अन्तर्वार्ता

चिनीकाजीको दशैँ : नेताको घरमा टीका थाप्न जान्न, आफू पनि कसैलाई बोलाउँदिन 

By ज्ञानु घिमिरे

October 15, 2024

महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन काठमाडौंका रैथाने नेवार हुन् । उनी काठमाडौं विभिन्न संस्कार संस्कृति र जातजातिले भरिपूर्ण सहर भएकाले यसको संरक्षण गर्नु जुनसुकै व्यक्तिको पनि दायित्व भएको बताउँछन् । कुनै बेलाको  दशैंमा काठमाडौंमा नेवार जातिहरू मात्र हुने तर अहिले अन्य जातिहरू पनि उतिकै भएकाले यो हुन् सकारात्मक पक्ष रहेको महर्जनको मान्यता छ ।  महर्जन काठमाडौंबाट निर्वाचित हुने जुनसुकै जनप्रतिनिधिले पनि यहाँको भूगोल र परिवेशलाई संरक्षण गर्नुपर्ने दायित्व भएको बताउँछन् । पछिल्लो समय केही अराजक गतिविधि गर्ने जनप्रतिनिधिहरू आएकाले यहाँको सांस्कृतिक र सम्पदाको संरक्षण नहुने हो कि भनेर चित्ता व्यक्त गर्छन् । उनीसँग हामीले काठमाडौँमा नेवार जाति र महर्जन परिवारले मनाउने दशैंका विषयमा कुराकानी गरेका छौँ । उनी दशैंको बेला घरको छानामा भिजिरहेको चङ्गा मिस गर्छन् ।

बच्चा बेलाको दशैं र अहिलेको दशैंबीच कस्तो भिन्नता पाउनुहुन्छ ? बच्चा बेलामा मैले नोटिस गरेको दशैंमा छाना माथिको चङ्गा हुन्थ्यो । त्यो चङ्गा बिहान उठ्दा पानीले ल्याफ्फ भिजिसकेको देखिन्थ्यो । त्यो बेला दशैँमा चिसो बढिसकेको हुन्थ्यो । उतिबेला अहिले जस्तो मौसममा परिवर्तन आएको थिएन । त्यो मौसम अहिले पनि म मिस गरिरहेको छु । पहिला दशैंमा काठमाडौंका सबैले मोहनी मात्र मनाउने गरेका थिए । अहिले त ४०, ५० वर्षमा दशैं मनाउने दसरा मनाउने चलन छ । मल्टी कल्चरल भएको छ । अहिले काठमाडौंमा दशैंमा नेवार मात्र हैन, सबै व्यक्ति हुन्छन् । काठमाडौं अब नेवार समुदायको मात्र रहेन । सबै मिलेर बस्ने यहाँका हरेक संस्कृति र सम्पदा जगेर्ना गर्नुपर्छ ।

नेवार समुदायले दशैं कसरी मनाउँछन्  ?

यहाँको स्थानीय नेवार समुदायले दशैंलाई मोहनी भन्छ । मोहनी घटस्थापनाको दिनदेखि (दसैँ) सुरु हुन्छ । त्यो बेला स्थानीयले शक्ति पीठहरूमा आँगन घरबाट पाय खड्कगुठी दशैंघरमा लिएर जान्छन् । कोही वैनवी, कोही ज्यवीनी, कोही सिनि, चाबुन्दा, मुख खला लगाएर परम्परागत भेषभुषामा परिक्रमा गर्ने चलन छ । हाम्रो दशैको सुरुवात घटस्थापनाबाट नै हुन्छ । कल्चरल हिसाबले हेर्दा नेवारको दसैँ अरूको भन्दा फरक हुन्छ ।

दशैलाई मोहनी भनेर विशेष रूपमा हेर्छन् । मोहनी भनेको कालो टीका हो । यो बत्ती दियो बाल्दा माटोको भाँडाले छोपेर त्यसको धुवाँ जम्मा पारेर लगाइन्छ । त्यसको विशेष महत्व छ । नेवार संस्कृतिमा कालो रङलाई शुद्धताको प्रतीक मानिन्छ । त्यो कारण नेवारले आफ्नो शुभ कार्यमा कालो रङ प्रयोग गर्छन् । मान्छे शुद्ध हुन मोहनी लगाउँछन् । हामीले थाहा पाए अनुसार मोहनी पूजा कोठामा बनाइन्छ । आफ्नो पूजा कोठामा मोहनी बनाएर आफन्तलाई लगाइदिने चलन छ ।

यहाँहरूले त खड्कजात्रा पनि मान्नुहुन्छ क्यारे ?

