समाचार

राष्ट्रियसभामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई मनोनीत गर्न माग

By खबरहब

January 15, 2024

काठमाडौं- राष्ट्रियसभामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका एक सदस्यलाई मनोनीत गर्न मायाको पहिचान नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेको छ ।

राष्ट्रियसभामा रिक्त १९ सदस्य चयन गर्न ११ माघमा हुने निर्वाचनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उम्मेदवारी शून्य रहेको भन्दै मायाको पहिचान नेपालले राष्ट्रपतिसँग यस्तो माग गरेको हो ।

पहिलो संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशन सुनिलबाबु पन्तले राष्ट्रियसभामा कम्तीमा एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गराउन राष्ट्रपतिसँग माग गरे । ‘कमसेकम एक जना यो समुदायलाई राष्ट्रपतिले मनोनीत गर्न सक्नुहुन्छ, पन्तले भने, ‘यो समुदायको किन नराख्ने ? हाम्रो समुदायको कोही पनि छैनन् ?’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेश गराउन मायाको पहिचान नेपालले राजनीतिक अभियान सञ्चालन गर्ने पनि बताए ।

मायाको पहिचान नेपालले राष्ट्रियसभामा अरू सबै समुदायको प्रतिनिधित्व भए पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन नसकेको जनाएको छ ।