सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

भारतमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु

By खबरहब

June 14, 2024

नयाँदिल्ली– उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा चार जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य चार जना जलेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

उत्तराखण्डको राजधानी सहर देहरादुनबाट करिब तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको उनीहरूले बताएका छन् ।

वन विभागका अधिकारीहरूका अनुसार बिहीबार साँझ आगो निभाउन आठ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो ।

यद्यपि तीव्र हावाले आगो अझ फैलिँदा टोलीका चार सदस्यहरूको मृत्यु भयो र अन्य चार जना गम्भीररूपमा जलेका थिए । घाइतेहरूलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै बिनसर वन्यजन्तु आरक्षणमा लागेको आगो तत्काल नियन्त्रण गर्न वायुसेनाको सहयोगमा वन विभागका शीर्ष अधिकारीलाई निर्देशन दिएका छन् ।

अधिकारीहरूले राज्यमा वनमा आगलागी हुनुको कारण गर्मी र सुक्खा मौसमलाई दिएका छन् ।