विसं २०४५ सालमा गोरखाको ताकिकोटमा जन्मिएका मरिचमान श्रेष्ठ अहिले धेरैको प्रिय कलाकार ‘बल्छी धुर्बे’ बनेका छन् । सामान्य किसान परिवारमा जन्मिएर काठमाडौंमा पाएको ठक्करबाट बिचलित नहुँदा उनी अहिलेको यो स्थानमा छन् ।
काठमाडौंमा कोठाभाडा तिर्ने पैसा नभएर घरपेटीसँग लुक्दै हिँडेको तीतो अनुभव पनि बल्छीसँग छ । उनी थप्छन्, ‘काठमाडौंमा आउँदा चिया र दुनोट खान एकदमै मन लाग्थ्यो । त्यो पनि खाने पैसा हुँदैनथ्यो ।’
१६ सय कोठा भाडा हुँदा १२ सयको जागिरले उनी महँगो सहर काठमाडौंमा टिक्नुपर्ने चुनौतीका दिनलाई उनी जीवनै कठिन समय मान्छन् । टेलिचलचित्र ‘मेरी बास्सैमा देखिनुअघि उनले निर्वाह गरेको जिम्मेवारी पनि धेरैलाई थाहा छैन, जुन यहाँ उल्लेख गरिएको छ ।
‘अफिस बोई’का रुपमा समेत जागिर गरेका बल्छीलाई आफूले भोगको कठिन समय एक एक याद छ । मेरी बास्सैका ‘बान्द्रे’ले पहिलो पटक बाइक चढाएको उनी चाहेर पनि भुल्न सक्दैनन् ।
जानौं– आर्थिक हैसियत कमजोर भएको परिवार जन्मे–हुर्केको ताकिकोटको गाउँले केटो मरिचानले बल्छी बन्न गरेको संघर्ष !
टीभी मोह ०५५ सालमा छिमेकका ‘घिमिरे कान्छा बा’ले टीभी किनेपछि गाउँका सबै भेला भएर हेर्दाको क्षण बल्छीको बाल्यकालको रमाइलो पाटो हो । उनी स्मरण गर्छन्, ‘त्यो टीभी हेर्न यति धेरै मान्छे हुन्थे कि निस्कने बेला आफ्नो चप्पल कुन हो भनेर खोज्दाको हैरान हुन्थ्यो ।’
०५७ साल घरमा सादा टीभी ल्याएपछि धित मर्ने गरी हेर्न पाएको उनी सम्झन्छन् । ‘हाम्रो घरमा टीभी भुइँमै राखेको थियो । त्यो कोठामा खाट पनि थिएन टीभी हेर्नको लोभले म भुइँमा नै सुत्थेँ,’ उनी बाल्यकालको स्मरण गर्छन् ।
त्यही हिजो आजका कुरा, तितो सत्य खुबै लगावले हिर्ने भएकाले कलाकारितामा मोह बढेको उनको ठम्याइ छ । यद्यपि स्कुल पढ्दा नै आफूमा कलाकार बन्ने छनक रहेको उनलाई अहिले महसुस हुन्छ ।
‘स्कुलका कार्यक्रमहरुमा माइक समातेर बोलिहाल्थेँ । शुक्रबारको कार्यक्रममा नाटक पनि गरिन्थ्यो । नाटक चाहिँ निरन्तर नै भयो ९ मा पढ्दा नाटक म पहिलो भएँ ।,’ उनी भन्छन्, ‘त्यसपछि गाउँकै कार्यक्रमहरुमा क्लबहरुले पनि बोलाउन लागे । बुबा–आमा र शिक्षकहरुले कार्यक्रममा बोल्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो । हाहु, जसो गरेर भने पनि हँसाउने प्रयास गर्थेँ ।’
एलएलसीपछि काठमाडौं ०६३ सालमा एसएलसीपछि काठमाडौं आएपछिका सुरुवाती दिनलाई बल्छी जीवनकै कठिन क्षण मान्छन् । सहरमा बस्ने आर्थिक हैसियत नभएका बेला भतिज रामचन्द्रले आश्रय दिएको उनी जीवनमा नभुल्ने बताउँछन् ।
श्रेष्ठ भन्छन्, ‘म १४ सय बोकेर आएको थिएँ । नयाँ बजारको डेरामा उसले मलाई ८ वर्ष राख्यो । त्यो मेरो कठिन समय हो । घरबाट पठाएको पैसा रासन पसलमा बुझाउँदै ठिक्क हुने, भाडा तिर्ने पैसा नभएर साहुसँग लुकेर हिँड्नुपर्ने ।’
