समाचार

रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका

By खबरहब

June 15, 2024

रौतहट। रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा शनिबार एक जना युवकको शव फेला परेको छ ।

गौरनगरपालिका–४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय रोहित सहनीको शव भेटिएको हो ।

घरबाट शौच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।

गिरीका अनुसार मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह देखिएको छैन । मृतकको साथबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो बस्तु बरामद भएको प्रहरीले जनाएको छ।

मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छन् ।

उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन्।