हो । जहाँसुकै त होइन अधिकांश नेवार बस्तीको पुरानो नेवार भएको ठाउँमा पाया पा भनेको खड्का या भनेको जात्रा खड्का जात्रा मनाइन्छ । त्यो बेलामा शक्तिको प्रतीकको अर्थमा ब्याली, स्याङ, चामुण्डा, नवदुर्गा सबैको मखुन्डो लगाएर पूजा घरका भिक्षुहरूले आ आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ । निकै रमाइलो हुन्छ ।

त्यसखाले परिक्रमा कुन दिनमा हुन्छ ?

दशमीको दिन हुन्छ । दशमीमा निकै रमाइलो लाग्छ । म चाहिँ संस्कृतिमा अत्यन्त रमाउने मान्छे हो । हामीले आफ्नो संस्कृति बचाउनका लागि यो कार्यक्रमहरू विशेष रूपमा काठमाडौंका नेवार समुदायले एक भएर मनाउने गरेका छौँ । यदि सम्बन्ध बिग्रिएको छ भने मुख फर्काएर भए पनि नजिकका आफन्तकोमा गएर टीका लगाउँछौँ ।

अहिले त पहिलाको तुलनामा चाडपर्व, संस्कृति मान्ने चलनमा कमी आयो होला नि हैन ?

अहँ नेवारमा त्यो छैन । मैले केही समुदायमा त्यस्तो देखेको छु । काठमाडौंको नेवार समुदायले संस्कृतिलाई विशेष महत्व  दिएका छन् । युवाले पनि पारिवारिक कल्चरका कारण संस्कृतिको रक्षा नै गर्ने गरेको देखिन्छ । हामी त संस्कारको संरक्षण गर्न जस्तोसुकै त्याग पनि गर्न तयार हुन्छौँ । ज्येष्ठताको आधारले विशेष सम्मान गर्ने परम्परा नेवारी समुदायमा हुन्छ । दशैंको बेला अरुबेला बिग्रिएको सम्बन्ध पनि टीका लगाउँदा सुधार्नुपर्छ । नबोलिकनै भए पनि टीका लगाइन्छ । अरुबेला झगडा भए पनि दशैंमा आफन्त मिल्छन् । आँगन घरको कालो टीका लगाइन्छ ।

निम्ता गरेको घरमा मात्र टीका लगाउन गइन्छ । अरूको घरमा गइँदैन । आफन्तले बोलाएको खण्डमा मात्र जाने चलन छ । इष्ट मित्रकोमा गइन्न । तीजमा हिन्दुले खाने दर जस्तै ‘नख्टे’  भनेर खाने चलन छ । ज्वाइँ, चेली बोलाएर खन्डे खाइन्छ । खड्कजात्रा टीकाको दिन कुभिन्डो काटिन्छ । कुभिन्डो हरेक घर घरमा काटेर दशैंको टीका लगाइन्छ ।

स्थानीय तीर्थयात्रा गर्ने प्रचलन कतिको छ ? हो । घटस्थापना भएको ९ दिनसम्म यहाँका स्थानीय मठ मन्दिरमा तीर्थयात्रा गरिन्छ । स्थानीय तीर्थ नवमीसम्म हुन्छ । ९ वटा तीर्थ विष्णुमती, बागमती, सपन तीर्थ टोखा, चण्डेश्वरी, टेकू दोभान, भद्रकाली, पुरानो गुह्येश्वरी लगायत गइन्छ । यो पुरानो मान्छेले चलाएको राम्रो चलन हो । कुन दिन कुन मन्दिर जाने भन्ने हुन्छ । टोलभरिको मान्छे भेला भएर तीर्थ गइन्छ । कति रमाइलो हुन्छ । यो चलन चाहिँ नजिकको तीर्थ यात्रालाई संरक्षण र समाधान गर्न पनि विशेष रूपमा लिइन्छ । म पनि परिवार र समुदायसँगै तीर्थयात्रा गर्छु ।