त्यसबेला आर्थिक अभावले दुनोट र चिया खाने तीव्र इच्छा मारेको काठमाडौंमा भौँतारिएको उनलाई अझै पनि झलझली याद आउँछ ।
‘नयाँ बजारमा दाइ पर्नेको दुनोट पसल थियो । उसकी नानी हेर्ने बहानामा खाजा खाने समय पारेर हामी दुनोट र चिया खान जान्थ्यौं,’ उनी सम्झन्छन्, ‘त्यसबेला बाटो हिँड्दा अरुले पाउरोटी र चिया खाँदा मैले पनि त्यसरी खान पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’
चार पढ्दा चार नम्बर बल्छीलाई पढ्नमा कमजोर भएकाले ‘घरमा कति गाली खाएँ’ भन्ने याद छैन । तर अंग्रेजी विषयमा कमजोर भएकाले उनी चार कक्षामा फेल भएको याद ताजै छ ।
आजको दिनमा समेत अंग्रेजी कमजोर भएकाले काममा बाधा परेकाले उनी कक्षा चारमा शिक्षकले नम्बर सुनाएको दिन भुल्न सक्दैन ।
‘नम्बर सुनाउँदा सरले मेरो नाम सुरुमा नै लिनुभयो । राम्रै आएछ कि भन्ने लागेर उठेको मात्रै थिए, सरले थुक्क गोरु के लेखेको भन्नुभयो । यसको कति आयो थाहा छ चार ल्याएछ भन्नुभयो, कक्षाका सबै हाँसे ।’ उनी स्कुले भोगाइ सुनाउँछन् ।
पढाइ कमजोर भए पनि मेलापात ठग्न भने अब्बल जुक्ती लगाएको उनले भुलेका छैनन् । उनी भन्छन्, ‘केही काम गर्नुपर्ने छ भने ठग्ने जुक्ति पहिल्यै लगाउँथेँ । घाँस काट्न जानुपर्ने भयो भने हँसिया लुकाउने, मेलापात हिँड्ने बेला भएपछि ट्वाइलेटमा गएर घण्टौं लुक्ने जस्ता बदमासी गर्थेँ ।’
उनको बदमासी यति मात्रै होइन, लामा हात गर्ने पनि थियो रे । जसका कारण कयौं पटक बा–आमाबीच झगडा भएको उनी सुनाउँछन् ।
‘लघु जलविद्युतको एउटा वडाको मिटर रिड गरेर बुबाले पैसा ल्याउनुहुन्थ्यो र आमालाई राख्न दिनुहुन्थ्यो, म चोरेर झिकिदिन्थेँ । आमाले बुबालाई दिने बेला हिसाब मिल्दैन थियो,’ उनी भन्छन्, ‘बुबा कम भयो भनेर गाली गर्ने, आमा मैले झिकेको थाहा नहुने, अनि दिएको यति हो मैले थपक्क राखेको मात्र हो भन्ने । यही विषयमा झगडा हुने ।’
‘पैसा चोरेको थाहा पाएर पिटाइ खाएपछि चोर्ने बानी छाडेको उनी बताउँछन् । उनी थप्छन्, ‘पिटाइ खाएपछि मर्छु भनेर दुम्साएँ । घरकाले जुक्ति लगाएर चोरलाई नै चाबी दिए । मलाई नै पैसा राख्न दिन लागे । त्यसपछि चोर्ने कुरै भएन ।’
अभिनयको यात्रा
प्लस टूमा भर्ना भएसँगै अभिनय सिक्न दर्पण फिल्मसमा भर्ना हुँदा कलाकार रवि डंगोल ‘बेमान’सँग भेट भएको बल्छी बताउँछन् । रविले जितु नेपाल ‘मुन्द्रे’को नम्बर दिएपछि बल्छी ‘जिरे खुर्सानी’को हरेक सुटिङ हेर्न पुग्थे ।
मोबाइल थिएन, ल्यान्डलाइनबाट कल गर्थेँ, सुटिङ छ भनेपछि जडीबुट्टी पुगिहाल्थेँ । त्यसबेला जितु दाइको क्रेज यति धेरै कि भेट्नै नपाउने ’ उनी सम्झन्छन् ।
जिरे खुसार्नीको सुटिङमा एकवर्ष धाउँदा काम नमिले पनि उनले केदार घिमिरे ‘माग्ने बूढा’सँग भेट्ने मौका पाए । त्यहीँ माग्ने बूढासँग कलाकार बन्ने इच्छा व्यक्त गरेर मोबाइल नम्बर मागेको उनी बताउँछन् ।
‘मेरी बास्सैको हरेक भाग प्रसारण भएपछि केदार दाइलाई फोन गरेर काम दिनु भन्थेँ । धेरै कल गर्न लागेपछि आउ न त काम गर भन्नुभयो,’ उनी भन्छन्, ‘सुरुमा गएर मेरी बास्सैमा स्पोट बोई बनेँ । ठूलो नबिनी दिएको जिम्मेवारी राम्रोसँग निभाएपछि एक वर्ष स्पोट र साउन्ड म्यानको काम गरेर ०६६ सालमा बल्ल अभिनय गर्न पाएँ ।’
माग्ने बूढाले अभिनयको अवसर दिएर लगाएको गुन उनी चाहेर पनि भुल्न सक्दैनन् । ‘बल्छी धुर्बेको जन्मदाता नै उहाँ हो । लुगा पनि केदार दाइको कल्पना हो,’ उनी थप्छन्, ‘सीताराम दाइ (धुर्मुश)ले स्टेज कार्यक्रममा लैजानुभयो । स्टेजको ज्ञान दिने चाहिँ धुर्मश दाइ हो ।’
सोही कारणमा श्रेष्ठ कलाकारिताको संसार देखाउने जस धुर्मुश र माग्नेबूढा दुवैलाई दिन्छन् । मेरी बास्सैका अर्का पात्र सुरोज चापागाईं ‘बान्द्रे’लाई भने उनी दुःखमा साथ दिने दाइका रुपमा लिन्छन् ।
बल्छीले बान्द्रेलाई सम्झने अर्को विशेष कारण छ, त्यो हो– उनले पहिलो पटक बान्द्रेकै बाइक चढेका थिए । उनी थप्छन्, ‘नयाँ बजारबाट मिडिया हबको अफिसमा हिँड्दै जान्थेँ । त्यहाँबाट बान्द्रे दाइको बाइकमा सुटिङमा जान्थेँ ।’
पैसाको अभाव
‘मेरी बास्सै’मा काम पाएपछि पनि सुरुवाती केही वर्ष आर्थिक पाटो बढो बिजोगसँग बितेको बल्छी चाहेर पनि भुल्न सक्दैनन् । हुन पनि मासिक तलब १२ सय हुँदा उनको कोठा भाडा १६ सय थियो ।
त्यसबेला धेरै काम गरे पनि उनी ‘नेपाल रिडर्स क्लब’मा ‘अफिस बोई’का काम गरेको सायदै भुल्छन् । उनी भन्छन्, ‘राष्ट्रपति भवनको छेउमा अफिस थियो । त्यहाँ पनि मैले आठ महिना काम गरेँ । भुइँ पुछ्ने, ट्वाइलेट सफा गर्ने सबै काम गर्थेँ ।’
काठमाडौंमा टिक्नै मुस्किल भएको अवस्थामा मेरीबास्सैका एक कलाकारले ‘डान्सबार’मा काम लगाइदिँदा युवतीको नग्न नृत्य देखेर एकैरातमा काम छोडेको अनुभव पनि बल्छीसँग छ ।
यद्यपि मेरीबास्सैमा अभिनय गरे पश्चात महोत्सवहरुमा निम्तो आउन लागेपछि आर्थिक पक्ष सुधार हुँदै गएको उनी सम्झन्छन् । तर, पहिलो पटक स्टेज कार्यक्रममा जाँदा भोगेको तितो अनुभव उनले अझै भुलेका छैनन् ।
‘म मेरी बास्सैमा भर्खर गएको थिएँ, चर्चामा आएको थिइनँ । माग्ने बूढाको क्यारिकेचर गर्थेँ । सल्भ नेपाल संस्थाले उपत्यकाका विभिन्न १० स्थानमा प्रस्तुती दिन लगायो । तर पैसाचाहिँ पाँच सय दियो ।’ उनी पहिलो पारिश्रमिक पाएको घटना सुनाउँछन् ।
बिस्तारै मेरी बास्सैले नाम, इज्जत, ज्ञान र पैसा कमाउने बाटो खुलाइदिएकाले जीवन र कलाकारिता अघि बढाउन पाएको बल्छीको बुझाइ छ । उनी थप्छन्, ‘मेरी बास्सैले नै सिकाएकाले अहिले ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरियल ल्याइएको छ । दर्शकबाट राम्रो साथ पाइएको छ ।
