फाइल फोटो

राजनीति

ओलीको हातमा चौथो पटक सत्ताको बागडोर

By खबरहब

July 14, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीका रुपमा ओलीको यो चोथौ कार्यकाल हो । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका थिए ।

शुक्रबार नै संघीय संसदको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।

व्यवस्थापिका संसद्बाट २०७२ असोज २५ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित ओलीले असोज २५ गते शपथ ग्रहण गरेका थिए । उनले २०७३ साउन ९ व्यवस्थापिका संसदलाई सम्बोधन गरेर पदबाट राजीनामा दिएका थिए ।

एमाले अध्यक्ष ओली २०७४ फागुन ३ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका बनेका थिए । उनले २०७८ वैशाख ३० सम्म दोस्रो कार्यकालमा सरकारको नेतृत्व गरेका थिए ।

ओलीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ वैशाख ३० मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले पुनः प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

को हुन् ओली ?

२००८ फागुन ११ मा तेह्रथुमको इवा–२ मा माता स्वर्गीय मधु ओली र पिता मोहनप्रसाद ओलीको पुत्रका रुपमा जन्मिएका ओली २०२३ मा मार्क्सवादी अध्ययन दलमा संगठित भएका थिए ।

२०२५ मा पूर्णकालीन राजनीतिक कार्यकर्ताको रुपमा गतिविधिमा संलग्न उनले २०२६ माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०२७ जेठ ९ पूर्णकालीन नेताको रुपमा आन्दोलन परिचालनको लागि उनले भूमिगत जीवन शुरु गरेका थिए ।

२०२७ फागुन १६ झापामा पहिलो पटक गिरफ्तारीमा परेका ओलीको २०३० सम्म १० पटक गिरफ्तार र रिहा भएको राजनीतिक इतिहास छ । उनी २०२८ झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित भएका थिए ।

राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न आरोपमा २०३० असोज २३ गिरफ्तारीमा परेका ओली ४ वर्ष गोलघरसहित १४ वर्ष जेल सजाय भोगेका नेतामा पर्छन् ।

जेलमै रहँदा २०३५ पुस ११ मा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) को संस्थापक नेताको हैसियत प्राप्त गरेका ओली २०४४ असार ११ जेलबाट रिहा भए । त्यसलगत्तगै २०४४ पुस २ गते बसेको नेकपा मालेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भए ।

२०४६ तत्कालीन नेकपा मालेको लुम्बिनी अञ्चल ईञ्चार्जको जिम्मेवारी बहन गरेका ओली २०४७ जेठ १ पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष पनि हुन् ।

२०४७ पुस २२ नेकपा माले र नेकपा मार्क्सवादीबीच एकीकरण हुुँदा उनी नवस्थापित नेकपा एमालेको संस्थापक केन्द्रीय सदस्य बनेका थिए ।

ओली २०४८ बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आमनिर्वाचनमा झापा–६ बाट संसदको तल्लो सदन प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०५० मा एमालेका केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारीसहित पोलिटव्युरो सदस्य निर्वाचित भएका थिए ।

२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुननिर्वाचित ओली मंसीर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो सरकारको गृहमन्त्रीमा नियुक्त भएका थिए ।

२०५६ मा तत्कालीन झापा–६ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित भएका ओली २०५६–२०५९ सम्म संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेताको हैसियतमा थिए ।

२०६३ मा गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुनस्र्थापित संसदमा ओली उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नियुक्त भएका ओली २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित हुन पुगेका थिए ।

उनी २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसपछि उनी २०७४ र २०७९ को आमनिर्वाचनमा झापा क्षेत्र नम्बबर ५ बाट विजयी भए । उनले यी दुवै निर्वाचनमा नेपाली कांग्रेसका डा.खगेन्द्र अधिकारीलाई हराए । २०७९ मा २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँपटक संसद् निर्वाचित भए ।

ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए। ओली २०४८ सालबाट निरन्तर यो क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

२०७० माघ २१ तत्कालीन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित ओलीले २०७१ साउन १ नवौं राष्ट्रिय महाधिवेशनबाट तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै एमालेको अध्यक्षमा विजयी भएका थिए ।

त्यसपछि २०७८ मंसिर १० देखि १३ सम्म चितवनको भरतपुर र सौराहामा भएको दशौँ महाधिवेशनबाट उनी अध्यक्षमा दोहोरिएका थिए ।