राजनीति

उपेन्द्र यादवको दाबी- सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले हाम्रो पार्टी फुटाइदिए

By खबरहब

June 14, 2024

जनकपुरधाम- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताको दौडमा राज्यको प्रयोग गरेर आफ्नो पार्टी फुटाइएको बताए ।

उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको जिकिर गरे ।

यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने उल्लेख गरे ।

नेपालको इतिहासमा मधेशका शक्तिहरू तरवारको धारबाट हिँडिरहेको बताउँदै उनले तिनकाविरुद्ध हमेशा षडयन्त्र हुँदै आएको गुनासो गरे ।

यादवले कुनै पनि पार्टी गैर मुद्दा, गैरसैद्धान्तिक आधारमा फुट्नु दुभार्ग्यापूर्ण घटना भएको उल्लेख गरेका छन् ।

यादवले राजनीतिक बाटोमा हिड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वभाविक रहेको बताए । यादवले पार्टी महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताए।