विचार

अब हारेर जित्नुस केपी बा !

By संकेत कोइराला

July 15, 2024

श्री ३ महाराज चन्द्रशमशेरका पालाका सिपाही रामबहादुरको सुन्दर जुँगा देखेर महाराजले सोधेछन– ‘जुँगा किन पालेको तैले ?’ रामबहादुरले जवाफ दिएछ–‘सरकार, गरिबको गहना भनेकै जुँगा हो ।’रामबहादुरको प्रष्ट अभिव्यक्तिबाट उनी प्रभावित भएछन् । महाराजबाट तत्काल हुकुम भएछ–‘रामबहादुरलाई हवलदार बनाइदिनू ।’

जुँगााको प्रतापले रामबहादुर हवल्दार भएको हल्ला सिपाहीहरू माझ आगोसरि  फैलिएछ । हवल्दार बन्ने लोभमा सबै सिपाहीले जुँगा पाल्न थालेछन । सिपाहीको पल्टनले नै जुँगा पालेको देखेर महाराजलाई अनौठो लागेछ, अनि सोधेछन– ‘तिमीहरु सबैले जुँगा पाल्नुको कारण के हो ?’  सिपाहीहरुले रामबहादुरको उही डाईलग सामुहिक रुपमा दोहोर्‍याउँदै भनेछन–‘महाराज, गरिबको गहना भनेकै जुँगा हो ।’ महाराजले तत्काल हुकुम दिएछन–‘यी सबैका जुँगा तातोपानी लाएर उखेल्नू ।’

नेपालमा शक्ति र सत्ताको मनोविज्ञान बुझ्न यो सानो संवाद काफी छ । केपी ओली मंगलधूनका साथ चौथो पटक मुलुकको हेडसर हुनुभएको छ । यो साईतमा अमंगल वाच्य उच्चारण गर्नु मनासिब होइन । यद्यपि तीन करोड जनताको मेनेजर भएका नाताले यो अवसर अरु बद्ल्ने कम, आफू बद्लिने ज्यादाका रुपमा उपयोग हुन सकोस भन्ने अपेक्षा पक्कै हो । 

 चौथो प्रधानमन्त्री काल ओलीका लागि सबैको ‘बा’ बन्न सक्ने अवसर हो । समयले दिएको यो अपूर्व समय अर्कोपल्ट आउँदैन । भगवान श्रीरामलाई राज्यारोहणका दिन बनबास जुरेको थियो, तर तपाईंलाई सत्ता जुरेको छ ।  पूर्वप्रधानमन्त्रीको हैसियत बनाउन चारपटक प्रधानमन्त्री बन्नु पर्दैन । सिंहदरबारमा फोटो झुण्डयाउने मोहको पनि अब कुनै अर्थ रहेन । जब त्यो फोटोको चिनारी नै समाजमा गुमिसक्छ भने त्यो फोटो निस्प्राण कोलाज हुनपुग्छ । आफ्नो माइनस प्वाइन्ट बुझ्नु नै जीवनको सर्वाधिक ठूलो प्लस प्वाइन्ट हो । सम्पत्तिको उत्तराधिकारी जोकोही हलान तर कर्मको उत्तराधिकारी तपाईं स्वयं हो ।

शास्त्रले भन्छ, राज्य चलाउने राजाले निद्रामा चेत गुमाउनु हुँदैन । तपाईंले राजनीति, कुटनीति, संस्कृति, इतिहास, समाजशास्त्र, अर्थशास्त्र सबै बुझ्नु भएको छ । धेरैलाई थाहा छ– तपाईं बढीमा तीन घण्टा निदाउनुहुन्छ । रुचिका मान्छेहरू मध्यरात भेटनुहुन्छ । अरु सुतेका बेला तपाईंको सचिवालय अझ सक्रिय हुन्छ ।

