अन्तर्राष्ट्रिय

विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न भारत प्रतिबद्ध

By खबरहब

June 15, 2024

काठमाडौँ– भारतले विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । 

संयुक्त राष्ट्रसघमा आयोजित सम्मेलनमा बोल्दै राष्ट्रसंघको लागि भारतीय सहायक स्थायी प्रतिनिधि योजना पटेलले विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएकी हुन् ।

उनले पारवहनका लागि भारतमा निर्भर रहेका भूपरिवेष्ठित मुलुकहरू भुटान र नेपाललाई सहयोग गर्न आर्थिक सहकार्य र पारवहन कनेक्टिभिटीलाई थप मजबुत बनाउने समेत उल्लेख गरिन् । 

भारतले पारस्परिक विकासका लागि थालिएको ‘बंगलादेश, भुटान, भारत नेपाल (बीबीआईएन)’ पहलअन्तर्गत यसमा आबद्ध मुलुकहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलामा थप पहुँच दिलाउन पनि भारत तत्पर रहेको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले विकासशील भूपरिवेष्ठित मुलुकहरूको आगामी सम्मेलनका लागि भारतले ३ लाख डलर सहयोग गर्ने पनि घोषणा गरेकी छन् ।