देश/प्रदेश

स्याङबोचे पुग्यो सेनाको टोली, हिमालबाट ५ वटा शव र १० टन फोहोर संकलन गरिने

By खबरहब

April 14, 2024

काठमाडौं- पछिल्लो समय नेपालको सगरमाथा लगायत विभिन्न हिमालमा फोहोर बढ्दै गएको गुनासो सुन्न पाइन्छ । यसै सन्दर्भमा आइतबार नेपाली सेनाले १२ जना सैनिक र एकजना शेर्पालाई हिमाल सफाइका लागि हेलिकोप्टरमा स्याङबोचेमा उतारेको छ ।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल सफा गर्ने क्रममा १० टन फोहोर र पाँचवटा मानव शव संकलन गरिने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले ‘सफा हिमाल अभियान–२४’ का क्रममा ७ दिन पदयात्रा गरेर सगरमाथा आधार शिविरसम्म पुग्ने योजना बनाएको छ ।

पदयात्राका क्रममा स्थानीयसँग अन्तरक्रिया गर्नुका साथै फोहोर सफा गर्दै जाने जंगी अड्डाले जनाएको छ ।

गत चैत २९ गते जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले अभियानका टोली नेता सेनानी आदित्य कार्कीलाई ‘क्याम्पियन फ्याग’ हस्तान्तरण गरेर यो अभियानको घोषणा गरेका थिए ।

सोही घोषणा अनुसार १३ जनाको टोली आइतबार स्याङबोचे ओर्लिएको हो ।