समाचार

कांग्रेस सांसदको प्रस्ताव – नयाँ संसद्‍ भवन परिसरमा मदिराको बार खोलौँ

By खबरहब

June 14, 2024

काठमाडौं – विभिन्न अभिव्यक्तिका कारण विवादमा आइरहने नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सिंहदरबारभित्रको नयाँ संसद् भवनमा मदिराको बार बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधनका क्रममा उनले विदेशी पाहुनाहरू आउँदा ‘सोसेलाइजेसन’ गर्न नयाँ संसद् भवनमा मदिरा बार बनाउनुपर्ने बताएका हुन् ।

‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको कार्यालय पुगेको थिएँ। कंग्रेस र सिनेटको कार्यालय घुमेँ। सिनेटमा पाहुनाका रुपमा पुग्ने पर्यटकका लागि बार बनाइएको रहेछ’, उनले भने, ‘उनीहरू त्यो बारमा ‘सोसलाइजेसन’ गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ । त्यसको सीमितता हुन्छ। हहिले सिंहदरबारमा बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा ‘सोसलाइजेसन’ गर्ने बार बनाउने हो कि ? मैले यसबारे सरकारको ध्यानाकर्षण गराएँ ।’

बजागाईंले उक्त बार पर्यटकहरूका लागि पनि उचित हुने तर्क गरे । यसअघि उनले एक टेलिभिजन कार्यक्रममा मदिरा पिएरै अन्तर्वार्ता दिएको भन्दै आलोचना भएको थियो ।