राजनीति

ओली क्याबिनेटमा जसले पाए पहिलो पटक मौका

By ज्ञानु घिमिरे

July 15, 2024

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारमा नौ जनाले पहिलो पटक अवसर पाएका छन् ।

ओलीले तेस्रो कार्यकाल सरकारको नेतृत्व लिँदै गर्दा बनाइएका १२ मन्त्रीमा नौजना नयाँ अनुहार हुन् ।

पहिलो पटक मन्त्री बनेका नौजना नयाँ मन्त्रीहरूसामु आफूलाई जनतामाझ खरो उतार्नुपर्ने चुनौती आएको छ ।

यस पटक असार १७ गते राति बनेको नयाँ गठबन्धनबाट नेकपा एमालेले ४ र नेपाली कांग्रेसले ५ जनालाई पहिलो पटक मन्त्रिपरिषद्‍मा समेटेको छ ।

विद्या भट्टराई, शिक्षामन्त्री

भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् । पति एवम् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि २०७६ भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनले प्रतिनिधिसभाको यात्रा तय गरिन् ।

२०४६ देखि विद्यार्थी राजनीति थालेकी उनी अनेरास्ववियु महिला विभाग प्रमुख हुँदै केन्द्रीय सचिवसमेत भइन्।

त्यसपछि एमाले काठमाडौँ जिल्ला सदस्य र एमाले उपत्यका महिला कमिटी सचिवसमेत बनिसकेकी छन् ।

राजनीतिमा आउनुअघि उनी प्राध्यापनमा थिइन् । उनीसँग शिक्षक र विद्यार्थीसँग प्रत्यक्ष जोडिएर काम गरेको अनुभव छ । त्यहीकारण शिक्षा मन्त्रालयको जिम्मेवारी पाएकोमा उनी खुसी छन् ।

उनले खबरहबलाई भनिन, ‘मैले मेरो क्षमता र विज्ञता अनुसारको मन्त्रालय पाएँ। यसलाई सदुपयोग गर्छु ।’

दुई पटक प्रतिनिधिसभामा आइसकेकी भट्टराईलाई एमालेले पहिलो पटक मन्त्री बनाएको हो । दु:खद् संयोग तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधनपछि उनका लागि दोस्रो पटक राजनीतिको ढोका खुलेको हो ।

मानवीर राई, रक्षामन्त्री

नेकपा एमालेमा अवसर नपाउने इमानदार नेताका रूपमा चिनिने मानवीर राई सोलुखुम्बुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् ।

उनले २०७९ सालको निर्वाचनमा कांग्रेसका चर्चित नेता बलबहादुर केसीको गढ भत्काउँद‌ै संसद् यात्रा तय गरेका हुन् ।

उनले तीन पटक मन्त्री भइसकेका सत्ता गठबन्धनका उम्मेदवार केसीलाई हराएकाले चर्चित बनेका थिए ।

उनी पहिलो पटक मन्त्री भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई अवसर दिएकोमा सोलुखुम्बुका एमाले नेता कार्यकर्ता खुसी छन् ।

राजकुमार गुप्ता, संघीय मामिला मन्त्री

२०७९ मंसिरको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट विजयी भएका नेकपा एमालेका सांसद हुन् राजकुमार गुप्ता । उनले २०७४ मा चुनाव हारेका थिए । उनी राजनीतिसँगै व्यापारमा संलग्न थिए ।

चितवनमा भएको एमालेको १० औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी २०६६ मा पर्सा क्षेत्र नं. ३ को एमाले अध्यक्ष पनि बनेका थिए ।

त्यसभन्दा पहिले लोकतान्त्रिक मधेसी संगठनको केन्द्रीय महासचिव भइसकेका थिए । उनी २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुँदा २०७४ मा पराजित भए । उनले पनि पहिलो पटक मन्त्रीका रुपमा आफूलाई निखार्ने मौका पाएका छन् ।

देवेन्द्र दाहाल, भौतिक पूर्वाधार मन्त्री

नेकपा एमालेबाट मन्त्री भएकामा देवेन्द्र दाहाल राष्ट्रियसभामा प्रतिनिधित्व गर्छन् । झापाका उनी एमाले अध्यक्ष ओलीका विश्वासिला पात्र हुन् । उनी राष्ट्रियसभामा एमाले संसदीय दलको नेता थिए । ओलीले पत्याउने भित्रियामध्ये एकजना दाहाल पनि हुन् ।

योगेश भट्टराईको नाम काटिएपछि दाहालले मन्त्री बन्न पाएका हुन् । उनी पहिलो पटक मन्त्री बनेका हुन् । उनले चुनौतीपूर्ण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई कसरी हाँक्छन्, प्रतीक्षाको विषय बनेको छ ।

डा. आरजु राणा, परराष्ट्र

नेपाली कांग्रेसबाट समानुपातिक सांसद् रहेकी डा. आरजु राणा पहिलो पटक मन्त्री भएकी हुन् । हुन त उनी पति शेरबहादुर देउवाका कारण सधैँ शक्तिमा थिइन् ।

तर पाँच पटकसम्म प्रधानमन्त्री भएका कांग्रेस सभापति देउवा पत्नी उनी आफैं कार्यकारी अधिकारसहितको शक्तिमा पुगेकी हुन् । आरजु देउवाकै इच्छामा परराष्टमन्त्री भएकी हुन् । तर उनलाई विभिन्न विवादमा मुछेर आलोचना हुने गरेको छ ।

