार्ने तत्वहरु, जनताका चाहना कस्ता हुँदारहेछन् भनेर बुझ्न पाएँ।’
यी बाहेक गुरुकुलबाट प्रवीणले पाएको अमूल्य कुरा हो- पूर्णकालीन नाट्य कलाकारको परिचय।
लुटबाट फिल्म यात्रा सुरु विश्वप्रकाश शर्माको लेखन रहेको ‘युग अन्त्यपछिको प्रारम्भ’ डक्कुमेन्ट्रीमा पहिलो पटक क्यामेरा अगाडि अनुभव गरे पनि प्रवीणको पहिलो फिल्म ‘लुट’ हो। जसमा उनले कलाकारकै रुपमा अनुबन्धित नभए पनि अभिनय गर्ने अवसर पाए।
‘लुटमा म वर्कसप र कास्टिङका लागि अनुबन्धित भएको थिएँ। स्क्रिप्ट पढ्दा तीन फरक पात्रलाई जोड्न नयाँ दृश्य आवश्यक पर्ने देखेँ मैले। सौगात मल्ल दाइ र निश्चल बस्नेत सकारात्मक देखिए। त्यो दृश्यमा म आफैँ अभिनय गर्छु भनेँ। आफ्नो लागि आफैँले निर्माण गरेको चरित्र हो त्यो’ उनी लुट फिल्म बनाउँदाको किस्सा सुनाउँछन्।
सानो भूमिका भएकाले लुटले उनलाई कलाकारकै रुपमा चिनाउन त सकेन तर उनी लुटबाट उदाएका कलाकारहरुलाई आफ्नो आर्थिक अवस्था कमजोर बन्दाका सहयोगीका रुपमा लिन्छन्।
प्रवीण भन्छन्, ‘गुरुकुल भत्किएपछि छात्राबासमा बस्ने, खाने ठाउँको समस्या भयो। लुट हिट भएकाले दयाहाङ दाइ, सौगात दाइ र निश्चल बस्नेतहरुबाटै आश्रित भएर केही समय काठमाडौंमा टिकियो।’
नाटक निर्देशनको सुरुवात गुरुकुल उठ्न नसकेपछि साथीहरुको सल्लाहबमोजिम नाटक निर्देशनमा हात हालेको प्रवीण बताउँछन्। उनी भन्छन्, ‘अभिनयमा क्षमता राख्ने मान्छे हो भन्ने परिचय भइसकेको थियो तर हामीलाई कसले काम दिने ? साथीहरुले टिक्ने हो भने निर्देशन गर् भन्ने सल्लाह दिए।’
यसरी थालिएको यात्रा १८ वटा नाटक निर्देशनसम्म पुगेको प्रवीण सुनाउँछन्। उनले भर्खरै निर्देशन गरेको बालकृष्ण समको नाटक अन्धवेगबाट राम्रो प्रतिक्रिया पाएका छन्।
यसबाट सकरात्मक प्रतिक्रिया पाउनुका पछाडिको उनको बुझाइ छ, ‘अन्धवेगमा मैले बालकृष्ण समलाई भत्काएको थिएँ। बालकृष्ण समलाई पुरातन शैलीमा नै प्रस्तुत गर्नुपर्छ भन्ने रंगकर्मीको भ्रम तोड्न चाहान्थेँ। मैले अहिलेको आधुनिक र समकालीनरुपमा प्रस्तुत गरेँ।’
२०८० सालको यात्रा भर्खरै सकिएको ०८० साललाई प्रवीणले सुखद रुपमा लिएका छन्। यो साललाई फर्केर हेर्दा सुटिङको व्यस्ततामै बितेको उनी बताउँछन्। उनी थप्छन्, ‘रंगेली र महाजात्रा फिल्म आयो। दुबैमा मेरो अभिनय दर्शकले मन पराउनुभयो। दुई निर्देशनसहित तीन नाटक गरेँ। यो वर्ष राम्रै भयो।’
त्यसबाहेक प्रवीणले यो वर्ष आफ्नो परिचयलाई लेखकका रुपमा पनि विस्तार गर्न सफल भएका छन्। फागुनमा उनको कथाकृति ‘अकथ्य’ सार्वजनिक भएको छ।
वर्षको अन्तिम दिन प्रदर्शन भएको फिल्म ‘द रेड सुटकेस’लाई भने उनले ०८१ कै क्लालेन्डरमा सहभागी गराउने निर्णय लिएका छन्।
ओझेलमा परेका प्रवीण चाहे फ्लप फिल्म नै किन नहोस्, प्रवीणको अभिनयको सधैँ तारिफ हुन्छ। सिनेकर्मीमाझ उनले दशक अगाडि नै अभिनयमा क्षमता राख्ने कलाकारका रुपमा प्रमाणित गरिसकेका हुन् तर मुख्य भूमिकामा देख्न उनलाई मुस्किल छ।
प्रवीण ओझेलमा पर्नुको अर्को कारण हो, उनले केन्द्रीय भूमिका निर्वाह गरेका चार फिल्म प्रदर्शनमै आएनन्। उनी भन्छन्’ पहिलो फिल्म ‘स्पोन्सर’ आर्थिक समस्याले प्रदर्शन आएन। अर्को ‘बिनाकारण’ पनि त्यस्तै भयो। प्रदर्शनमै नआएकाले अरु दुईवटा फिल्मको नामै बिर्सिएँ।
अहिलेसम्म प्रवीणले २० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। सानो भूमिका नहुँदा उनको अभिनय क्षमता जति नै अब्बल भए पनि ओझेलमा छ। त्यसको पछिल्लो उदाहरण हो– फिल्म ‘रंगेली’।
प्रवीण भन्छन्, ‘मैले जे भूमिका निर्वाह गरेँ, त्यसमा म सन्तुष्ट छु। समालोचक र नाटकका साथीहरुबाट प्रशंसा नै पाउँछु। केन्द्रीय भूमिका भएका फिल्म प्रदर्शनमा नआएर अलि धेरै दर्शकमाझ म नपुगेको हुँ जस्तो लाग्छ।’
यद्यपि महाजात्रा, लुट-२, रंगेली जस्ता फिल्ममा निर्वाह गरेको भूमिकाले व्यवसायिकरुपमा केही प्रभाव छोडेको उनलाई महसुस हुन्छ। उनी भन्छन्, ‘०८१ जेठमा मनसरा आउँदैछ। त्यसमा म केन्द्रीय भूमिकामा छु। लामो समय केन्द्रीय भूमिकामा नदेखिएको तुस मैले मनसरामा झार्ने प्रयास गरेको छु। म आशावादी छु, त्यो फिल्मबाट।’