समाचार

झन्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक : राष्ट्रपति

By खबरहब

April 15, 2024

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले झन्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले झन्झटिलो प्रशासनिक सेवालाई सहज र सरल बनाउँदै भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए। 

उनले समृद्ध र समुन्नत म्याग्दे बनाउने योजनालाई जनप्रतिनिधि, कर्मचारी र गाउँवासीले सहकार्य गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे। संवैधानिक व्यवस्थाअनुसार स्थापित गणतान्त्रिक नेपालको महत्वपूर्ण आधार संरचना स्थानीय तह भएकाले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ दृढ रहन उनले आग्रह गरे।

विगतमा सिहंदरबारमा केन्द्रिकृत शासन व्यवस्थालाई घरदैलोमा नै ल्याएर सेवा सुविधा दिने स्थानीय तह शासन प्रणालीको बलियो आधार भएको उनको भनाइ थियो । 

उनले स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी भए त्यति स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुने र त्यति नै हाम्रो शासन व्यवस्थाले परिकल्पना गरेको लक्ष्य साकार हुने बताए। उनले कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै विस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गरे। 

राष्ट्रपति पौडेलले पर्याप्त र सक्षम जनशक्ति विकास गरी सेवालाई छिटो बनाउन गाउँपालिकाका सबै सरोकारवाला दत्तचित्त लाग्नेमा आफू विश्वस्त रहेको बताए । गाउँपालिकाका उर्वर भूमि, खोलानाला, पाखापखेराले यसको प्राकृतिक रमणीयलाई मुखरित गरेको बताउँदै गण्डकी प्रदेशको केन्द्र पर्यटकीय राजधानीको नजिकै रहेको म्याग्दे गाउँपालिकामा आउन पाउनु आफ्ना लागि अहोभाग्य ठानेको उनले उल्लेख गरे।  अकला र किल्चोक जस्ता धार्मिक स्थलले यहाँको धार्मिक महिमा बढाएको उनको भनाइ थियो । 

उनले बन्दै गरेको सेती जलाशय परियोजना, अबको योजनामा रहेको तल्लो सेती हाइड्रो, स्तरोन्नति हुँदै गरेको पृथ्वीराजमार्गलगायतका पूर्वाधारले विस्तारै सबैतिरबाट सुविधा थपिदै गएको र गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याए ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको महत्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पूरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै उनले विगतमा सिंहदरबारमा केन्द्रिकृत शासनप्रणालीलाई विकेन्द्रित गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढङ्गले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको स्पष्ट गरे। 

श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताउँदै उनले कृषि र पर्यटनबाटै यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोल्नेमा विश्वस्त रहेको चर्चा गरे। संविधानको भावना र संघीयताको मर्मअनुरूप विकासका कामलाई नतिजामुखी बनाउनुपर्ने राष्ट्रपति पौडेलले जोड दिए। 

सो अवसरमा राष्ट्रपति पौडेलले भवन निर्माणका लागि जग्गा दान दिने दाताहरूलाई सम्मान गरेका थिए । छ करोडको लागतमा गाउँपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण गरिएको हो । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह शुभारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

उक्त भवन निर्माणको काम विसं २०७७ असोजबाट सुरु भएको थियो । दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएपनि विविध कारणवश काममा ढिलाइ भएको उनको भनाइ छ ।