राजनीति

शिक्षामा सुमनापछि विद्या : गुरुआमालाई चुनौतीको पहाड !

By ज्ञानु घिमिरे

July 15, 2024

काठमाडौं- नेकपा एमालेले विद्या भट्टराईलाई शिक्षा मन्त्रालयमा पठाएको छ । उनले कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी छन् ।

नेकपा एमालेका ४ जना महिलाले प्रत्यक्ष निर्वाचन जितेका थिए । तीमध्ये विद्या एक हुन् ।

उनी विद्यार्थी राजनीतिमा पनि दखल राख्ने अध्ययनशी नेतृ हुन् ।

रवीन्द्र अधिकारीसँग विवाह भएपछि उनले राजनीतिलाई पन्छाएर शिक्षण तथा प्राध्यापन थालिन् ।

त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक उनी २०७५ फागुन १५ गते पति रवीन्द्रको हेलिकोप्टर दुर्घटना मृत्यु भएपछि एमालेको राजनीतिमा फर्किइन् ।

त्यसपछि उनी निरन्तर एमालेको सक्रिय राजनीतिमा छिन् । आफू सांसद भएर शिक्षा क्षेत्रकै महत्त्वपूर्ण कुराहरू उठाउँदै आएकाले पार्टीले शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उनले बताइन् ।

पीएचडी गर्दै सांसदको महत्वपूर्ण भूमिका निर्वाह गर्ने तयारीमा रहेकी विद्यालाई अचानक एमालेले शिक्षा मन्त्रीमा सिफारिस गरेपछि अब काम गरेर देखाउने चुनौती आएको उनी सुनाउँछिन् ।

प्रतिनिधि सभाअन्तर्गत शिक्षा विकास समितिकी सदस्य उनी नेपालमा शिक्षामा लगानी भए पनि सरकारी विद्यालयले सोचेअनुरूप नतिजा निकाल्न नसक्दा निराश भएको बताउँछिन् ।

पछिल्लो पटक एसइईको नतिजामा ४८ प्रतिशत नतिजा आउँदा आफूलाई अत्यन्तै दु:ख लागेको उनले बताइन् ।

यसअगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शिक्षामन्त्रीमा सुमना श्रेष्ठ थिइन् । उनले पनि शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने, सरकारी विद्यालयलाई विभिन्न तहबाट सुविधासम्पनन गराउने लगायतका काम गरेकी छन् ।

उनीले शिक्षा समिति सदस्य हुँदा त्रिभुवन विश्व विद्यालयको राजनीतिकरण र बेतिथिबारे आवाज उठाउँदै आएकी थिइन ।

विदेशमा अध्ययन गरेकी श्रेष्ठले नेपालको शिक्षा क्षेत्रका जटिलता र समस्या समाधान गर्ने उपायमा खोज अनुसन्धान गरेकी थिइन् ।

उनले देशमा शिक्षाको अवस्था सुधार गर्न पाए अन्य कुराहरू पनि क्रमशः सुध्रिएर जाने बताउँथिन् ।

यस पटक शिक्षा मन्त्रालयमा दुवै मन्त्रीहरू क्षमतावान् र राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षा प्रणाली बुझेकाले पालैपालो अवसर पाएका छन् ।

के भन्छिन् विद्या ?

आफूलाई पार्टीले शिक्षा मन्त्रालयजस्तो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएकोमा उनी आफूलाई अवसर र चुनौती दुवै आएको महसुस भएको उनी बताउँछिन् ।

भन्छिन्, ‘मेरो अनुभव र ज्ञानको आधारमा प्राप्त भएको मन्त्रालय हुनाले म सकेसम्म बेस्ट दिने प्रयत्न गर्ने छु । मैले शिक्षा समितिमा बस्दा पनि देश विदेशको शिक्षा प्रणालीबारे राम्रो अध्ययन गरेको छु । त्यसलाई विज्ञहरूको सुझाव लिएर व्यवहारिक बनाउन छलफल चलाउँछु ।’

उनले खबरहबसँगको कुराकानीमा भनिन, ‘मेरो रुचि यही क्षेत्रमा थियो । शिक्षा क्षेत्रलाई सुधार्न सक्यो भने नेपालको अवस्थामा धेरै सुधार हुन्छ । शिक्षा क्षेत्रमा वक्तव्य बजेटअनुसार काम भएको छैन । धेरै समस्या छ । यी सबै कुरालाई मध्यनजर गरेर काम गर्छु ।’

नेपालबाट दिनहुँ पढ्न र कमाउन विदेशिनेको सङ्ख्या बढिरहेकाले जीवनोपयोगी र रोजगारसापेक्ष शिक्षाको आवश्यकतामा ध्यान दिने बताउँछिन् ।

उनले अगाडि भनिन, ‘पछिल्लो पटक एसइईको रिजल्ट हेर्दा हाम्रो शिक्षा प्रणालीका जटिलता हटाउने र शिक्षकको क्षमता वृद्धि गर्नुपर्ने देखिएको छ । यो संकटको सामना गर्न गाँठो फुकाएर अगाडि बढ्छु ।’

विद्याको चुनौती

शिक्षामा अर्थ मन्त्रालयपछि धेरै बजेट छ । यसको उपयोग गर्न आफू चनाखो पूर्ण काम गर्ने नवनियुक्त मन्त्रीको भनाइ छ ।

पूर्वशिक्षा मन्त्री श्रेष्ठले पनि आफूले सम्हालेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको कारण धेरै कामहरू गर्न सकिने बताउँदै आएकी थिइन् ।

चालु आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा शिक्षाका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण गरेको सरकारले यस वर्ष ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गरेको थियो ।

यसकारण शिक्षा मन्त्रालय अर्थपछि सकैभन्दा बढी बजेट भएको मन्त्रालय भएकाले भट्टराईलाई काम गरेर देखाउनुपर्ने चुनौती छ।