काठमाडौं- पत्रकार सुधीर शर्माले एकैसाथ दुईवटा किताब प्रकाशित गरेर कमालै गरे । त्योभन्दा अर्को कमाल आइतबार उनको पुस्तक विमोचान कार्यक्रममा देखियो ।
दरबारमार्गस्थित पाँचतारे याक एण्ड यती होटलको विशाल हलमा आयोजना गरिएको विमोचन कार्यक्रम उपस्थितिको हिसाबले सानोतिनो आमसभा भन्दा कम थिएन । काठमाडौंको वौद्धिक वर्ग पूरै खनिएर पुस्तकमाथिको समीक्षा सुन्न होटलमा जम्मा भएको प्रतीत हुन्थ्यो ।
पत्रकार शर्माले ‘प्रयोगशाला’पछि लेखेका दुई पुस्तक हुन्– ‘भिक्षु व्यापार र विद्रोह’ अनि ‘हिमालपारिको हुरी’ ।
पुस्तकको विमोचन ज्येष्ठ नागरिक पञ्चवीरसिंह तुलाधर र मोतिलक्ष्मी शाक्यबाट गरिनु अर्को नयाँ प्रयोग रह्यो । दुबैजना पुस्तकका जीवित पात्र एवं तिब्बतको व्यापारसँग जोडिएका ऐतिहासिक व्यक्तिहरु रहेको लेखक शर्माले कार्यक्रममा जानकारी दिए ।
त्रिवि अन्तरष्ट्रिय सम्बन्ध विभागमा अध्यापनरत विनिता नेपालीले सञ्चालन गरेको कार्यक्रममा चीन मामिलाकी विज्ञ डा. लीला न्याइँच्याईले पत्रकार शर्मालाई पत्रकारिताबाट इतिहासका लेखकका रुपमा संक्रमण हुने चरणमा रहेको संज्ञा दिइन् । उनले शर्माका पुस्तकको मुक्तकण्ठले प्रशंसा गरिन् ।
पुस्तकमाथि समीक्षा गर्ने वक्ताहरुले शर्माको लेखनीको उच्च प्रशंशा गरे । यही प्रशंशाकै वीचमा उनीहरुले पुस्तकका केही कमजोरी पनि औंल्याए । कार्यक्रममा बोलेका तीनजना वक्ताले नेपाल चीन मामिलामा अहिलेसम्मकै उत्कृष्ट किताब आएको भनेर प्रशंशा गर्दागर्दै पनि सामान्य क्रिटिक्स (आलोचना) पनि गर्न छुटाएनन् ।
शर्माको पुस्तकमा वक्तहरुले औंल्याएका केही कमजोरीहरु यस्ता छन्–
काठमाडौंको मात्रै कुरा आयो, खस साम्राज्यको आएन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले शर्माका दुबै पुस्तक नेपाल–चीन सम्बन्धबारे जान्नका लागि अहिलेसम्मकै उत्कृष्ठ रहेको बताए । तर, पुस्तकमा काठमाडौंको नेवारी सभ्यता र चीन तिब्बत सम्बन्धबारे जति चर्चा गरिएको छ, देशका अन्य भागका तत्कालनि राज्यहरुसँगको सम्बन्धबारे चर्चा छुटेको टिप्पणी गरे ।
एमाले महासचिव पोखरेलको टिप्पणी यस्तो थियो–
काठमाडौंलाई केन्द्रित गरेर उहाँले सम्बन्धलाई परिभाषित गर्न खोज्नुभएको छ । नेपाल–चीन सम्बन्धको अर्को आयामका रुपमा व्यापारका सन्दर्भमा खस साम्राज्य चीनसँग अत्यन्त निकट थियो । खास गरी भन्ने हो भने व्यापारका दृष्टिकोणले काठमाडौंले जत्तिको अर्थ राख्छ, खस साम्राज्यले त्योभन्दा ज्यादा गहिरो अर्थ राख्छ भन्ने म ठान्दछु ।
यद्यपि, हामीकहाँ खस साम्राज्यलाई आधार बनाएर अध्ययन गर्ने परम्परा कमजोर छ । भविष्यमा सुधीरजीबाट म त्यो अपेक्षा गर्दछु । खस साम्राज्यलाई आधार बनाएर चीन–नेपाल सम्बन्धलाई नयाँ आयामबाट अध्ययन गर्न सक्छौँ र हाम्रो इतिहासलाई समृद्ध बनाउन सक्दछौँ भन्ने म ठान्दछु ।