‘परिवारले जुठे हेर्दैनन्’ बल्छी मेरीबास्सैमा होस् वा आफ्नै निर्देशन र लेखन रहने अहिलेका दुई सिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ सबैमा उनी गरिब पात्रको भूमिकामा देखिन्छन् ।
निरक्षर भएकाले हल्का रमाइलोको सुटिङमा जाँदा आमाले भनेको कुराले बल्छीलाई अझै पनि भावुक बनाउँछ ।
‘सुटिङमा ममीलाई लगेको थिएँ । अनि बेलुका मलाई एकदमै चित्त दुख्यो कान्छा भन्नुभयो । सबै राम्रा लुगा, श्रृंगार गरेर चिटिक्क छन् मेरो छोरो मात्र झुत्रेझामे्र भएर बसेको छ, सारै चित्त दुख्यो कान्छा भन्नुभयो,’ सुटिङबाट फर्किएपछि आमाले भनेको कुरा उनी सम्झन्छन् ।
अझ जुठेमा जिम्मावालले हेला गरेको देखेर आमाले सो सिरियल नै नहेर्ने उनले सुनाए । ‘मैले आफैँ हेप्न लगाएको, त्यो नाटक हो भन्दा पनि आमा पत्याउनुहुन्नँ । मेरो छोरालाई हेपेको मलाई मन पर्दैन भन्नुहुन्छ,’ उनी थप्छन्, ‘ममी मात्र होइन, जुठे चाहिँ मेरी श्रीमतीले पनि हेर्न सक्दिनन् ।’
जुठे मनदेखि नै लेख्ने भएकाले स्क्रिप्ट लेखनका क्रममा आफ्नो पनि आशु नथामिने बल्छी सुनाउँछन् । ‘जुठे हेर्दा म आफैँ रोएको पत्तो हुँदैन । प्रायःजतो हामीले रोएर गरेको अभिनय साचो हो नै हो । आँशुका लागि अन्य सामग्री प्रयोग गर्दैनौं । सुटिङ हेर्न आउने पनि रोइरहेका हुन्छन् । टिमका अरु पनि रोइरहेका हुन्छन् । आँशु पुछ्दै क्यामेरामेन क्यामेरा चलाइरहेका हुन्छन् ।’ उनी सुटिङका किस्सा सुनाउँछन् ।
आमाप्रति बल्छीको माया कलाकारिताबाट चित्त बुझ्दो कमाइले बल्छी अहिले सन्तुष्ट र आर्थिक प्रगतिउन्मुख छन् । गाडी चढ्ने हैसियत बनाइसकेका बल्छी आर्थिक प्रगतिको अर्को उदाहरण सुनाउँछन्, ‘म जुन अफिसमा सरसफाइको काम गर्थेँ, त्यहाँको मालिक अहिले हाइड्रोसम्बन्धी ठूला व्यवसायी हुन् । म अहिले उहाँको पार्टनर पनि हुँ ।’
नेपालका ५० भन्दा बढी जिल्ला र १६ देश भ्रमण गर्ने अवसर पाएकोमा बल्छी दर्शकहरूप्रति कृतज्ञ छन् । यद्यपि आमाले पहिलो विदेश भ्रमण जाँदा फोनमा भनेको कुरा रोचक छ ।
बल्छी आमासँगको फोन संवाद सम्झन्छन्, ‘सन् २०१६ सालमा दुबई जाने भएँ । फोन गरेर विदेश जाने भएँ भनेको, आमाले साथी कस्ता छन्, बाइकमा जाने होला, राम्रोसँग जाऊ भन्नुभयो ।’
निरक्षर आमाको सन्तानप्रतिको यो मोहले बल्छी भावुक हुन्छन् । आमाप्रतिको घनिष्ट माया र आदर स्वरुप १० वर्षदेखि मोबाइलको ‘वालपेपर’ मा आमाको फोटो नहटाएको बल्छी बताउँछन् ।
उनी थप्छन्, ‘आमाले पढ्नु भएको छैन । नपढे पनि हामीलाई संसार देखाउनुभयो । पढाएर बुझ्ने बनाउनुभयो । यो धरातल हामीले बिर्सनु हुन्न ।’