खेलकुद

प्रधानमन्त्री कप : त्रिभुवन आर्मीद्वारा मधेसलाई ३२१ रनको लक्ष्य

By खबरहब

January 15, 2024

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको छ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय २० रनको योगफल बनायो । आर्मीका विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित एक सय १३ रनको शतकीय इनिङ खेले । 

यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इम्रान शेखले २६, भीम सार्कीले १८ तथा  बसिर अहमदले १६ रन बनाए । पाँचौँ विकेटका लागि विनोद र कुशलले एक सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इम्रानले ५३ रनको साझेदारी गरेका थिए ।

मधेसका लागि रञ्जित कुमारले पाँच विकेट लिए भने  विशाल पटेलले दुई तथा राजेश यादव र रूपेश सिंहले समान एक-एक विकेट लिए ।