मनोविद् सनम पौडेलले डिप्रेसनलाई नबुझ्दा रोग एकातिर र उपचार अर्कोतिर भइरहेको बताएकी छन् । विगत २१ वर्षदेखि मनोविद्को रुपमा काम गर्दाको आफ्नो अनुभव सुनाउँदै उनले नेपाली समाजमा डिप्रेसनलाई स्वीकार नगरिएको बताइन् ।
उनी भन्छिन्, ‘अत्यधिक रिसाउनु मानसिक समस्याको पहिलो लक्षण हो, तर सन्काहा भयो बिहे गरेपछि सुध्रिन्छ भन्नेतर्फ परिवारका सदस्यको विश्लेषण रहेको पाइन्छ ।’
उनले केही समय अगाडिको एक घटना सुनाइन्– एक युवक धेरै रिसाउने रहेछन् । स–सानो कुरामा पनि झर्किने र कराउने गर्ने । घरमा मात्तिएर यस्तो भएको ठहर गरे । ‘सन्काहालाई बिहे गरेपछि ठीक हुन्छ’ भन्ने निधोमा अभिभावक पुगे । त्यहीअनुरूप बिहे पनि भयो । तर उनको समस्या अर्कै थियो, बिहे भएर पनि झर्किन छोडेनन् । पछि उनी डिप्रेसनमा रहेको थाहा भयो । केटी पक्षले पनि बिरामी लुकाएको भनेर आरोप लगाए ।
पहिले जस्तो पतिपरमेश्वर भनेर बस्ने समय छैन । मानसिक समस्याले प्रताडित छ, तर बिहे गरेपछि सुध्रिन्छ भनेर केटी र केटा दुवैको जिन्दगी झमेलामा पर्यो । धेरै रिसाउनु मानसिक समस्याको पहिलो लक्षण हो । रोग एकातिर, उपचार अर्कोतिर भयो । डिप्रेसनको विभिन्न चरण गुज्रिँदै जाँदा युवाको मृत्यु नै भयो ।
उचित समयमा परामर्शको अभावले मानिसले जीवन नै गुमाइरहेका छन् । त्यस्ता मानसिक बिरामीहरूको सेवा गर्नमा पौडेललाई रुचि थियो । त्यसकारण उनले मनोविज्ञान विषय रोजिन् । तीन दिदीबहिनीमध्ये जेठी दिदी कानुन, माइली दिदीले आमसञ्चार पढेपछि उनलाई कुनै नयाँ विषय पढ्नुपर्छ भन्ने लाग्यो । नयाँ विषयमा मनोविज्ञानले आकर्षण गरेको उनी बताउँछिन् ।
भन्छिन्, ‘दिदीहरूले भन्दा फरक विषय के पढ्ने भनेर सोचिरहँदा मनोविज्ञान भन्ने नयाँ विषय पनि थियो । कसैको अनुहारको भाव हेरेर उसको अवस्था बुझ्न सकिन्छ भन्ने कुराले निकै प्रेरित गर्यो । मनोविज्ञान भन्ने शब्दले क्याच गर्यो ।’
‘मानिसको व्यवहार अध्ययन गर्दै जाँदा झनै चाख लाग्दै गयो । यसमा पनि ब्रान्चहरु छुट्टिन्छन्, मैले क्लिनिकल साइकोलोजी पढें, उनले भनिन्, ‘जस्तो रोगहरू डिप्रेसन एन्जाइटी लगायत मानसिक समस्याहरू र त्यसको उपचार हो । मेडिकल्ली डाक्टरले प्रेस्क्रिप्सनमा लेख्ने कुरा पाइँदैन, तर यो टिममा बसेर उपचार गर्ने हो । मानसिक समस्या भएकोलाई औषधोपचार डाक्टर र सामाजिक पक्ष मनोविद्ले गर्ने हो ।’
सशस्त्र द्वन्द्वपछि धेरै मानिसमा मानसिक समस्या आएको उनको भनाइ छ ।
‘त्यो भन्दा अगाडि त्यति धेरै यो विषयमा चासो थिएन । युद्ध ट्रमा भएका बिरामीहरू धेरै थिए ।’
