समाचार

हुलाकी राजमार्ग : कालिया खोलामा पुल नहुँदा समस्या

By खबरहब

October 14, 2024

सप्तरी– हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ ।

लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ ।

पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले आवातजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिन्टु यादवले गुनासो गरे । जिल्लाको सदरमुकाम राजविराजसमेत जोडने पुल भएकाले हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको उनले सुनाए ।

तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगारिया यादवले समयमा पुल निर्माण नहुँदा वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने र आवतजावतमा अवरोध सिर्जना हुने गरेको बताए ।

यस्तै, यस आसपास जोडिएको करिब दुई किलोमिटर सडकसमेत कालोपत्रे हुनसकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्र नहुँदा थप समस्या भइरहेको सोही ठाउँका देवनारायण यादवले गुनासो गरे ।

यस्तै तिरहुत गाउँपालिका–५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्र गर्न ढिलाइ भएको छ ।