आफ्नो पार्टीसंग सत्ता र शक्तिको ‘जादू’ रहेको भन्दै आफू नेतृत्वको सरकारले पुरै अवधि शासन गर्ने बताएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनपेक्षित शैलीमा सरकारबाट बाहिरिएका छन् । सत्ताका लागि जस्तोसुकै दाउपेच गर्ने भनी आलोचना खेपेका प्रचण्डमाथिको यो धक्का सिंगो पार्टी पंक्तिका लागि चुनौतीपूर्ण हुने विश्लेषण गर्न थालिएको छ । पार्टी नेतृत्व सत्ता केन्द्रित हुँदा संगठन खुम्चिएको, पार्टी कार्यकर्ता सुविधा भोगी हुँदै गएका, चुनावमा अरु पार्टीसंगको एकताले पार्टीको सांगठनिक र वैचारिक धरातल खस्किएको विश्लेषण स्वयं माओवादी नेताहरुले गर्ने गरेका छन् । अबको माओवादी रोडम्याप के हो ? नेतृत्वप्रतिको दृष्टिकोण कस्तो रहन्छ ? माओवादीकै नेताहरू कहिले कांग्रेस, कहिले एमालेको गोटी किन भए ? यिनै विषयमा जोडिएर नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शाहीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईँहरूले सुरुवातीमा विश्वास गर्नुभएको राजनीतिक शक्तिले नै विश्वासघात गर्नुपर्ने परिस्थिति कसरी विकसित भयो ?
यसको एउटा कारण त नेपालको भू–राजनीतिकरण हो । जसले गर्दा राजनीतिक स्थायित्व कायम हुन सकेन । धेरै शक्ति राष्ट्रहरूले चलखेल गर्ने, रातारात परिस्थिति बदलिने स्थिति बन्यो । अर्कोतर्फ नेताहरूलाई चाहिएको सत्ता नै हो । सत्ताभन्दा बाहिर कोही एक छिन अडिन नसक्ने र सत्तामा पुग्नको लागि जे पनि गर्न सक्ने स्थिति सिर्जना भएको छ ।
अर्को कारण भनेको केही शक्तिकेन्द्रहरूले अहिलेको व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, समावेशी सहभागितालाई रुचाएका छैनन् । यिनको संविधान निर्माणदेखि कार्यान्वयनसम्म आइपुग्दा अवरोध सिर्जना गर्ने नियत छ । र यो व्यवस्था परिवर्तन गरेर प्रतिगमन तिर लैजान चाहन्छन् । यही कारण अहिलेको गठबन्धन तलमाथि भयो ।
पहिला गरेको सात बुँदे समझदारीबाट नेकपा एमाले किन बिच्कियो ?
हामीले संविधान निर्माणपछि धेरै ठूलो चुनौतीको सामना गर्नु पर्यो । दुई वटा संविधान सभाले मात्रै यो संविधानलाई कार्यान्वयन गर्न सके । नेपालमा राजनीतिक ध्रुवीकरणको आवश्यकता चाहिँ छ । त्यसो हुँदा वामपन्थी शक्तिहरूको एउटा र लोकतान्त्रिक व्यवस्था चाहने शक्तिहरू दुई ध्रुवमा खडा भएर राजनीति अगाडि बढाउँदा यो अवस्थाको केही अन्त्य गर्न सकिन्थ्यो । कमसेकम ५ वर्ष एकल शासन चलायो भने मात्रै यो देशमा विकास, आर्थिक संवृद्धि, सामाजिक न्याय सहित जनचाहना पुरा गर्न सकिन्छ । फास्टट्रयाकमा त्यसलाई पुरा गर्न सक्छौँ भनेर हामीले ध्रुवीकरणको एजेण्डा उठायौँ ।
संविधान कार्यान्वयन गर्ने प्रारम्भिक चरणमा नेकपा पनि बन्यो तर त्यो टिकाउन सकिएन । पछिल्लो चुनावमा नतिजा आइसकेपछि कांग्रेस संसदको ठूलो पार्टी नै बन्यो । र उभित्र ठूलो पार्टी हो भनेर अहंकार पलायो । फलस्वरुप तेस्रो ३२ सिट भएको माओवादीलाई किन प्रधानमन्त्री दिने, आफ्नै सरकार बनाएर काम गर्नुपर्छ भन्ने सोचले काम गर्यो । र कांग्रेससँगको विश्वास पनि टुट्यो र पछि फेरि एमालेले हामी एक हौँ भनेर एक भएका थियौँ ।
०६४ साल पछि १३ वटा सरकार बनेछन् । तीन वटा बाहेक १० वटा सरकारमा निरन्तर सहभागी हुनुहुन्छ । सरकारमा बाक्लै सहभागी हुँदा शान्ति प्रक्रियाका मूलभूत एजेण्डामा संवेदनशील हुनुभएन । आफू उभिएको जमिन बिर्सिएको जस्तो लाग्दैन ?
