फाइल तस्वीर

समाचार

अवरुद्ध सडक खुल्नासाथ पाथीभरामा तीर्थयात्रीको चहलपहल

By खबरहब

October 14, 2024

फुङ्लिङ – सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको वृद्धि हुँदै गएको हो ।

ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ । 

सोमबार मात्र करिब चार सय  तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए। स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको छ । दसैँको अन्तिम समयमा सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमनलाई स्वागत गर्दै उनीहरूको सुविधाका लागि तयारी गरिरहेका छन् ।  

लगातारको वर्षाका कारण यही असोज १२ देखि विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेंवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको सिधा आवागमन बन्द भएको थियो भने तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन असहज बनेको थियो ।

 रमिते र राजदुवाली खण्डमा पहिरोले सडक बगाएपछि यातायात पुनःसञ्चालनमा कठिनाइ आएको थियो । हाल अस्थायी रूपमा डाइभर्सन बनाइ सवारी आवागमन सुरु भएपछि यातायात र व्यापार–व्यवसायले गति लिन थालेको छ । 

नवरात्रको समयमा सडक अवरुद्ध हुँदा पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घटेको थियो ।  सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमन सुरु भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।