त्यसपछि २०७२ सालको भूकम्पले झनै धेरै मानसिक समस्याका बिरामी बढेको उनले पाइन् । नेपालमा काउन्सिलिङ साइकोलोजी र अर्गनाइजेशन विहेभियर जस्ता साइकोलोजीका ब्रान्च स्थापना भएपछि मानसिक स्वास्थ्यको बारेमा चेतना बढेको उनको अनुभव छ ।
‘हरेक रोग अथवा समस्याको कारण हुन्छ । कारण पत्ता लगाउने प्रयास मनोविद्को हो ।’जस्तै रातभरि निद्रा लागेन । किन लागेन ? भनेर खोज्ने काम मनोविद्को हो । समस्या कहाँनिरबाट सुरु भएको हो भनेर खोज्नुपर्ने हुन्छ, पौडेलले भनिन् ।
उनले सन् २००४ बाट काम गर्न सुरु गरेकी हुन् । साइको थेरापी पढेर धेरै आत्मसन्तुष्टि पाएको उनले बताइन् । साइको भनेको मन र थेरापी भनेको उपचार अर्थात् मनको उपचार ।
मनको उपचार गर्नेले पनि ‘फि’ लिन्छ ? भनेर केहीले प्रश्न पनि सोध्ने गरेको उनले सुनाइन् । उनी भन्छिन्, ‘यो पेशामा लागेर पैसा भन्दा पनि बिरामी ठिक भए सन्तुष्ट हुन्छ ।’
पौडेलको परामर्शले सयौँ मानिसहरूले पुनर्जीवन पाए । तीमध्ये केही पात्रले निकै खुसी बनाएको अनुभव उनी यसरी सुनाउँछिन् ।
घटना –१ ड्रग रिह्याब सेन्टरमा एक २१ वर्षको युवकलाई हेर्नुपर्यो । ब्याचलर पढ्दै गरेको युवक ड्रगमा फसेछन् । एक राम्रो परिवारको छोरा थिए । दुई दाजुभाइमध्येको कान्छा । दाजु एमबीबीएस पढ्दै थिए । अत्यधिक डोज खाएर ढल्ने र बेहोस् हुने रहेछन् ।
त्यसपछि छोरा बिग्रने भयो भनेर आमा कलेज जाँदा पनि पछिपछि लाग्ने । साथीभाइसँग घुम्न जाँदा पनि पछिपछि लाग्ने गरिछन् । झनै आमाको व्यवहारले धेरै दिक्क भएछन् । आमाले किन धेरै माया गरेको भन्थे । आमाले धेरै माया गरेको नै उनलाई मन नपर्ने भएको थियो ।
सेन्टरमा कसैसँग नबोल्ने , कसैले भनेको नसुन्ने गर्थे । परामर्श गर्नै कठिन । करिब चार वर्षमा भृकुटीमण्डपमा इन्फोटेक मेला गएको थिए । एक युवकले मेरो नाम लिएर ‘म्याम’ भनेर बोलायो । मैले चिनिन । उसले आफैँले भन्यो– रिह्याब सेन्टरमा भेटेको भनेर । उसले त्यतिबेला असाध्यै कृतज्ञता देखायो ।
हजुरको परामर्शले ड्रग छोडेँ भन्यो । त्यो सुनेर असाध्यै खुसी लाग्यो । उसले मेलामा आफ्नो पनि स्टल भएको सुनायो । उ आइटीको विद्यार्थी थियो । त्यतिबेला उसले उचित परामर्श नपाएको भए, पुरै जीवन तहसनहस हुन्थ्यो ।
घटना–२ अम्रेला फाउण्डेसनमा काम गर्दाको समय थियो । एक बालगृहमा १३ वर्षकी बहिनी थिइन् । त्यहाँ भारतको सहयोगले बालगृहमा स्कुल सञ्चालन थियो । त्यत्री उमेरकी उनी नर्सरीमा पढ्दै थिइन् ।