नेवार समुदायमा दशैंको टीका लगाउने र परिकार खाने परम्परा कस्तो छ ?  टीका पूर्णिमासम्म नै लगाइन्छ । तर कसैले टीकाको दिन मात्र पनि लगाउँछन् भन्ने सुनेको छु । हामी त पाँच दिन नै लगाउँछौँ । खानमा त नेवारहरू सोखिन नै छन् । मासु मुख्य हो । नेवारहरूको पनि दसैँ मनाउने चलन फरक हुन्छ । आरन परम्परा भए, नभएको हुन्छ । आरन पूजा भनेको घरका मात्र भएर गर्ने पूजा हो । त्यो पूजामा अरू छिर्दैनन् । आरन पूजाका बेलामा चाहिँ अरूलाई बोलाइँदैन । व्यक्ति परिवार बाहेक अरू कोही हुँदैनन् ।

यहाँ त जनताको प्रतिनिधि चाडबाडमा जनताका कस्ता चाहाना हुँदा रहेछन् ?  कसैका व्यक्तिगत चाहाना हुन्छन् । त्यो काम म गर्दिन । व्यक्तिलाई म कहिले खुसी पार्दिन । सामाजिक राजनीतिक जीवनमा मैले धेरै अनुभव छन् । म सामाजिक रूपमा काम गर्छु । दसैँ भनेको नेपालको भूगोलमा सबैभन्दा राम्रो समय र मौसमको चाड हो । यो बेला यत्तिकै मान्छेको मन फुरुङग हुन्छ । स्थानीय मठ मन्दिर शक्ति पीठको सरसफाइ र रङ रोकन हुन्छ ।

दशैंमा त साथीभाइ भेला भएर रमाउने, खाने योजना बनाउनु भएको छ कि ?  अरूको जस्तो म हाईफाई गर्दिन । साथीभाइलाई अरुबेला समय दिन्छु । दशैँमा परिवारलाई दिन्छु । नेताहरूको घरमा पनि जान्न । परिवारमा मात्र जान्छु । मामा घर, ससुराली जान्छु । धेरै रमाइलो गर्छु ।  नेवारमा आर्य र मंगोल, समुदायको हिसाबले हेर्दा नेवारहरू विभिन्न संस्कृति मान्ने भएकाले धेरै रमाइलो हुन्छ । म परम्परा तोडेर ठूला मान्छे खोजेर टीका लगाएर हिँड्दिन । नेता बनेर अरू साथीभाइलाई घरमा  बोलाउँदिन । चाडपर्व परिवारसंग मनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

दशैंको लागि वडाले कस्ता सुरक्षा सावधानी अपनाएको छ ? यहाँको वडा त व्यावसायिक क्षेत्रमा पर्छ ।  हो मेरो वडा विशेष भएकाले सबैभन्दा धेरै सीसी क्यामेरा छन् । भूगोलको हिसाबले सुरक्षित छ । सामानहरू पनि सुरक्षित हुन्छ । तर सुरक्षित हुन्छ भनेर सावधानी अपनाउनु पर्दैन भन्ने पनि होइन । सावधानी पनि गर्नुपर्छ । तर मैले सके जति सावधानी अपनाएको छु । ढुक्क हुनुपर्छ । यसो भन्दै लापरबाही भने गर्नु हुँदैन ।

काठमाडौँ महानगर त सांस्कृतिक सहर हो । महानगरका मेयर पनि संस्कृति बचाउन लाग्नु भएको देखिन्छ । बाहिर मात्र देखिएको हो कि उहाँले साँच्चै यहाँहरूसँग सहकार्य गरेर पुराना संस्कृति जगेर्ना गर्नुभएको छ ?

म कसैको बारेमा टिप्पणी गर्दिन । तर काम गरेजस्तो गर्नु र नगर्नु अलग हो । इन्द्रजात्रामा महानगरको मेयर कहाँ थिए ? हामी त लाग्यौँ नि उनलाई यहाँका स्थानीयले नै जिताएका हैनन् ? यहाँको संस्कार मान्नु पर्दैन ? हाम्रो त भूगोल यही हो नि । हाम्रो चाहाना त नगर बनाउने हो नि । तर उहाँले त मठ मन्दिर बाटोमा भए भनेर मास्न खोज्नु हुन्छ । नगरप्रमुख उपस्थित हुने कार्यक्रममा सनक देखाएर हिँड्नु हुन्छ । जनताले त यो कुरा बुझे नि । कम्तीमा आफूले जितेको भूगोललाई त सम्मान गर्नुपर्थ्यो नि । राजनीतिक संस्कार खै ? कोही बेला आफ्नो क्षेत्राधिकार नै मिचेर वडाध्यक्षमाथि आक्रमण गर्ने । मलाई त यस्ता खरानी धस्ने मान्छेहरूले काठमाडौंको सभ्यता बिगार्लान कि जस्तो लाग्छ । तर यस्तो हुन हामी कदापि दिने छैनौँ । किनकि हाम्रो माटो र पुर्खाले बनाएको काठमाडौंप्रति सधैं गर्व छ । संस्कृतिमाथि कसैले आक्रमण गर्न खोजे त्यो मान्य हुँदैन । हामी अरूको संस्कृतिलाई उतिकै सम्मान गर्छौं ।

