समाचार

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

By खबरहब

April 15, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । डाँगीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको उनले बताए ।

डाँगीको निधनमा शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने निर्णयसमेत गरिएको छ ।  

चैत २७ गतेको प्रदर्शनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट उनी घाइते भएका थिए । अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।