बालगृहमा उनी कोहीसँग नबोल्ने भनेर चिनिएकी थिइन् । बोल्न नसक्ने पनि होइन, तर कसैसँग नबोली बस्ने । त्यसपछि उनलाई परामर्श गर्ने जिम्मा आयो । जति परामर्श गरेपनि उनको मुखबाट वाक्य फुटेन । मनोविद्ले केही गर्न सकेन भन्ने आरोप नै आयो । केही गर्न सकेन, अब मनोविद् फर्काइदिनेसम्म भन्न भ्याए । हामी तुरुन्तै नतिजा खोज्छौ । एक वर्षमा पनि मनोविद्ले केही गर्न सकेन भन्दिछौँ । यो छिनभरमै हुने उपचार होइन । तर एक वर्षपछि उनले त्यहाँ स्टाफहरुलाई ‘गुड मर्निङ’ भन्न थालिछन् । विदेशतिर २०, २२ वर्षसम्म पनि थेरापीमा बसेको घटना छन् ।
उनको समस्या भनेको ठूलो उमेरमा पनि सानो बच्चाहरूसँग बसेर पढ्नु पर्दा गाह्रो भएको रहेछ ।
नर्सरीमा चार पाँच वर्षको उमेरका केटाकेटीसँग बसेर पढ्न गाह्रो भयो । त्यसकारण कसैसँग नबोल्ने रहिछन् । उनी आफूभन्दा साना बच्चाहरूसँग बसेर पढ्दिन पनि भन्न नसकेर अप्ठ्यारो परिस्थिति झेल्दै बसेकी थिइन । सात वर्षको उमेरमा यौन हिंसामा परेर त्यहाँ ल्याइएको थियो ।
सबै सामान्य हुन थालेपछी पुनर्स्थापना गराउने तयारी थियो । उसले घर फर्किने बेलामा गृहका सबैलाई धन्यवाद भनिरहेकी थिइन् । तर मेरो निहुरिएर खुट्टा छोइन्, मैले त केही भुइँमा खसेर टिप्न खोजेकी होलिन् भनेको खुट्टा छुन पो खोजकी थिइन् । म्यामले गर्दा राम्रो भयो, सहज भयो भनिन् । एक वर्षको मिहिनेतको फल पाएँ, त्यो दिन । त्यस्तै जेलमा परेका अभिभावकका बच्चाहरूको अवस्था झनै नाजुक अवस्था रहेको उनले बताइन् ।
भन्छिन्, ‘बच्चाहरुलाई विभिन्न माध्यमले परामर्श गराउनुपर्ने हुन्छ । खुसी बनाएर, साथी जस्तो सँगै खेल्दै बुझाउनुपर्ने हुन्छ । त्यसकारण ड्रइङ गर्न लगाएको थिएँ । तर उनीहरूले ढोका विनाको घर बनाए ।’
‘ठूला–ठूला बिल्डिङ बनाएका छन्, झ्याल छ तर ढोका छैन । किनभने उनीहरूले जेलघर मात्रै देखेका छन् । बन्दुक बोकेका गार्ड बनाए । बच्चाहरूले जे देखे त्यहि बनाए, उनले भनिन्, ‘अर्को उनीहरूले रङ पनि चिनेनन् । चित्रमा रङ लगाउन भनेको तर रातो कुन हो ? थाहा छैन । पहेंलो कुन हो त्यो पनि थाहा छैन ।’जेलमा हुर्किँदै गरेका बच्चाहरूलाई कसले चिनाउने ? कसरी चिनाउने ?उनी प्रश्न गर्छिन् ।
भगवानसँग आशीर्वाद माग्नुपर्यो भने के माग्छौ? भनेर सोध्दा ती बालबालिकाले फराकिलो घर माग्थे भन्दा आफ्नो मन भरिएको अनुभव उनले सुनाइन् । ‘यो आशीर्वाद माग्ने पनि उपचारमध्ये एक विधि हो । बालबालिकाले के चाहेका छन् ? भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यो निकै प्रभावकारी हुन्छ ।’
सानो उमेरमा यौन हिंसामा परेर, ड्रगमा फसेर, करिअरलाई लिएर अत्यधिक बोझ मानेर, प्रेमसम्बन्ध टुटेर मानिसहरू डिप्रेसनको सिकार भएका छन् । समयमै पहिचान गरी परामर्शमा जानुपर्ने मनोविद् पौडेलको सल्लाह छ ।
