काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने आकलन गरेको छ । राष्ट्रिय मनसुन फोरमले बैशाख ३१ मै गते पत्रकार सम्मेलन गरी यो वर्षमा विगतको तुलनामा ६५ प्रतिशतसम्म बढी पानी पर्ने जानकारी दिएको थियो ।
फोरमले सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भूभाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५.४ देखि ६५.५ प्रतिशतसम्म बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।
मनसुन शुरू भएसँगै पूर्वी पहाडी जिल्लामा बाढी पहिरो गइसकेको छ । बाढी पहिरोको कारण ताप्लेजुङमा शुक्रबार ४ जनाले ज्यान गुमाइसकेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले यो वर्षामा ६५ प्रतिशतसम्म बढी वर्षा हुनसक्ने अनुमान गरेसँगै बाढी पहिरो लगायत जोखिम पनि बढ्ने आकलन छ । मनसुन शुरू हुनभन्दा १ महिना अघि नै भएको वर्षाको पूर्वानुमानलाई लिएर जोखिम न्यूनीकरणका लागि सरकारका सम्बन्धित निकायले पनि पूर्वतयारीका काम गरिरहेको जनाएका छन् ।
संघीय सरकारको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् नियन्त्रण, उद्धार तथा राहतका क्षेत्रमा काम गर्दै आएको छ । त्यस्तै, संघीय व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहहरूले पनि विपद्को क्षेत्रमा काम गर्दै आएका छन् ।
मौसम पूर्वानुमानबारे जानकारी प्राप्त भइसकेपछि प्राधिकरण र प्रदेश सरकारहरूले सम्भावित जोखिमको तयारीका निम्ति काम शुरु गरेको बताएका छन् ।
कसरी काम गर्दैछ प्राधिकरण ? राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार विपद्को जोखिम हेरेर केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापन निम्ति संरचना तयार भएको छ । साथै, तालिमप्राप्त जनशक्ति पनि तयारी अवस्थामा राखिएको उनले बताए ।
‘उद्धारका लागि नेपाली सेना नेपाल प्रहरी र शसस्त्र प्रहरीको बलका साथै आवश्यक इन्जिनियरदेखि २९ हजार ५४० जना तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा छन्’, उनले भने ।
आवश्यक परेको खण्डमा थप जनशक्तिलाई तयारी अवस्थामा राख्न काम गरिरहेको प्राधिकरणले जनाएको छ । बाढी-पहिरो र भूक्षयबाट अवरुद्ध हुनसक्ने सडक यातायात सुचारू गराउन ठूला उपकरणहरू विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
प्रवक्ता भट्टराईका अनुसार सातै प्रदेशमा १२ वटा मानव सहायता केन्द्र स्थापना गरिएको छ । साथै; नेपाल रेडक्रस सोसाइटी र क्षेत्रीय गोदामघरहरू तथा सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार र सामग्री व्यवस्थापन व्यवस्था गरिएको छ ।
सबै खालका विपद्हरूलाई छिटो र छरितो ढंगले कार्य गर्नका लागि राष्ट्रि आपतकालीन कार्यसञ्चालन केन्द्र तथा जिल्ला तथा स्थानीय तहमा स्थापना भएका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रहरूपनि तयारी अवस्थामा रहेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।
यो वर्षामा ४ लाख १२ हजार २०९ घरपरिवार मनसुनजन्य विपद्को प्रभावमा पर्ने आकलन प्राधिकरणले गरेको छ । जसमध्ये ८६ हजार घरधुरी बढी प्रभावित हुने र १६ हजारलाई खाद्यान्न र मानवीय सहायताको नै आवश्यकता पर्ने प्राधिकरणले अनुमान गरेको छ ।
