सन् २००६ को समय थियो। दक्षिण एसियाका धेरै देशका नागरिक जस्तै बङ्गलादेशका नागरिक पनि गरिबीसँग सङ्घर्ष गरिरहेका थिए। सोही समयमा मोहम्मद युनिस र ग्रामीण बैङ्कले गाउँ तहबाटै गरिबी उत्थानको नीति लिएको थियो। यसैका लागि युनिस र ग्रामीण बैङ्कले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएका थिए।
सन् २००९ मा शेख हसिना बाजेदको शासन बङ्गलादेशमा सुरु भएको थियो। हसिनाको १५ वर्षे शासनका दुई मुख्य विशेषता थिए। आर्थिक उत्थानका लागि हसिनाको शासनको चर्चा भएको थियो। अर्कोतर्फ लोकतन्त्र कमजोर भएको आरोप पनि उनी माथि लागेको थियो। पछिल्लो समय हसिना सत्ता विमुख भएकी छिन्। बङ्गलादेश सेनाको नियन्त्रणमा छ। सेनाको नियन्त्रणसँगै तीनै मोहम्मद युनिसलाई अन्तरिम सरकारको प्रमुख बनाइएको छ।
झट्ट हेर्दा बङ्गलादेश संसारकै आश्चर्यमय देश भएको छ। आर्थिक उत्थानका लागि परिचित हसिनालाई गरिबी निवारणमा सक्रिय युनिसले प्रतिस्थापन गरेका छन्। लोकतन्त्र कमजोर भएको आरोप सहेको सोही देशमा हसिनाको सत्तापछि सेना हाबी भएको छ। अबको बङ्गलादेश कता जाने हो त्यो प्रतीक्षाको विषय छ।
विद्यार्थी आन्दोलनले सत्ता ढालेपछि ‘बैक फर द पोर’ का अभियन्ताले अन्तरिम सरकारको नेतृत्व गर्ने अवसर पाएका छन्। हसिनाको बहिर्गमन पछि खाली रहेको स्थानमा हसिनाका कटु आलोचक रहेका युनिसले शासनको जिम्मेवारी स्वीकार गरेका हुन्। शासन स्वीकार गरेपछि युनिसले केही घोषणा गरेका छन्। ‘व्यवसाय कानुन र नियम अनुसार चल्नै पर्छ’, उनले भनेका छन्।
ढाकाको थिङ्क ट्याङ्कले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बङ्गलादेशमा अब तानाशाही शासन नचल्ने बताए। नोबेल पुरस्कारको आधिकारिक वेभ साइटमा जनाइए अनुसार युनिसको जन्म सन् १९४० मा बङ्गलादेशको तटीय सहर चट्गाउँमा भएको हो। अमेरिकाको प्रतिष्ठित भान्डर बिल्ट विश्व विद्यालयमा छात्रवृत्ति पाउनु अघि उनले ढाका विश्वविद्यालयमा अध्ययन गरेका थिए। अमेरिकाको सोही विश्वविद्यालयबाट उनले विद्यावारिधि गरेका हुन्।
सन् १९७२ मा बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि उनी स्वदेश फर्कँदै चटगाउँ विश्वविद्यालयमा अध्यापनमा सक्रिय थिए। दुर्घटना चाँडै नै निम्तियो। सन् १९७४ मा बङ्गलादेशमा अनिकाल लागेको थियो। त्यसले १५ लाख मानिसको जीवन मेटाएको थियो। बङ्गलादेशमा गरिबी र भोकमरी बढेको बढ्यै थियो। अर्कोतर्फ उनी विश्व विद्यालयमा अध्यापन गराइरहेका थिए। उनले कागजमा पढेका र कक्षामा पढाएका शास्त्रले मात्र बङ्गलादेशलाई जोगाउन सकेको थिएन।
उनलाई लागेको थियो, आफू नजिक रहेकाहरू जोगाउन कुनै भूमिका निर्वाह गर्न सकिएन भने मानव हुनुको अर्थ पनि भएन। उनले आफूसँग भएको रकमको केही हिस्सा गरिबलाई ऋण दिएर कुनै काम गर्न सहयोग गर्न सुरु गरे। पछि गएर सन् १९८३ मा ग्रामीण बैङ्कको रूपमा स्थापित भयो। सोही संस्थापछि संसारमै तल्लो तहको उत्थानमा समर्पित बैङ्कको रूपमा संसारमा स्थापित भएको थियो।
छोटो समयमा विस्तार भएको सो बैङ्कले थोरै समयको अन्तरमा शाखा विस्तार गर्दै फराकिलो र बृहत् स्वरूपमा फैलाउन सफल भयो।
बङ्गलादेशी महिलाको उत्थानमा सक्रिय सो बैङ्कको सन् २००६ मा हाउजिङ, शिक्षा र साना व्यवसायमा गरी कुल २ अर्ब अमेरिकी डलर ऋण प्रवाह गरेको थियो। सोही वर्ष उनको यो कार्यले एकेडेमी पुरस्कारलाई प्रभावित गरे पछि उनी संसारको सबै भन्दा प्रतिष्ठित अवार्ड पाउन सफल भए।