डिप्रेसन जैविक, शारीरिक र सामाजिक कारणले हुने पौडेल बताउँछिन् । उनी भन्छिन्, ‘जैविक कारण भनेको हामीभित्रै थरिथरिको भावना हुन्छ । सबै कन्ट्रोल दिमागले गरेको छ । खुसी हुने हर्मोन र दुखी हुने हर्मोनहरु दिमागले निकालिरहेको हुन्छ । त्यसमा गडबडी भयो भने त्यसलाई मनोचिकित्सकले उपचार गर्छ । ’‘मनमा आउने भाव वा सोच विचारमा समस्या भएमा त्यो शारीरिक कारणले भएको हो । र अर्को सामाजिक कारण जस्तै छुवाछुत, धनी गरिब, प्रतिस्पर्धा, वैदेशिक रोजगार लगायतले समस्या निम्त्याउँछ’ उनले भनिन् ।
उदाहरण दिँदै उनले भनिन्, ‘संसद् भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्य सामाजिक कारणले डिप्रेसनमा गएका थिए । त्यस्तै इन्गेजमेन्ट तोडेको भन्दै पुष्पा न्यौपानेले युवकको घर अगाडि गएर आत्महत्या गरिन् । त्यो भनेको मनसँग जोडिएको समस्याले निम्त्याएको डिप्रेसन थियो ।’
अहिले प्रतिस्पर्धा र देखावटी गर्ने अभ्यासले अधिकांश मानिसहरू मानसिक रुपमा सामान्य नरहेको पौडेलले दाबी गरिन् । शरीरमा चोट लागेको जस्तो, डिप्रेसन मनमा लागेको चोट हो । त्यसकारण उपचार गर्नुपर्ने उनको सल्लाह छ । राम्रोसँग उपचार नपाएर केही मानसिक बिरामीले मृत्युवरण गर्नुपरेको अवस्था स्मरण गराउँदै उनले मानसिक समस्या लुकाउनुपर्ने कुरा र होच्याउनुपर्ने बिरामी नभएको प्रष्ट गरिन ।
त्यस्तै डिप्रेसन वंशाणुगत र बाह्य कारणले हुने उनको टिप्पणी छ । भन्छिन्, ‘वंशाणुगतमा सहने फरक शक्ति लिएर जन्मिएको हुन्छ । कुनै घटनालाई लिएर कसैलाई सामान्य लाग्छ । कसैलाई त्यति नै घटनाले असह्य पीडा हुन्छ । अर्को बाहिरी कारण भनेको ऋण, बेरोजगार, प्रेमसम्बन्ध लगायतका कारणहरुले हुन्छ ।’
मन उदास हुने, बिरक्तिने, एक्लो महसुस गर्ने, आत्मबल घट्ने, आफ्नो महत्व छैन भन्ने जस्ता भावहरू डिप्रेसनका लक्षण भएको पौडेलले बताइन् । ‘पहिले त्यहाँ कुराहरूमा खुसी लाग्ने र अहिले नलाग्ने । तौल बढ्ने र घट्ने भएमा पनि सजग हुनुपर्छ ।’
डिप्रेसनबाट बच्ने उपाय :
पहिलो चरणमा
– व्यक्तिले हिँडडुल र शारीरिक अभ्यास बढाउनुपर्छ । – साथीसंगत भेटघाट र घुमफिर बढाउनुपर्छ । – तालिका मिलाएर स्वस्थकर खाना खानुपर्छ । – ठीक समयमा सुत्ने र उठ्ने बानी बसाउनुपर्छ । – मदिरापान र धूमपान गर्नु हुँदैन ।
डिप्रेसन मध्यम चरणमा प्रवेश गरेको छ भने मनोविद् वा चिकित्सकको परामर्श र आवश्यक परेमा औषधी पनि लिन सकिन्छ । यो चरणमा धेरैलाई औषधीको आवश्यकता पर्दैन ।
डिप्रेसन अन्तिम अर्थात् गम्भीर चरणमा चिकित्सकको नियमित निगरानी, परामर्श र औषधि अनिवार्य हुन्छ। डिप्रेसनको लक्षण जति छिटो थाहा पाउन, परामर्श वा उपचारमा जान सक्यो त्यति नै छिटो रोग निको हुने पौडेल बताउँछिन् ।