सम्भावित विपद्बाट प्रभावित क्षेत्रका लागि स्थानीय तहमै खाद्यान्न भण्डारण गरिएको प्राधिकरणले जनाएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन क्षेत्रमा मनसुन अवधि भरका लागि मनसुन प्रतिकार्य कमान्ड पोष्ट खटाउने तयारी पनि भइरहेको छ ।
साथै, विपद्को समयमा विभिन्न खालका लैङ्गिक असमानताहरू हुनसक्ने हुँदा सो समस्या समाधान गर्न प्रभावित क्षेत्रका मानिसहरूले बुझ्ने भाषामा विभिन्न सूचनाहरू जारी गर्ने तयारी प्राधिकरणले गरेको छ ।
त्यस्ता सूचना मोबाइल, टेलिभिजन र रेडियो लगायतका सञ्चारमाध्यमबाट प्रसारण हुनेछन् । यस्तै अपाङ्गता भएका र बालबालिकाहरूलाई विशेष प्राथमिकता राखेर उद्धारमा जोड दिनेगरी तालिम पनि दिने काम भइरहेको प्रवक्ता भट्टराईले बताए ।
चीनले टेन्ट, ब्ल्याङकेट र म्याट्रेस सहयोग गर्यो वर्षामा हुनसक्ने विपद् मध्यनजर गरेर चीन सरकारले विभिन्न सामग्री सहयोग गरेको प्राधिकरणले जनाएको छ ।
चीनले विपद् व्यवस्थापनको पूर्वतयारीका लागि १२ सय ५० टेन्ट, ९०० ब्ल्याङकेट र २५ सय म्याट्रेस नेपाल पठाइसकेको प्रवक्ता भट्टराईले बताए ।
विगतका विपद्हरूमा पनि चीन, भारत लगायतका थुप्रै मुलुकहरूले नेपाललाई सहयोग गर्दै आएका छन् ।
१० वर्षमा विपद्जन्य दुर्घटनाबाट ३ हजार ५२ को मृत्यु विपद्जन्य घटनाबाट २०६८ सालदेखि अहिलेसम्म ३ हजार ५२ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै; बाढी, पहिरो, भारी वर्षा र चट्याङ गरी अहिलेसम्म ५७ हजार घरधुरीमा क्षति पुगेको छ ।
एक दशकमा राज्यले बाढीबाट मात्रै १६ अर्ब ३३ करोड र पहिरोबाट १ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको छ । समयमै सबै पूर्वतयारी गर्न नसक्दा यस्ता घटनाहरू वर्षेनी बढ्दै गइरहेको छ ।
पूर्वतयारीमा स्थानीय सरकार पनि स्थानीय सरकारहरूले पनि विपद्का समयमा आवश्यक दक्ष जनशक्ति तयार गर्न लागिपरेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताएकी छिन् । स्थानीय तहमा ठूला उपकरण नहुने हुनाले त्यसका लागि सम्भावित क्षेत्रमा आवश्यक पर्नसक्ने उपकरणका लागि संघ तथा प्रदेशमा समन्वय गर्ने उनले बताइन् ।
‘जुन क्षेत्रमा बढी जोखिमको सम्भावना हुन्छ, त्यो ठाँउमा चाहिने जनशक्ति तयार गर्ने काम गरिरहेका छौँ । आवश्यक पर्ने बजेट र खाद्यान्न पनि व्यवस्थापन मिलाइरहेका छौं, सबै सेक्टरका मानिसहरूलाई तालिमका लागि अग्रसर गराएका छौं ।’
विपद्को पूर्व तयारी क्रममा सरकारसँग सम्भावित क्षेत्रमा चाहिने उपकरण माग गरे पनि उपलब्ध नगराएको भन्दै नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले गुनासो गरेका छन् । धेरै पटक आवश्यक बजेट माग गर्दा पनि बेवास्ता गरेको उनको भनाइ छ ।
‘स्थानीय तहबाट जे जति गर्न सक्छौं-त्यो हामीले गरिरहेका छौँ । सम्भावित क्षेत्रमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने काम भएपनि अन्य कुनै उपकरण उपलब्ध भएको छैन, हामीले सिंहदरबार नै घेरेका थियौं, तर पनि केही उपलब्धि हुन सकेन’, उनले भने ।
ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बुवा, आमा र दुई बहिनीको निधन