सो समयमा युनिस र ग्रामीण बैङ्कको आलोचना नभएको होइन। चर्को ब्याजदार भएको र ऋणीलाई तिर्न कठिन भन्दै उनको यो अभियानको आलोचना भएको हो। यसलाई युनिस आफै भने पूर्ण रूपमा अस्वीकार गर्छन्। उनले बारम्बार ग्रामीण बैङ्क नाफा कमाउनका लागि नभई गरिबलाई सहयोग गर्न स्थापित भएको बताउँदै आएका छन्।
त्यसै वर्षदेखि हसिना र उनको विवाद थियो। दुवैले एक आपसलाई गरिबको रगत चुसेको आरोप लगाउँथेँ। सन् २००७ मा युनिसले नयाँ राजनीतिक दल खोल्ने तयारी गरेपछि हसिनाले नयाँ आगन्तुक अझ खतरनाक हुने प्रतिक्रिया दिएकी थिइन्।
सन् २०११ मा बङ्गलादेश केन्द्रीय बैङ्कले नियन्त्रणमा लिँदै ग्रामीण बैङ्कको अध्यक्षबाट युनिसलाई हटाएको थियो। यसको कारण उनको उमेर बैङ्कको नेतृत्व गर्न अनुपयुक्त भएको जनाइएको थियो।
सत्ताको आक्रमण सहेका उनको विरुद्धमा त्यसपछि अनेकौँ आरोपहरू लगाइए। खाद्य सुरक्षा र कर छली लगायतको आरोप युनिस माथि लागेको थियो। सन् २००७ मा श्रम ऐन मिचेको आरोपमा युनिसलाई ६ महिनाको जेल सजाय समेत तोकिएको थियो। बैंकरहरूले हसिना राजनीतिक रूपले पूर्वाग्रही भएको आरोप लगाएका थिए भने उनले भने त्यो कुरा अस्वीकार गरी नै रहेकी थिइन्।
यसपछि हसिना र उनको विरुद्धमा जुहारी चलीरहेकै समयमा यसै महिनाको सुरुवातमा हसिना सरकारले युनिसका विरुद्धमा अन्य आरोप लगाइ रहेको थियो भने युनिसले अहिलेको बङ्गलादेशको शासन पद्धति एक दलीय भएको यसको आलोचना गरिरहेका थिए।
हसिनाको बहिर्गमन पछि सेनाले उनलाई जिम्मेवारी सुम्पनु अघिको अन्तरवार्तामा युनिसले आफू नागरिकको रूपमा रहन चाहेको तथा सेनाको कामलाई नियालेर हेर्ने बताएका थिए। उनले हसिनाले धेरैले यातना दिएकै कारण मानिस सडकमा ओर्लिएर खुसीयाली मनाइरहेको प्रतिक्रिया दिएका थिए।
उनी अहिले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख भएका छन्। तथापि उनको अबको यात्रा सहज छैन। ओस्लोमा एसियन अथोरोटेनिजमको अध्ययन गरेका मुसाफर रहमानले अहिले निर्वाचन र प्रजातान्त्रिक व्यवस्थाको स्थापना नै मुख्य चुनौती भएको बताउँछन्। उनको विचारमा यस सवालमा युनिस असफल भए बङ्गलादेश अर्को दुर्घटनामा जानसक्छ।
बङ्गलादेशको शासन न्यायिक बनाउने उनको अर्को चुनौती हो। गएको महिना भएको विद्रोहमा तीन सय जनाको ज्यान गएको छ। यथार्थमा त्यो सङ्ख्या अझ ठुलो हुनसक्छ। बङ्गलादेश सरकारको अबको नेतृत्वले यसलाई सम्बोधन कसरी गर्छ भन्ने चासोको विषय हो।
ढाकास्थित इन्टरनेसल रिलेसन विश्व विद्यालयका प्राध्यापक निलय विश्वास सरकारको अबको काम गत महिना भएको विद्रोहको निष्पक्ष छानबिन भएको बताउँछन्। त्यस समयमा भएको मानव अधिकार उल्लङ्घनको घटना छानबिन गर्नु साँच्चै ठुलो चुनौती हो।
विद्रोहमा उत्रने विद्यार्थीको भावनाको सम्बोधन त अहिलेको आवश्यकता नै हो। यी राजनीतिक विषयपछि बङ्गलादेशको अर्थतन्त्रको विकास महत्त्वपूर्ण हो। यो उनको विशेषज्ञताको विषय पनि हो। अहिले बङ्गलादेशले आर्थिक वृद्धि मात्र खोजेको छैन, पूर्ण रूपमा आर्थिक विकास खोजेको छ। वितरणमा समानता दक्षिण एसियाको मुख्य चुनौती हो। यो चुनौतीको सामना गर्नु छदै छ।
युनिसले आफ्नो जीवनमा नोबेल पुरस्कार मात्र होइन सन् १९८७ मा स्वतन्त्रता दिवस अवार्ड र सन् २०००९ मा युएस प्रेसिडेन्टल अवार्ड फर फ्रिडम पाएका थिए। सन् २००७ मा नागरिक शक्तिको रूपमा नयाँ दल स्थापनाको तयारी गरेका उनले अहिले नागरिक शक्तिकै आडमा सत्ता पाएका छन्। उनले पाएका ती अवार्ड र प्रमाणपत्र भन्दा अहिलेको जिम्मेवारी बोझिलो हो। हेरौँ, उनको कार्यकालमा बङ्गलादेश कुन बाटोमा जाने छ। स्रोतः सिएनएन, डिडब्लू