समाचार

भारतीय दूतावासले थाल्यो ‘एक पेड माँ के नाम’ वृक्षारोपण अभियान

By खबरहब

August 15, 2024

काठमाडौ-ं भारतीय दूतावास, लैनचौरमा आफ्ना आमाहरुको सम्मानमा सबैलाई वृक्षरोपण गर्न आग्रह गर्दै ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वृक्षरोपन गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस, २०२४ का अवसरमा ‘एक पेड माँ के नाम’ अभियान शुभारम्भ गरेका थिए । अभियानलाई भारतीय जनताको समर्थन र सहभागितासहित सफल कार्यक्रमका रूपमा भारतभर लिइने गरेको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले लैनचौरस्थित दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षण एवं सम्वर्धन अभियानमा ऐक्यबद्धता जनाए ।

दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्री पनि यही साउन २७ गते दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर सो अभियानमा सरिक भएका थिए ।

वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न भारतीय ‘डायस्पोरा’का सदस्य एवं भारत–नेपाल मैत्री सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूले दूतावास परिसरमा बिरुवा रोपी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका थिए।

‘एक पेड माँ के नाम’ पहलसँगै नेपालस्थित भारतीय दूतावास, लैनचौरले आज विभिन्न जातका ७८ वटा बिरुवा दूतावास परिसरमा रोप्दै भारतको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ ।