समाचार

पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निर्णय

By खबरहब

June 15, 2024

विराटनगर– कोशी  प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्री परिषदको बैठकले पहिरो पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो ।

यस्तै मन्त्री परिषदको बैठकले असार २ गते धिमाल जातिका लागि बिदा दिने निर्णय गरेको छ । धिमाल जातिको प्रमुख पर्व जातिरी र सिरिजातको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिालबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१-०८२–२०८५-०८६ ) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ।

अधिकारीले प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१-०८२ का् बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।