न्यूरोड फुटपाथ विस्तारको विवादले यहाँ र महानगर प्रमुखबीच दूरी बढेको हो ?  हेर्नु म पनि पुराना लिडर सच्चिनु पर्छ राम्रो काम गर्नुपर्छ भनेर हिँडेको मानिस हो । त्यसकार मैले उनलाई नयाँ हुन भनेर सधैँ सहयोग गरेको हो । ऊर्जावान् थिए । साँच्चिकै काठमाडौँ बन्छ भनेर निरन्तर सहयोग गरें । तर हरेक वडाध्यक्षमाथि सनक चढेर खनिन थाले । हामी एउटा सानो बाटोमा ढुङ्गा छाप्न त दुईचार पटक छलफल गर्छौँ । उनी त आफू खुसी मपाईँ गर्न थाले । विकास गर्ने कार्यशैली त उहाँले सुधार्नु पर्छ नि । तानाशाही प्रवृत्ति गरेर हुँदैन । म मात्र ठिक भन्ने प्रवृत्ति त्याग्नु पर्‍यो ।

मैले पेटी चौडा नगर्नु भनेको हैन । गर्नुपर्छ । तर सल्लाह छलफल र सहमतिमा हुनुपर्छ । हाम्रो पुर्खाले बनाएको मन्दिरमा दियो सफा गर्न आउने ? दियो राखेको मान्छेको मतलब छैन । कुन चाहिँ काम अरू मेयरले नगरेको गरेको छ ? फल्चा बनाउने त हाम्रो आइडिया हो । यस्ता मान्छेसँग के आस गर्नु ? मैले रत्नपार्कमा बनाउन लागेको फल्चा अन्तै बनाएको छ । बनावटी गरेर हुन्छ ? अहिलेको एआई र बालेन उस्तै हो । अनि मलाई अनावश्यक मान्छे लगाएर थर्काउने ? मार्ने धम्की दिने ।

के भनेर थर्काए , अरू मान्छे पनि परिचालन गरे भन्नु त गम्भीर आरोप भएन र ? म जस्तो सोसल मान्छे नभएको भए बालेन र उनका मान्छेले दिएको टर्चरले मान्छे उहिले डिप्रेसनमा पुग्ने थियो । विवाद आएपछि हरेक राती कल आउँछ । मार्ने, टाउको काट्नेसम्मको धम्की आउँछ । तर म यस्ता मान्छेबाट किन डराउने भन्नु त । नबिराउनु , नडराउनुको नीति पछ्याएको हो मैले । म सँग सबै रेकर्ड छ । म्यासेज गरेको कल गरेको । बालेनसंग विवाद आएपछि मात्र यस्तो अवस्था देखिएको हो । यस्ता मान्छेको पछि लाग्नु छैन । म आफ्नो काम गर्छु । उसले चिनीकाजी भन्ने मान्छे चिनेको छैन हेला । यस्तो पाराले हुँदैन ।

अहिले यहाँहरूको सम्बन्ध कुन स्थितिमा छ ? बोलचाल छैन । म राजनीतिक चरित्र नभएका मान्छेलाई वास्ता पनि गर्दिन । विरोध लामा, रञ्जित श्रेष्ठ भन्ने लगाएर अनेक दुख दिएका छन् ।

जम्मा २९ प्रतिशत खर्च गरेको छ महानगरले । स्टन्ट गरेको छ । वडाध्यक्षको कार्यमाथि धावा बोलेको छ । हिम्मत भए त काम गरेर देखाउने हो । यहाँबाट आएर फाइल लाने, दुख दिने गर्नु ठिक होइन नि । बालेन सुध्रिनुपर्छ । म चाहन्छु उनी सुध्रिउन । सबैको कुरा सुनून् । म राम्रो काम गर्ने मेयरलाई सहयोग गर्नुपर्छ भनेर नै लागेको हो । म सहयोग गर्छु भनेर अभियान नै चलाएको हो । तर शैली ठीक भएन ।  संस्कृति बचाउन पनि यिनको स्टन्ट नै रहेछ ।