अनुचरहरु तपाईंलाई रुचि लाग्ने विषयमा सोडा थपेर सुनाउन लाइन लाग्छन् । कमजोरीमा खेल्नेहरू कानमा सुसाउँछन् । सरकारको पाँच वर्षे करार अवधि सकिन लागेका उच्च प्रशासकहरू आफ्नो यात्रा शुभ बनाउन अब भरेदेखि नै आरतीमा हाजिर हुने छन् । सेना र पुलिसका उच्च अधिकारीहरू बुट टल्काएर बेडरुमसम्म पस्ने छन् ।

राजसी सम्बोधन गरेर सगुनको फूलसँगै स्वार्थका झुसिलकिरा ह्वारह्वारी पस्ने छन् । स्वकीयलाई आईफोन टक्र्याएर नूनदेखि सुनसम्म मेसो मिलाउनेहरूको भीडभाड बाक्लिने छ । स्वार्थसमूहको दबदबा यति बढ्ने छ कि तपाईंले औषधि खाने समयको हेक्का पाउनु हुने छैन । उस्तै देखिने मिस्री र फिटकिरीको भेद खुट्याउन सक्नु भएन भने त्यसको दुष्परिणाम देशले भोग्ने छ । 

राजनीति र उमेरको उत्तरार्द्धको यो समयमा जतिसक्दो धेरै हार्ने प्रयास गर्नुस् । उमेर, अनुभवले तपाईं जति हार्नुभयो मुलुकले उति जित्छ । आफू हारेर अरु जिताउने अभियानबाट मुक्ति, मोक्ष दुवै प्राप्त हुन्छ । त्यसमाथि असली ‘बा’ले सन्तानसंग जति हार्न सक्यो त्यति गौरव गर्छन । दैनिक जीवनमा पनि हेरौं न छोराले कहिल्यै बा कुरेनन तर बा मरेर पनि छोरा कुरिरहेका छन । यदि इच्छाशक्ति हुने हो भने दलालहरुको साम्राज्य छिमल्ने साहस, सामथ्र्य र अनुभव भएको तपाईं उपयुक्त पात्र हो । 

 चाणक्य नीतिले भनेको छ- ‘जहाँ न्याय र कानुनी व्यवस्थाको अभाव छ, त्यो देश विस्तारै विस्तारै नष्ट हुन्छ । आफ्नो देशसँग द्रोह गरेर अर्को देशसँग मिल्ने व्यक्तिको सर्वनाश अवश्यम्भावी छ ।’ यदि मानिसको नियत सही छ भने गलत बाटोले असल गन्तव्यमा पु¥याउँछ । 

आफू वरपर घुम्ने सुकिला मुकिला हैन, दुखको टालो सिउँदासिउँदै सियो हराएका दुखी नेपालीको असली बा बन्नुस् । काख हराएका बालकको बा बन्नुस् । त्रिशुलीले निलेको बससंगै अस्ताएका स्वजनको बाँच्ने लौरो बन्नुस । पैसा नहुँदा अस्पताल पुगेर मर्नुपर्ने, पुलिस र न्यायालयको आँगन पुगेपछि न्याय हराउने प्रवृत्ति विरुद्ध शङ्खघोष गर्ने कृष्ण बन्नुस् ।

मुलुकको शान्ति सुरक्षामा अरु केही गर्नु परेन, नेपाल यातायातको गाडी चढ्दा यात्रुले खल्ती चोरिएर जोगी हुनुपर्ने अवस्थाको अन्त्य गरिदिनुस् । राजनीतिलाई जागिरबाट निरपेक्ष राख्ने अभियानको पहिलो पाइला बन्दिनस् । राजश्व तिर्न घुस ख्वाउने परम्परा विरुद्ध बोलिदिनुस् । लेखापरीक्षणका नाममा सरकारी कर्मचारीले सरकारी कर्मचारीलाई घुस ख्वाउने प्रवृत्ति विरुद्ध खबरदारी लाइदिनुस् । 