भोटसँगको हाम्रो नाता, तिब्बतसँगको हाम्रो नाता कति गहिरो छ भन्ने कुरा उहाँको लेखनले उजागर गर्दछ । चीनको तिब्बतसँगको नाता, नेपालको तिब्बतसँगको तुलना गर्न कठिन लाग्छ ।
त्यति गहिरो सम्बन्ध तिब्बत र नेपालको बीचमा, तिब्बत र चीनको बीचमा छ । हाम्रो इतिहासका तथ्यहरूलाई जसरी उहाँले केलाउनु भएको छ, यसले हाम्रो भोटसँगको नाता त्यति गहिरो छ भन्ने तथ्यहरूले उजागर गर्दछ भन्ने लाग्छ । यो कितावको महत्वपूर्ण पक्षका रुपमा मैले लिएको छु ।
काठमाडौं उपत्यकाको समृद्धिको आधार तिब्बतको व्यापार हो र तिब्बतसँग व्यापारमा उतार–चढाव हुँदा काठमाडौंको समृद्धिमा उतार चढाव हुन्छ भन्ने विश्लेषण एउटा महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ ।
गगन थापाको प्रश्न : दरबार हत्याकाण्डबारे चिनियाँकोे बुझाइ के हो ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि शर्माको पुस्तकमा राजा महेन्द्र र माओको विषयमा उल्लेख हुँदा वीपी पनि जोडेको भए राम्रो हुने टिप्पणी गरे ।
शर्माले पुस्तकमा दरबार हत्याकाण्डबारे चर्चा गर्दा जोडेको चीनको प्रशंगमाथि पनि प्रश्न उठाए । पुस्तकले यो विषयलाई बहसमा ल्याएको थापाको टिप्पणी छ ।
थापाले भने, ‘चिनियाँहरुले दरबार हत्याकाण्डलाई स्वाभाविक मान्दै मानेनन्, मान्नै सकेनन् । तर, दरबार हत्याकाण्ड हुनुको एउटा महत्वपूर्ण कारण भनेको हामीसँगको सम्बन्ध थियो है भन्ने चिनियाँहरुले बुझे भनेर शर्माले त्यहीँ छाडिदिनुभएको छ, जसमा पुस्तक आइसकेपछि राम्रै बहस र छलफल हुन्छ होला भन्ने लाग्छ ।
राजा महेन्द्रले ‘कूटनीतिक बुद्धिमत्ता’ राखेको भन्ने विषयमा पनि त्यो कूटनीतिक बुद्धिमत्ता के हो भन्नेबारे पनि बहसको आवश्यकता थापाले औंल्याए । महेन्द्रले अपनाएको कूटनीतिक तरिकाले अगाडि बढ्न उचित हुन्छ कि हुँदैन ? कांग्रेस महामन्त्री थापाले यसमा प्रश्न उठाए । यसबारेमा छलफल गरिनुपर्ने थापाको भनाइ छ ।
विगतलाई धेरै देवत्वकरण नगरौं : डा. स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले शर्माको पुस्तक पठनीय भएको बताए । तर, इतिहासलाई देवत्करण गर्न नहुने भन्दै वाग्लेले सचेत पनि गराए ।
‘खाली पछाडिमात्रै हेर्न भएन । ५०० वर्ष अगाडि यस्तो थियो, सय वर्ष अगाडि यस्तो थियो भनेर विगतलाई देवत्वकरण नगरौं’ वाग्लेले भने, ‘अब के त ? अब पनि त चुनौतीहरू आउँदै छन् । नेपाल आफैं ‘प्याच अप’ को दौरानमा छ । चाइना आफैं संकटमा पुगेको छ ।’
उनले अगाडि भने, ‘लिच्छविकाल स्वर्ण युगजस्तै थियो, बीचमा खत्तम भयो, अहिले झूर भयो भन्ने छ नि, यसमा अलिकति प्रस्पेक्टिभ चाहिँ चाहिन्छ । सय वर्षको दौरानमा तिब्बतमा सयवटा जति कोठी (पसल) हरु हुनु भनेको सामान्य हो ।’
वाग्लेले थपे, ‘चार हजार साहुजी त यही दरबारमार्गमा छन् । भनेपछि, आजको आँखाबाट हेर्दाखेरि त्यो सानो स्केल नै हो । ल्हासासँगको व्यापारको वैभवले काठमाडौं बनेको हो भन्ने कुरा पनि… (प्रश्नयोग्य छ) । त्यसैले यसलाई धेरै ग्लोरिफाई चाहिँ गर्न हुन्न भन्ने मेरो मत छ ।’