काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद’ नाम दिएर अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
दुई पटकका पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दलका नेता र साढे तीन दशक चलचित्रमा आवद्ध नायकबीचको सम्वाद बामे सर्दै गरेको चलचित्र क्षेत्रका समस्या र चुनौतीको समाधानमा उन्मुख हुन्छ भन्ने धेरैको आशा थियो ।
अझ बौद्धिक छवि बनाएका राजेशले नीतिगत जटिलताका विषयमा प्रश्न उठाउलान् भन्ने धेरै चलचित्रकर्मीलाई लागेको थियो । सोही कारण संवादमा हमाललाई रोजिएका हुन सक्छन् । तर, दुईबीचको सम्वादमा त्यस्तो भएन ।
दुवैजना कलाबारे आफ्ना विचार सुनाउनमा केन्द्रित रहे । उनीहरुको सम्वाद नेपाली सिनेमा भन्दा पनि समग्र कला के हो भन्ने विषयमा केन्द्रित बन्यो ।
यद्यपि संवादमा राजेशले सुरुवाती दिनमा चलचित्रको क्षेत्रको हविगत र कठिनाइका बारेमा अनुभव सुनाएका थिए ।
ओलीले पनि दर्शक र राजनीतिज्ञका रुपमा सिनेमाका कक्षावस्तुको कमजोर पक्षबारे टिप्पणी गरे । सिनेमामा युवा दर्शक तान्न अनावश्यक फाइट र ग्लामरले स्थान पाउनु नहुनेमा जोड दिए । यस्ता कुरा फिल्ममा समावेश हुँदा कला मर्ने उनको तर्क थियो ।
ओलीले पहिलो पटक सिनेमा र टेलिभिजन हेर्दाको अनुभव पनि सुनाए ।
३६ वर्षमा टेलिभिजन देखें – ओली
विसं २०२० तिर तेह्रथुममा फिल्म हल थिएन । भारततिर गएर फर्किएकाहरुले सिनेमा हेरेको कुरा सुन्थ्यौं । सुनेको थिएँ तर देखेको थिइनँ । पछि मलाई पनि यी कुरा सुनेर रेल र फिल्म हेर्न मन लाग्यो ।
रेल गलगलिया गएर हेरेँ । त्यसबेला झापामै दुई सिनेमा हल बनेका थिए, भद्रपुर शनिश्चरेमा । एउटामा आमा र अर्कोमा माइतीघर भन्ने फिल्म हेरेँको थिएँ । यी सुरुकै फिल्मचाहिँ मैले हेर्न पाएँ । ती फिल्मका नायक –नायिक मेरा दाइ–दिदी नै थिएँ ।
टेलिभिजनको कुरा चाहिँ ०४२ सालमा नेपालमा टेलिभिजन सुरु भयो । म ०४४ सालमा जेलबाट छुटेपछि हरेँ । उमेर ३६ वर्षको थियो ।