आर्थिक

अर्थमन्त्रीले भने- सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेको छु

By खबरहब

July 15, 2024

काठमाडौं- नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताएका छन् ।

सोमबार उपप्रधानसहित अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा सिंहदरबारमा पौडेलले यस्तो बताएका हुन् ।

पौडेल अर्थमन्त्री हुने चर्चाबीच पछिल्ला दिन सेयर बजार बढिरहेको छ । यस्तोमा उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर अघि बढ्ने बताएका हुन् ।

उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन् । पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने पनि बताए ।

यसैबीच पौडेलले सार्वजनिक (विकास) वित्तका नयाँ विकल्प खोज्नका लागि अध्ययन गर्न समिति नै बनाउने पहिलो निर्णय गरेका छन् ।

‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन्, सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ,’ पौडेलले भने, ‘अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रुपमा अघि बढ्छ। त्यसैले मैले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’

पौडेल यससहित ८ पटक मन्त्री भइसकेका छन् । उनी पाँचौँ पटक अर्थ मन्त्री बनेका हुन् ।

उनी पहिलो पटक २०७२ कात्तिक, दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ र चौथो पटक २०७९ पुसमा अर्थमन्त्री भएका थिए ।