चितवन– चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसमा सवार यात्रुमध्ये थप दुईजनाको शव भेटिएको छ ।
आज चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरार्सी पूर्व गैँडाकोटमा ती शव भेटिएका हुन् । आज भेटिएका दुई शवकाे शनाखत हुन बाँकी छ । यसअघि शनिबार तीनजनाको शव भेटिएको थियो । तीनवटा शव आफन्तले बुझिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपाल साहको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।
गत शुक्रबार काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस सिमलतालमा पहिरो खस्दा दुवै बस त्रिशूलीमा बगेका थिए ।
गौरतर्फ गइरहेको बसमा २७ जना र काठामाडौँतर्फ आइरहेको बसमा २४ यात्रु सवार थिए ।
नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीले खोजी हराइरहेका बस र यात्रुको खोजी जारी राखेका छन् ।