समाचार

कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने छ : मन्त्री पौडेल

By खबरहब

August 14, 2024

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताएका छन्। 

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन आग्रह गरे। 

उनले भने, ‘यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरून् । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्यपि तपाईँहरूको अझै धेरै सक्रियता राज्य र जनताले खोजेको छ ।’ 

आफू यसै क्षेत्रको सांसदका रुपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताए ।

‘अस्पतालमा भीड कसरी घटाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नु जरुरी छ । यसका लागि हामीले डिजिटल रुपमा सेवा सुरू गरेका छौँ, यसको प्रयोग सुरुआती दिनमा कम देखिए पनि विस्तारै बढ्छ । कुनै व्यक्ति उपचार गराउन आउँदा सोही दिन उसले सेवा सुविधा पाउनुपर्छ, यसलाई सम्भव गर्न यहाँका चिकित्सकसँगै सम्पूर्ण अस्पताल परिवारको सहयोग र सहकार्य चाहिन्छ’, उनले भने । 

मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रुपमा लिनुपर्नेमा जोड दिए। फरक प्रसंगमा उनले वीर अस्पताल झैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताए। 

अस्पतालका निर्देशक डा पंकज रायले एक हजार शय्याको अस्पताल बनाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए। 

अस्पताल सञ्चालक समितिका अध्यक्ष बाबुराम गौतमले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य मन्त्री बनेकाले अस्पतालको स्तर बढ्नेमा कुनै दुबिधा नरहेको बताए। सो अवसरमा मन्त्री पौडेलले १६ शय्याको ‘बालबालिका मनोचिकित्सा अन्तरंग वार्ड’ को उद्‌घाटन गरे।