समाचार

सबैको पर्व बन्दैछ दशैँ

By सीता न्यौपाने

October 15, 2024

पछिल्लो समय आदिवासी जनजातिमा दशैँ बहिष्कारको प्रचलन आएको छ । विशेष गरी २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था आएपछि दशैँबारे फरक अभियान चल्न थाल्यो । पृथ्वीनारायण शाहले किराँती राज्यहरू मासेपछि खुशीयालीमा किराँतीको रगतको टीका लगाएर शुरूआत गरेको भन्ने तर्कहरू आए ।

तर पनि धेरै जनजातिहरूले दशैँ मान्दै आएका छन् । उनीहरूले असत्यमाथिको जीत मनाउने पर्व र आफूभन्दा ठूलाको आशीर्वाद लिनेलाई बहिष्कार गर्न नहुने तर्क छ । रंगहरुको विकास नभइसकेको अवस्थामा जनजाति तथा ब्राह्मण क्षेत्री सबैले सेतो टीका लगाउने चलन थियो ।

बूढापाकाका अनुसार सबैभन्दा पहिले व्यापार व्यवसायमा संलग्न नेवार जातिले दशैँमा रातो टीका लगाउन थालेको बताउँछन् । आज हामीले जनजातिहरूले कसरी दशैं मनाउँछन् भन्ने सामग्री प्रस्तुत गरेका छौ ।

गुरुङ : करिब डेढ दशकदेखि गुरुङ जातिका केहीले दशैँ बहिष्कार अभियान चलाइरहेका छन् । तर पनि अधिकांशले दशैं मान्दै आइरहेका छन् । गुरुङ समुदायमा भिन्न–भिन्न तरिकाले दशैं मनाउने चलन छ । कसैले टीका लगाएर मनाउँछन् । कोही यो पर्वलाई भेटघाट, दुःखसुख साटासाट, भाइचारा सम्बन्ध विकासको अवसरको रूपमा लिन्छन् । उनीहरू दशैंलाई धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा मनाउने गर्दछन् । दशैँमा सेतो टीका लगाउने प्रचलनमा यो समुदायमा छ । उनीहरू विवाह र ल्होसार लगायतका शुभ कार्यमा पनि दहीमा चामल मिसाएर रातो अबिर प्रयोग नगरी सेतो टीका लगाउने गर्दछन् ।

परम्परागत रूपमा टीका लगाउनेहरूले घटनास्थापनाको दिन जमरा राख्छन् । नवदुर्गाको नियमित पूजा गर्छन् । र उनीहरू विशेष गरी पाँच दिन दशैँ मनाउँछन् ।

मधेश : मधेशमा दशैँ लाई दशहरा भन्ने गरिन्छ । दशहराको तयारी करिब एक महिना अगाडिदेखि हुन्छ । ग्रामीण भेगमा सामूहिक पूजा गर्ने परम्परा छ भने नजिकका शक्तिपीठ, देवस्थान तथा गाउँका मन्दिरहरूमा सामूहिक रूपमा जमरा राख्ने चलन छ ।

भाकल गरेकाहरूले विभिन्न जनावरको बली समेत दिने गरेका छन् । शाकाहारीहरूले भने कुभिन्डो लगायतका तरकारी प्रसादको रूपमा चढाउने गरेका छन् । दशहरा सुरु भएको दिन घटस्थापनादेखि दश दिनसम्म विशेष रूपमा झिझिया नाच नाच्ने चलन रहेको छ । दशहरा मेलामा नेटुवा नाच पनि गरिन्छ ।

दशैँको अन्तिम दिन वा पूर्णिमाको दिन यो नृत्य समाप्त हुने गर्छ । पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ । आश्विन शुक्ल सप्तमीमा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ । पण्डालसहित दुर्गा भगवतीको आकर्षक मूर्तिलाई भव्य रूपमा सजाइन्छ ।

भाकल गरेकाहरू नवरात्रिको ९ दिनसम्म व्रत बस्ने परम्परा समेत रहेको छ । दुर्गा भगवतीको माटोको मूर्तिलाई विभिन्न ठाउँमा पण्डाल बनाइ स्थापना गरिएको हुन्छ । नवमीको दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ । दुर्गा भवानीलाई खोइच भर्ने परम्परा यो समुदायमा प्रसिद्ध छ ।

थारु : थारुहरू प्रकृतिपूजक हुन्छन् । प्राचीनकालदेखि थारुले आफ्नो देवीदेवतालाई गाईको दूधले पूजा गर्थे । पृथ्वीमा कुनै कृत्रिम रङको उत्पादन नहुँदा सेतो रङकै वर्चस्व थियो भन्ने मान्यताले उनीहरूले रातो रङको टीका लगाउँदैनन् ।

गाईको दूध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन भयो । उनीहरू  चामलको पीठोको टीकासहित जमरा, दौना, बेबुरी (बाबरी) को फूल ग्रहण गर्छन् । अरुबेला दौना बेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैँमा टीकासँगै विशेषरुपले ग्रहण गर्छन् । उनीहरूले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लगाउँछन् । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैताला बलियो होस्, शरीर स्वास्थ्य होस् भन्ने मनोकामना गरिन्छ ।

पहिरन र परिकार पनि उनीहरू सेतै लगाउँछन् । थारुको दशैँमा नाचिने विशेष नाच सखियामा समेत नचनियाहरुले सेतो फरिया र गुन्यू प्रयोग गर्छन् । अर्को दशैंमा नभई नहुने परिकार हो ढिक्री । ढिक्री नयाँ चामलले तयार पारिन्छ ।