 समग्रमा देश हुन नसकेको देशलाई आफैं पद्धतिमा बाँधिएर लयमा हिँडाउने प्रयत्न गरिदिनुस् । दलालतन्त्रका कारण धर्मशालाजस्ता बनेका सिंहदरबारका मन्त्रालयलाई प्राण दिनुस् । कार्यालय समय र कार्यालयमा निर्णय गर्ने चरित्रको पुनरागमन गरिदिनुभयो भने मुलुकले ठूलो गुन मान्ने छ । राजनीति राजनीतिज्ञका लागि मात्र सहज बन्यो भने अरु स्वत कर्मका पुजारी हुने छन् । राजनीतिको रंग लागेर नेताभन्दा शक्तिशाली बनेका अरु पेशाका मानिसलाई आफ्नै काम कर्तव्यको दायरा बाँध्ने वातावरण बनाइदिनुस् । प्रेम सबैलाई बाँड्नुस् तर कार्यालय सहायक र खरिदारलाई गोप्य कोठामा बोलाएर उनीहरूको मन्त्रणामा सहसचिव र सचिवको दोहोलो काढ्ने प्रवृत्ति नदोहोर्‍याई दिनुस् । केपी बासँगै यो आग्रह किन भने नुहाउँदा टाउकाबाटै पानी खन्याइने हो । 

अहिलेसम्म ठूला नेताको गोजीबाट निकालिएको एजेण्डा राज्यको मूलनीति बनेको छ । अब यसरी चल्दैन । आफैं प्रमुख भएको प्रधानमन्त्री कार्यालय फाजिल कर्मचारीको अखडा बन्ने गरेको छ । मन्त्रीले रोजेर छोडेका युद्ध हारेको  सिपाहीजस्ता बनेका त्यहाँका सचिवहरूको मनोबल उच्च बनाउनुस् ताकि प्रधानमन्त्री कार्यालय देशको शक्तिशाली ऐना बनोस् । कर्मचारीभित्रका अब्बल कर्मचारीलाई त्यहाँ जाने भोक जागोस् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको सामथ्र्य नै प्रधानमन्त्रीलाई सफल बनाउने भएपछि सल्लाहकारको उरुङ थपेर अर्थतन्त्र चोइट्याउने काम बन्द गरौं । राम्रा कामका लागि को संग सल्लाह लिनुपर्छ र ? आफ्नै विवेक र मानस नै काफी छ नि । पुनीत कामका लागि छोरी कुटेर बुहारी तर्साए केही फरक पर्दैन । 

 प्रधानमन्त्रीकै सचिव अर्थात मुख्यसचिव बेथितिको अभियोगमा जागिर गुमाएका बेला प्रधानमन्त्री बन्नुभएको छ । इतिहास पल्टाउनुस् त चन्द्रबहादुर थापाजस्ता मुख्यसचिव थिए, जसले १० बजेपछि सिंहदरबार पस्ने कर्मचारीलाई पूर्णत बन्देज लगाए । १० बजेको सरकारी उर्दीको घन्टीले ‘चन्द्र घन्टी’को उपमा पायो । उनैले कथेको ‘हरियो बन, नेपालको धन’ नारा अहिले पनि जनजनमा स्थापित छ । घरबाट पैदलै अफिस जाने उनी व्यक्तिगत काम गर्नुपर्‍यो भने कार्यालयको बिजुली बत्ती निभाएर मैनबत्ती सल्काउँथे । हो, अर्को चन्द्रबहादुर उत्पादन गर्नुस् । आफूभन्दा तलका यसरी काम दिनुस् कि चलखेल गर्ने समय नै नहोस् । चौथो कार्यकालमा यदि निष्पक्ष एम्पायर बनिदिनुभयो भने राजनीतिमा गोल गर्ने थुप्रै रोनाल्डो र मेस्सी जन्मिनेमा दुईमत छैन ।

