मृगौला पीडितको याचना – ‘कानूनी जटिलताले बाँच्ने अधिकार खोसियो’ | Khabarhub Khabarhub

मृगौला पीडितको याचना – ‘कानूनी जटिलताले बाँच्ने अधिकार खोसियो’



सुनसरी– ५३ वर्षीय प्रेमप्रसाद पराजुलीले मृगौला प्रत्यारोपण गर्न नपाएपछि सम्बन्धी कानूनी जटिलताकै कारण बाँच्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् ।

कसैले स्वैच्छिक रूपमा मृगौला दान गरेमा त्यसलाई कानूनले स्वीकार नगरेकै कारण आफ्नो बाँच्न पाउने मानव अधिकार हनन भएको पराजुलीले बताएका हुन्‌ ।

धरान–१४, विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पुजासामग्री बेचेर परिवार र आफ्नो गुजारा चलाइरहेको अवस्थामा १५ महिनाअघि उनको दुवै मृगौला फेल भयो । त्यसयता उनले मृगौला डाइलाइसिस गर्दै आएका छन् ।

चिकित्सकले पराजुलीलाई मृगौला प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रीमती र छोरा मृगौला दिन तयार भएका थिए । तर, परीक्षणमा श्रीमती र छोराको मृगौला ‘फिट’ हुन नसक्ने चिकित्सकीय रिपोर्ट आयो ।

त्यसपछि परिवार बाहिरका शुभचिन्तकमध्ये एकजना पराजुलीलाई मृगौला दिन तयार भए । तर; नेपालको कानूनमा परिवार बाहिरका सदस्यले मृगौला दिन नसक्ने प्रावधान रहेकाले उनले ‘कानूनी जटिलता हटाइ ज्यान बचाई पाऊँ’ भनेर प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र मानवअधिकारवादी संघसंस्थालाई खुलापत्र लेख्न बाध्य भएको बताए ।

उनले भने, ‘मेरो परिवारका सदस्यले मृगौला दिन तयार भएपनि प्राविधिक कारणले नमिल्ने भएपछि मेरै शुभचिन्तक मध्येका एकजना मलाई मृगौला दिन तयार छन्, तर कानूनी जटिलताले प्रत्यारोपण गर्न पाएको छैन ।’

उनले कानूनी जटिलताकै कारण आफूले मृगौला पैत्यारोपण गर्न नपाएपछि संविधानले सुनिश्चित गरेको मानवअधिकार हनन् नगर्न आग्रह गर्दै प्रधानमन्त्री र सिंहदरबारलाई खुलापत्र पठाएको बताए ।

उनकी श्रीमती विमला पराजुली स्पाइन कर्ड इन्जुरी भएपछि विगत पाँच बर्षदेखि हलचल हुनै नसक्ने गरी ओच्छ्यान परेकी छन् । यस्तो अवस्थामा पनि आफ्नो श्रीमानप्रति प्रेम जाहेर गर्दै एउटा मृगौला दिन चाहेकी थिइन् ।

तर उनी आफैँ रोगी र बिरामी भएकाले चिकित्सकले कानूनी, स्वास्थ्य, नैतिक र मानवीय दृष्टिकोणले ‘बिरामी श्रीमतीबाट मृगौला लिन नमिल्ने’ सुझाव दिएको थियो । श्रीमतीको स्पाइनल कर्ड इन्जुरीको उपचार गर्दागर्दै भएका चलअचल सम्पतति जायजेथा सकिएको अवस्थामा उनको पनि दुवै मृगौलामा समस्या देखियो ।

मृगौला प्रत्यारोपण गर्ने प्रयासमा नेपालको कानून नै बाधक बनेपछि उनले लेखेको खुलापत्रमा भनेका छन्, ‘म यो अनुरोध गर्न चाहन्छु कि यदि परिवारका सदस्यहरूद्वारा मृगौला दान गर्न सम्भव नभएको खण्डमा स्वैच्छिक रूपमा यदि कसैले दान गर्न चाहान्छ भने त्यसलाई कानूनले स्वीकार गर्ने व्यवस्था बनाउने वातावरण तयार गरौं । नेपालमा विद्यमान कानूनको जटिलताको कारण आज अवैद्य रूपमा छिमेकी राष्ट्र भारतमा गई विचौलियाको प्रभावमा परी मानव अङ्गको अवैद्य कालोधन्दा भएको सत्य स्वीकार गर्दै रोकथाम गर्ने प्रयास गरौं ।’

उनले पत्रमा यो पनि लेखेका छन्, ‘म र हामी यो याचना गर्दछौं कि भवितव्य, अनिष्ट, सङ्कट र समस्या भन्ने कुरा मान्छेको जीवनमा कुनै सूचना, संकेत र जनाउ घन्टी दिँदै आउँदो रहेनछ । यसबाट मुक्ति र छुटकारा प्राप्त गर्न उत्पन्न परिस्थिति र प्रतिकूल अवस्था मात्र नभई राज्यको विद्यमान कानुन पनि बाधक बन्दो रहेछ । कानुनले नचिने पनि समाजमा परिचित मेरो धर्मपुत्रका रूपमा रहेको सन्तानले पनि स्वतःस्फुर्त रूपमा मलाई मृगौला प्रदान गर्न तयार भएर बसेका छन् । तर परिवारका सदस्यभन्दा बाहिरका व्यक्तिले कानुनी रूपमा दिन नमिल्ने रहेछ ।’

अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी घोषणा पत्रमा पनि व्यक्तिको बाँच्न पाउने अधिकारलाई सम्बोधन गरेको छ । नेपालको संविधान पनि नागरिकको मौलिक हकका रूपमा बाँच्न पाउने अधिकारलाई राखिएको छ । तर, संविधान अनुसार कानून नबन्दा आफूजस्ता हजारौं नागरिकहरू पलपल मरेर बाँचिरहनु परेको पराजुलीले बताए ।

मृगौला प्रत्यारोपण सम्बन्धी कानून संसोधन गर्न सके धेरै पिडितलाई राहत पुग्ने पराजुलीले बताए । उनले भने, ‘कानूनी जटिलताका बीच पनि किड्नी दिने–लिने कार्य भइरहेको छ । राज्यका कारणले नागरिकले महङ्गोमा परिरहेका छन् । त्यसैले नेपालमा निश्चित मापदण्ड राखेर आफन्त बाहेकबाट पनि किड्नी लिनदिन सकिने वातावरण बनाइयोस्‌ ।’

मृगौलापीडित प्रेमको पत्रः

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १ : ०७ बजे

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अशोककुमार राई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार

प्रचण्डलाई राजकिशोरको सुझाव : तपाईंले आत्मसमीक्षा गर्ने बेला आयो

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर

सिन्धुलीमा भएको सवारी दुर्घटनामा ११ जना घाइते

सिन्धुली– सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट

‘देशलाई शल्यक्रिया आवश्यक थियो, प्रचण्डले प्राथमिक उपचार मात्रै गरे’

काठमाडौं- जनमत पार्टीका नेता एवम् पूर्वमन्त्री अब्दुल खानले देशलाई शल्यक्रिया

बाढीपहिरोबाट सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन किसान महासङ्घको माग

काठमाडौं– नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीनको खोजी तीव्र