राष्ट्रियता र जनताको पक्षमा दरोसंग उभिने पार्टी हो माओवादी । माओवादीकै कारण समाजका विभेद अन्त्य भएका छन् । मुलुकले नयाँ व्यवस्था पाएको छ । त्यसो हुँदा अहिले माओवादी पार्टीबाट बाह्य शक्तिहरूले पनि बढी खतरा देखे । आन्तरिक शक्ति कांग्रेस र एमाले पनि माओवादीबाटै त्रसित भए । माओवादी विरोधी शक्तिहरूले घेराबन्दी गरेकै कारण उसले गरेका राम्रा काम ओझेलमा परे । बरु माओवादी राक्षस नै हो भनेर जनतामा भ्रम फैल्याउन माओवादी विरोधीहरू सफल भए । आफूले गरेका काम जनतामा स्थापित गर्न नसक्नु हाम्रो पनि गम्भीर कमजोरी भयो । जनताको चाहना विकास र रोजगारी हो । शान्ति प्रक्रिया र सत्य निरूपणको काम माओवादीको पालामा नै पुरा होस् भन्ने पनि जनताको चाहना हो । यो हामीले शतप्रतिशत गर्न नसक्दा पार्टीप्रति जनतामा यसले पनि गर्न सकेन भन्ने छाप पर्यो। पटक पटक सरकारको नेतृत्व हामीले गर्यौँ । तर हाम्रो एकल बहुमतको सरकार बनेन । गठबन्धनको सरकार बन्यो । त्यहाँ रहेका दलहरूले ब्रेक लगाएर काम गर्न दिएनन् । हाम्रो मात्रै मतले टिआरसी विधेयक पास हुँदैन ।
घेराबन्दीको कटु अनुभव हुँदाहुँदै सत्ताको अंकगणितमा सधैं खेल्न रुचि राख्नुपर्ने कारण के हो ? प्रतिपक्षमा बसेर जनमतको कदर गर्न सकिँदैनथ्यो र ?
हामी लगातार सत्तामा मात्रै छैनौँ । प्रतिपक्ष भएर पनि जनताको एजेन्डा पुरा गरेका छौँ । संविधान निर्माणको बेला पनि प्रमुख प्रतिपक्ष भएर ३२ दलसहितको नेतृत्व गरेर सत्ता बाहिर बस्यौँ ।
हामी सरकार बाहिर बस्दा कांग्रेस, एमालेले सरकार त बनाउलान् तर भोलिको खतरा के हो भनेर जनताले बुझ्नु पर्छ । अहिले पनि संविधान संशोधनको विषयमा आएर सहमति भयो । भोलि संघीयता र समावेशीको अन्त्य गर्ने जस्ता विषयहरू आउलान् । यो संविधान माथिको प्रहार भयो । त्यसैले संघीयताको रक्षा गर्न भए पनि हामी सरकारमा जान आवश्यक÷अनिवार्य छ । नत्र प्रतिपक्षमा बसेर जनतालाई तागत दिएर सडकमा उतारेर मात्रै जनताका विरुद्ध हुने निर्णय सत्ता, सदन र सडकबाट मात्रै रोक्न सक्छौँ ।
एकातिर सडकमा बसेर नारा लगाउने अर्कातिर सरकारमा बसेर खबरदारी गर्ने भन्ने तपाईँहरूको द्वैध चरित्र त एमसीसीमा नराम्ररी देखियो । भरोसायोग्य गतिविधि गर्न नसक्दा जनताको आड भरोसा टुटेको किन स्विकार्नुहुन्न ?