कमजोर मानिसले बदला लिन्छ, बलियो मानिसले माफी दिन्छ, बुद्धिमान मानिसले भुलिदिन्छ । त्यसैले प्रतिशोधको आगोलाई अनुभवको पानीले निभाउने कोसिस गर्नुस् बा । बाटोमा हिँड्ने हरेक कुकुरलाई ढुंगा हान्दै हिँड्ने हो भने बालुवाटार–बालकोटको दूरी कठिन हुन्छ । ‘बार्दली राजनीति’लाई जतिसक्दो अप्रिय सपना ठानेर बिर्सिदिनुस् । सधैँ सोच्नुस मौसम चिसो भएपछि सुकेका पात पनि काममा आउँछन् । ढाड सधैं बलियो राख्नुपर्छ, प्रचण्डको भक्कानिएर त्यसै भनेका होइनन् ।राजनीति पनि सोचेको बाटोमा हिँड्दैन । याद राख्नुस– प्रेमभन्दा सिन्दुर बलियो हुन्थ्यो भने हरेक मन्दिरमा कृष्णसंग राधा नभएर रुक्मिणी हुन्थिन् । 

 कुनै दिन मान्छेले सावित गरेको थियो समय बदलिन्छ । अहिले समयले सावित गरिदियो मान्छे बदलिन्छ । देशमा बीस वर्षको पढाइबाट प्राप्त प्रमाणपत्रभन्दा महिना दिनमा निस्कने पासपोर्ट शक्तिशाली सिद्ध भएको अवस्थामा सरकारका एजेण्डा त्यता मोडिनुपर्छ ।

 जुत्ताको तलुवा चाटेरभन्दा जुत्ता घोटेर बनाएको पहिचानलाई राज्यले प्रमाणिकरण गरिदेओस् । राज्यको तलबधारी राजनीतिक नियुक्तिको हकदार बनेको समाचार नदोहोरियून । समर्थक हैन आलोचक बटुल्नुस् । प्रशंसामा विनयी हुनुस्, आलोचनामा गम्भीर बन्नुस् । कुरा काट्नेभन्दा विचार साट्ने चौतारीका रुपमा बालुवाटारको सरकारी निवासलाई रूपान्तरण गर्नुस् । 

वाणी र पानीमा छवि देखिन्छ । पानी स्वच्छ भयो भने चित्र, वाणी मधुर भयो भने चरित्र अब्बल बन्छ । सत्यको ढोका यति सानो हुन्छ कि उपस्थित हुनु अघि शिर झुकाउनु पर्छ । अभिमानले भन्छ कोही चाहिँदैन, अनुभव भन्छ मौकामा धुलो पनि काम लाग्छ । कसैको अपमान गर्नु भनेको आफ्नो सम्मान गुमाउनु पनि हो । ज्यादा समझदार र मूर्ख दुवै उस्तै हुन । यिनीहरूले कसैलाई सुन्दैनन् । 

तपाईंको एउटा सोचले असल भविष्य निर्धारण गर्छ । राज्यको तहमा बस्दा एक रुपियाँको कुरा गर्दा तीन करोडको दबाब सम्झनु पर्छ । झूटमा आकर्षण, सत्यमा स्थिरता हुन्छ । अनुभव जस्तो ठूलो विद्यालय संसारमा अर्को छैन । 

 उपहास, विरोध र स्वीकृति कामको प्रकृति हो । घर नचुहिएसम्म सबैलाई झरी प्यारो लाग्छ । पटक पटक गरी नाफाको जिन्दगी बाँच्नुभएका तपाईंलाई थाहै छ- तागत, जवानी र सत्ताको एक्सपायर डेट हुन्छ । तपाईं पहिलो र अन्तिम ४५ औं प्रधानमन्त्री होइन । 

कुनै समय सेनाको कम्ब्याक्ट लगाएर मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्रीको कुर्सीमा देखिए । सुराही बोकेर बालुवाटार पसेका कृष्णप्रसाद भट्टराई सुराही नै लिएर फर्किए । उँड्ने कि गुड्ने आफ्नो सोच हो । कुनै निर्णय लिनुअघि म ‘पब्लिक अडिट’को इजलासमा छु भन्ने सत्य स्वीकारिदिए पुग्छ ।