फाइल फोटो

आर्थिक

घरजग्गा कारोबारमा सुधार हुन सकेन, देशभरको व्यवसाय स्थिर

By खबरहब

April 14, 2024

काठमाडौं– चालु आर्थिक वर्ष (आव)का पछिल्ला महिनाहरूमा केही सुधार देखिएको घरजग्गा कारोबार चैत महिनामा भने स्थिर देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनाको तुलनामा चैत महिनामा देशैभरीको घरजग्गाको कारोबारमा केही सुस्तता र स्थिर देखिएको हो ।

विभागका अनुसार चैत महिनामा ५० हजार २ सय ५२ कित्ता जग्गाको लिखत पारित भएको छ भने १८ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार ९ सय ९८ वटा जग्गाको लिखत पारित भएको थियो भने २९ वटा अपार्टमेन्टको लिखत पारित भएको थियो ।

कारोबारमा भएको स्थिरता देखिए पनि चैत महिनामा भने सरकारले घरजग्गा कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरमार्फत हुने आम्दानीमा केही वृद्धि गरेको छ । विभागको तथ्यांकअनुसार सरकारले चैत महिनामा पुँजीगत लाभकरबापत १ अर्ब ४६ करोड ९१ लाख ७ हजार १४२ रुपैयाँ आम्दानी गरेको छ, जुन फागुन महिनामा १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँमा सीमित रहेको थियो ।