समाचार

सलमानको घरमा गोली काण्डको जिम्मा लियो ‘लरेन्स’ समूहले

By खबरहब

April 14, 2024

काठमाडौं – बलिउड नायक सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पाँच राउन्ड गोली प्रहार भएको छ । बाइकमा आएका दुई व्यक्तिले आइतबार बिहान सलमानको परिवारलाई लक्षित गरी गोली प्रहार गरेको बताइएको छ ।

भारतीय मिडियाका अनुसार ३ गोली पर्खालमा र एक गोली घरभित्रै छिरेकाे थियो । यद्यपी मानवीय क्षति भने भएको छैन । सलमानले भने यस घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसघटनापछि समानको घरमा सिनेमाकर्मी र राजनीतिज्ञको उपस्थिति बाक्लिएको छ । उनीहरु सलमानलाई सहानुभूति दिने पुगेको बताइएको छ ।

सलमानका पिता सलिमले भने ती व्यक्तिहरुले सलमानसँग जोडिएर चर्चित हुनका लागि यो घटना घटाएको प्रतिक्रिया दिएका छन् । उनले सीएनएन न्युजले सलिमको भनाइ उदृत गर्दै लेखेको छ, ‘तिनीहरू केवल प्रचार चाहन्छन्। चिन्ता लिनुपर्ने केही छैन। परिवार सबैलाई ठीक छ ।’

सलमान बस्ने भवनमै रहेका निर्देशक प्रेमराज सोनीले इन्डिया टुडेसँग कुरा गर्दै स्थिति सामान्य रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘सबै कुराहरू नियन्त्रणमा छन् । आत्तिनुपर्ने अवस्था छैन । भवनमा गोली चल्दा हामी सबै डरायौं । तर हामी सबै सुरक्षित छौं ।’

कसले लियो घटनाको जिम्मा ?

सलमानको घरमा भएको गोलीकाण्डसँग सम्बन्धित एउटा फेसबुक पोस्ट सार्वजनिक भएको छ । अनमोल बिश्नोईको फेसबुक खाताबाट यो घटनाको जिम्मा लरेन्स बिश्नोई समूहले लिएको छ । अनमोल भारतका कुख्यात गुण्डा लरेन्स बिश्नोईका भाइ भएको भारतीय मिडियाहरुको दाबी छ ।

अनमोलको पोस्टमा लेखिएको छ, ‘हामी शान्ति चाहन्छौं। सलमान खान, हामीले यो ट्रेलर देखाउनको लागि यो गरेका हौं । यसबाट हाम्रो बल बुझ । यो पहिलो र अन्तिम चेतावनी हो, यसपछि खाली घरमा गोली चल्दैन । हामीले दाउद इब्राहिम र छोटा शकिलको नाममा दुई जनावरहरू पालेका छौं जसलाई तिमी भगवान मान्छौं। हामीलाई धेरै बोल्ने बानी छैन । लरेन्स बिश्नोई समूह ।’

अनमोलले फेसबुकमा दाबी गरे पनि यो घटनाको आधिकारीक पुष्टि हुन भने बाँकी नै छ ।

बढाइयो सलमानको सुरक्षा

सलमानको ज्यान मार्ने धम्की पहिलादेखि नै पटक-पटक आएको थियो । यो पटक भने गोली घरभित्रै पसेको छ । आइतबार भएको गोलीकाण्डपछि प्रहरीले सलमानको सुरक्षामा थप कडा गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

लरेन्स बिश्नोई र गोल्डी ब्रारले विगत केही वर्षदेखि सलमानमाथि आक्रमण गर्ने प्रयास गरिरहेका छन् । एक उनीहरु सलमानको हत्याको नजिक पुगेको तर अन्तिम समयमा सुपारी दिने व्यक्तिलाई समात्न प्रहरी सफल भएको थियो ।

कालो हरिण शिकार प्रकरणमा सलमानको नाम आएदेखि नै लरेन्स समूह उनको पछि लागेका हो । यो समूहले सलमानलाई हत्यालाई नै मुख्य लक्ष्य भएको बताउँदै आएको छ ।