थारु समुदायमा बली दिने प्रचलन छैन । उनीहरू देवीले कुनै जीवको बली नमाग्ने कुरामा विश्वास गर्छन् । त्यसकारण उनीहरू कुभिण्डोको बली दिन्छन् । मासु खाए पनि उनीहरू जीवको बली दिँदैनन । थारुहरू गाउँमा साझा रूपमा रजमर्वा (देवथान) को पूजा गर्छन् । उनीहरूको समुदायमा चार दिनसम्म दशैँ मनाइन्छ ।

मगर : नेपाली समाजमा मगर जातीले सबैभन्दा ठूलो पर्वको रूपमा दशैँ मनाउँछन् । यस जातमा पनि बलीको बारेमा आ–आफ्नै व्याख्या छ । कसैले तरकारी फलफूल चढाउँछन् भने कसैले जीबको बली दिने परम्परा छ ।

मगरहरूले विशेष सुँगुरको बली दिने प्रचलन रहेको छ । सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन छ । त्यस छापले भूतप्रेत अथवा नकारात्मक शक्तिले घरभित्र प्रवेश पाउँदैन भन्ने मान्यता छ ।

यस्तै उनीहरूले पनि प्रकृतिलाई नै देवता मान्ने भएकाले दशैँमा सेतो टीका लगाउने गर्दछन् । तर पछिल्लो समय जातीय पहिचानको मुद्दा उठ्दै गर्दा केही मगरहरूले दशैँ आफ्नो पर्व नभएको वकालत गर्दै आएका छन् ।

नेपालका मगर पुर्खाहरूको सत्य इतिहासलाई नष्ट गरी ब्राह्मणहरूको इतिहासलाई जबरजस्ती लादेको उनीहरूको आरोप छ । मगरहरूले रामायणलाई हिन्दुहरूको साहित्य भनिरहेका छन् । र त्यसमा लेखिएका अधिकांश प्रथाहरू काल्पनिक भएको बताउँछन् ।

त्यसैअनुरुप रामायणमा लेखिएको अयोध्याको रामले लंकाका राक्षस रावणलाई दशौँ दिनमा हराई लंका विजय गरी अयोध्यामा राम फर्केको खुशीयालीमा मनाइएको बुझिन्छ । त्यसैलाई दशैँको रूपमा मनाउन थालिएपछि नेपालका हिन्दुले अथवा ब्राह्मणले मगर समुदायमा आफ्नो पर्वको प्रचार गरेको भनी विवाद छ । नेपालमा मगर जातिहरूको इतिहास हेर्दा उनीहरू हिन्दुको चाडपर्व मान्ने समुदाय होइनन् भनिएको छ ।

राई : राई समुदाय नेपालको मूलवासी किराँत समुदाय भित्र पर्ने जाति हो ।  यो जाति नेपालको एक भूमिपुत्र मूलवासी प्रमुख समुदाय हो । राईहरूको महान् चाड साकेला हो ।

राईहरु अष्टमीको दिन सुँगुरको बली दिन्छन् । त्यस्तै, नवमीको दिन सबैजसो घरमा कुखुराको बली दिइन्छ । पहिले पहिले कुखुराको भोग दिएपछि बन्दुक पड्काउने चलन थियो ।

राईहरू रातो रङ मन पराउँदैनन् । उनीहरू रातो रङलाई अपवित्र र बनावटी मान्छन् । त्यसकारण सेतो रंगको टीका लगाउँछन् । सेतोलाई उनीहरू शुभ र प्राकृतिक मान्छन् । चामल र दही मात्रै मिसिएको टीका लगाउँछन् ।

उनीहरूको जमरा राख्ने चलन हुँदैन । सेतो टीका र दुबो कानमा सिउरिने चलन छ । पछिल्लो समय दशैँ मनाउने राईहरूले जमरा सिउरेको पनि देख्न सकिन्छ । टीका थाप्न जानेले कोसेलीका रूपमा मासु नै लैजानुपर्ने चलन छ । त्यो पनि सुँगुरकै लैजानु पर्छ ।

राईहरूमा पनि दशैं मनाउने र नमनाउने विवाद छ । केहीले दशैँ बहिष्कार गरेका छन् । त्यही विषयलाई लिएर ‘दश थुम, दश राई, दश कुरा, दश रीति, एक चुला’ भन्ने उक्ति समेत बनेको छ । राज्यले दमनपूर्वक किराँतीलाई दशैं मान्न बाध्य पारेको उनीहरूको भनाइ छ । हाल राई समुदायमा अघिल्लो पुस्ता दशैं मनाउनुपर्नेमा अडिग छन् । त्यस्तै युवाहरू बहिष्कार गरिरहेका छन् ।

दशैँ सबैको पर्व : जगमान गुरुङ संस्कृतविद्

संस्कृतिविद् डा. जगमान गुरुङ दशैँ सबैको साझा पर्व भएको बताउँछन् । उनी भन्छन्, ‘असत्यमाथि सत्यको जीत, अधर्मको पराजय भएको दिन कुनै निश्चित जाती वा समुदायको मात्रै रहन्न । त्यसकारण दशैं सबैको साझा पर्व हो ।’

जनजातिहरूमा अन्य बाहिरी धर्म मान्नेहरुले दशैँ तिमीहरूको होइन भनेर भ्रम फैलाएको उनको आरोप छ । सदियौँदेखि मिल्दै भाइचारा राख्दै आएका जनजातिलाई भड्काएर दशैं बहिष्कारमा लगाउनु गलत भएको गुरुङले बताए ।

‘नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजातिबीचमा विभेद नभएको र दशैँ सबै समुदायको पर्व हो’ उनले भने । उनले आफ्नै गुरुङ समुदाय र अन्य जनजातीलगायतलाई दशैं बहिष्कार नगर्न आग्रह गर्दै आएका छन् ।