समाचार

रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गर्‍यो : सचेतक परियार

By खबरहब

April 14, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको टिप्पणी गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद् अवरुद्ध गरेको टिप्पणी गरेका हुन् ।

उनले कांग्रेसले राजनीतिक कारण नभई व्यक्ति र जनमत प्राप्त रास्वपाको अस्तित्वलाई स्वीकार गर्न नसकेको जिकिर गरे । सदनको गतिरोध अन्त्यका लागि धेरै पटक छलफल, संवाद गरे पनि कांग्रेसले अडान नछाडेपछि अहिलेको अवस्था आएको उनले बताए ।

परियारले कांग्रेसको विरोधका कारण सरकार भागेको नभई समयमा नै बजेट ल्याउनका लागि र सदनको काम कारबाही प्रभावकारी बनाउनका लागि चालू अधिवेशन अन्त्य गरेको धारणा राखे ।

उनले बजेट अधिवेशनसम्म सबै कुरा छर्लङ्ग हुने बताए ।