वि.सं. २०५३ देखि राजनीति थालेकी आरजु संविधान सभा सदस्य हुँदै संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समिति अध्यक्ष भइसकेकी छन् ।

परराष्ट्र मामिलामा जानकार तथा पढेलेखेकी महिलाको सूचीमा पर्ने राणा हाल कृषि समितिको सभापति छिन् । उनलाई मन्त्री बनाइएकोमा कांग्रेस केही नेताहरूले असन्तुष्टि पोखेका छन् ।

प्रदीप पौडेल, स्वास्थ्य मन्त्री

कांग्रेसमा गतिशील युवा नेताको छवि बनाएका प्रदीप पौडेल पहिलो पटक मन्त्री बनेका हुन् । उनी कांग्रेसमा डा. शेखर कोइराला-गगन थापा समूहबाट मन्त्री बनेका हुन् ।

हाल उनी कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हुन्। उनले नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका हुन् ।

प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनले काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका थिए ।

त्यहाँबाट उनको राजनीतिक उचाइ अझै बढेको थियो । उनी सन् १९९६ मा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षसमेत भएका थिए । २००७ देखि सन् २०१२ सम्म नेपाल विद्यार्थी संघको अध्यक्षसमेत भएका थिए ।

उनी ०७४ मा उनी तनहुँ क्षेत्र नम्बर २ को (क) बाट गण्डकी प्रदेश सभाका प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।

उनी त्यसबेला नेकपा एमालेका आशा कोइरालासँग ५ मतले हारेका थिए । उनले आफूलाई पार्टी र जनताले दिएको जिम्मेवारी पूरा गरेर देखाउने बताए ।

उनले खबरहबसँग भने, ‘म आफ्नो जिम्मेवारीअनुसार परिणाम आउने काम गरेर देखाउँछु । स्वास्थ्य क्षेत्रका जटिलता र नागरिकलाई प्रभावकारी सेवा दिन मेरो कार्यकाल महत्त्वपूर्ण रहन्छ ।’

बद्री पाण्डे, पर्यटन मन्त्री

नेपाली कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका हुन् । उनी पूर्वपत्रकारसमेत हुन् । ०४८ सालको संसदीय निर्वाचनमा उनले अग्रमोर्चामा रहेर युवाको प्रतिनिधित्व गरे ।

पाण्डे ०४९ सालमा नेविसंघको बाजुरा अध्यक्ष भए । क्याम्पसमा पनि सचिव, अध्यक्ष र स्ववियु सभापति बनेका उनले जिल्ला र क्यापसको राजनीति एकसाथ गरे ।

नेविसंघ केन्द्रीय समिति कार्यवाहक अध्यक्ष, महामन्त्री र उपाध्यक्ष पनि भए । विद्यार्थी राजनीतिबाट आएका पाण्डेले कांग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने मैका पाए । त्यसपछि उनको राजनीति जीवनले उचाइ लियो ।

उनी पार्टीको १४ औँ महाधिवेशनबाट कांग्रेस सह-महामन्त्रीमा निर्वाचित भए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै ०७९ को निर्वाचनमा बाजुराबाट निर्वाचित भएर पहिलो पटक उनी मन्त्री भए ।

भूगोलअनुरूप देशलाई चिलाउनुपर्ने आवश्यकता भएको बताउँदै पाण्डेले खबरहबसँग भने, ‘नेपाललाई पर्यटकको हब बनाउन र सम्भावनामा उचित व्यवस्थापन गर्न मेरो काम रहन्छ ।’

ऐनबहादुर शाही, वन मन्त्री

मुगुबाट प्रतिनिधि सभा ०७९ मा विजयी कांग्रेसका ऐनबहादुर शाही हिमाली जिल्लालाई जलवायु परिवर्तनले पारेको असरबारे दख्खल राख्ने नेता हुन् । उनी ती एजेन्डा संसद्मा पनि राख्छन् । २०७९ मा पहिलो पटक संसद्‍मा आएका उनी पहिलो पटकमै मन्त्री पनि भए ।

उनी कांग्रेसमा बालकृष्ण खाणनिकट मानिन्छन् । मुगुको विकास र प्रविधि विस्तारका लागि प्रतिनिधि सभामा उनी खरो शैलीमा कुरा राख्छन् । हिमाली जिल्लामा विकास पूर्वाधार लैजान र वन तथा वातावरणको विषयमा उनले राम्रो अध्ययन गरेर बोल्छन् ।

रामनाथ अधिकारी, कृषि मन्त्री

पुराना कांग्रेस नेता रामनाथ अधिकारी पहिलो पटक मन्त्री बनेका हुन् । ०७९ को निर्वाचनमा अधिकारी सत्ता गठबन्धनको तर्फबाट धादिङ निर्वाचन क्षेत्र नं २ बाट विजयी भएका हुन् ।

उनी कांग्रेस धादिङ जिल्ला सभापति हुन् । तीन दशकभन्दा लामो समयदेखि कांग्रेसमा सक्रिय अधिकारी इमानदार र निष्ठावान् नेता मानिन्छन् ।

उनी राजनीति यात्राका क्रममा जेलनेल भोगेका नेता पनि हुन् । २०५६ सालमा उनी पहिलो पटक सांसद् बने पनि मन्त्री बन्न सकेनन् । उनी पाँच कार्यकालसम्म कांग्रेस धादिङको सभापति भए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचन र २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भए । जनताका समस्या सम्बोधन गर्न आफू मन्त्री भएको उनी बताउँछन् । कृषि र पशुपालनमा देखिएका चुनौती समयमै समाधान गर्ने उनको योजना छ ।