एमसीसीको सम्झौतामा जे प्रावधान राखिएका थिए, त्यसमा संशोधन भन्यौँ । यो यो यो विषय हटाउने भनेर स्वीकृति भयो । उनीहरूले गरेको मस्यौदा शतप्रतिशत त स्विकारिएको छैन । यो विषयमा सरकारमा सामेल भएका सबै दलसँग सहमति भएर नै गरेका छौँ । पहिला देखीका अन्य सबै सन्धि सम्झौता खारेज गराउन त माओवादीलाई बहुमत दिएर सत्तामा पुर्याउनु पर्छ ।
तीन पटक प्रधानमन्त्री हुँदा प्रचण्ड दर्जन चोटि भारत भ्रमणमा जानुभयो । अरु त कुरै छोडौं न इपीजीको एउटा प्रतिवेदन ‘स्वीकार गर नत्र सार्वजनिक गर्छौं’ भन्ने हिम्मत देखाउन सक्नु भएन । सन्धि सम्झौता खारेजीका एजेन्डा कुन तागतले खारेज हुन्छ ?
एकल सरकार हाम्रो होइन । गठबन्धनमा सरकार बनाइरहेका हुँदा गठबन्धनमा सल्लाह गरेर छलफल गरेर सहमतिको आधारमा मात्रै प्रधानमन्त्रीले बोल्ने सन्धि सम्झौता गर्ने हो । कि त हामी बाहिरिनु पर्यो कि दुई तिहाइ बहुमत हाम्रो हुनु पर्यो । अनि मात्रै सन्धि सम्झौता कार्यान्वयन गर्न सक्छौँ । अरुको सहारामा सरकार चलाउनु परेको स्थितिमा यी विषय कार्यान्वयनमा जटिलता आएको हो ।
आन्तरिक रूपमा शल्यक्रिया गरेर आचरण र कार्यशैलीमा सुधार गरेर जानुपर्छ भन्ने आवाज तपाईँहरूकै पार्टीमा उठेको छ । त्यसको सुरुवात कसरी होला ?
माओवादीमा तत्काल विभाजनको सम्भावना छैन । पार्टी पूर्ण एकताबद्ध छ । पार्टीमा केही मत भने छन् । ती मत बारे पार्टी भित्रै छलफल गरेर निरूपण गर्नुपर्छ । माओवादी पहिलो संविधान सभामा आउँदा पहिलो भएको पार्टी यति ठूलो मत भएको पार्टी अहिले एकाएक यो ठाउँमा किन आयो ? भन्ने प्रश्न आम रूपमा उठेको छ । यसको गहिरो समीक्षा हुन जरुरी छ । यसको लागि हामीले विशेष महाधिवेशन गरेर व्यापक छलफल बहस सहित पार्टीलाई नयाँ ढंगबाट अघि बढाउँछौँ । अब देश विकासको नयाँ मोडल, समृद्धिको मोडल र स्रोत साधनका विषयमा छलफल हुन्छ । हामीले अब मूल नेतृत्व हुनुको नाताले नेतृत्व आफूतिर फर्किनु प¥यो । किन दिन प्रतिदिन मलाई छोड्दै गइरहेका छन् ? हिजोको बलियो मान्छे अहिले कमजोर भएँ भन्ने कुराको आत्मसमीक्षा हुनुपर्छ । त्यसपछि पार्टीमा पुनर्जागरण आउँछ र फेरि शक्तिशाली बन्छ ।