ब्रेकिङ स्टोरी

लेबनानमा किन तैनाथ छन्‌ ५० राष्ट्रका १० हजारभन्दा बढी सैनिक ?

By खबरहब

October 15, 2024

काठमाडौं – इजरायलले लेबनानमाथि लगातार हवाई र जमिनी आक्रमण गरिरहेको छ । लेबनानको राजधानी बेरुतमा इजरायलबाट भएका हवाई आक्रमणमा कयौं लेबनानी नागरिकको मृत्यु भइसकेको छ ।

लेबनान सरकारले इजरायलका साथ तनाव बढेपछि गत वर्षदेखि अहिलेसम्म कम्तिमा पनि १२ लाख मानिसहरू पलायन भएका जनाएको छ । गत वर्ष २०२३ अक्टोबर ८ मा लेबनानको हिज्बुल्लाहले उत्तरी इजरायलमा रकेट आक्रमण गरेको थियो ।

त्यसको एक दिनअघि अर्थात अक्टोबर ७ मा गाजापट्टीस्थित हमास समूहले इजराइलमाथि आक्रमण गर्दा १२ सयको मृत्यु भएको थियो भने हमासका लडाकुहरूले २५१ जनालाई अपहरण गरेर बन्धक बनाएका थिए ।

मुठभेडका ती घटनाबाट शुरू भएको लडाइँ यतिखेर उत्कर्षमा छ । पछिल्लो चरणमा लेबनानमाथि आक्रमण थालेको इजरायलले त्यहाँ शान्ति स्थापनार्थ तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि पनि आक्रमण गरेका समाचारहरू सार्वजनिक भएका छन् ।

इजरायलले दक्षिण लेबनानमा तैनाथ युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) अर्थात ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ माथि आक्रमण गरेपछि राष्ट्रसंघीय सुरक्षा परिषद्ले गम्भीर चासो व्यक्त गरेको छ ।

इजरायल गरेको अलग–अलग आक्रमणमा ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ का सदस्यहरू घाइते भएपछि राष्ट्रसंघीय सुरक्षा परिषद्ले गम्भीर चासो व्यक्त गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यम ‘अल जजिरा’ का अनुसार इजरायलले गरेको आक्रमणमा पाँच जना ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ का सदस्यहरू घाइते भएका छन् ।

इटाली, बेलायत, फ्रान्स र जर्मनीले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले शान्ति सेनामाथि गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरूले शान्ति सेनामाथि जानाजानी गरिएको आक्रमण अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको स्मरण गराएका छन् ।

तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ लाई ‘तात्कालिक रूपमा युद्धक्षेत्र छोड्न’ माग गर्दै इजरायलले जानाजानी शान्ति सेनामा आक्रमण गरेको भनेर लगाइएको आरोपको खण्डन गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफान दुजेरिकले पत्रकारहरूसँग भनेका छन्, ‘शान्ति सेनामाथि गरिएको हमला अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हो । यो युद्ध अपराध हो ।’

गुटेरेसले पनि इजरायलसँग लेबनानमा खटिएका शान्ति सेनालाई जोखिम हुने कुनै प्रकारका काम नगर्न आग्रह गरेका छन् ।

के हो ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ ?

युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) अर्थात लेबनानमा ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ झण्डै ५० वर्षदेखि शान्ति स्थापनार्थ खटिँदै आएको छ । १० हजार सदस्यीय ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ लेबनान र इजरायलको सीमा क्षेत्रको ‘पेट्रोलिङ’ (गस्ती) गर्दै आएको छ ।

‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ शान्ति सैनिक मिशन हो । इजरायलले लेबनानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् १९७८ मार्च १९ मा यसको स्थापना गरेको थियो ।

प्रारम्भमा सुरक्षा परिषद्ले संकल्प ४२५ र ४२६ पारित गर्दै इजरायललाई लेबनानबाट फर्किन आह्वान गर्दै ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ स्थापना गर्ने निर्णय पनि गरेको थियो ।

‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ लेबनानमा तीन उद्देश्यहरू पूरा गर्न तैनाथ गरिएको हो ।

पहिलो– इजरायली सेनाको फर्काइलाई पुष्टि गर्न !

दोस्रो– अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा पुनःस्थापना गर्न र;

तेस्रो– लेबनान सरकारलाई आफ्नो प्रभावकारी अधिकार फर्काउनमा मद्दत गर्न !

जोर्डनबाट लेबनानमा प्यालेस्टाइनी सशस्त्र समूहको प्रवेशपछि सन् १९७० को दशकको प्रारम्भमा इजरायल–लेबनान सिमानामा तनाव बढेको थियो । तनाव बढ्दै गएपछि इजरायलविरुद्ध प्यालेस्टाइनी कमाण्डो अपरेसनहरू र लेबनानमा प्यालेस्टाइनी आधारहरूमा इजरायली प्रतिशोध तीव्र हुन पुगेको थियो ।

सन् १९७८ मार्च ११ मा इजरायलमा भएको आक्रमणमा कयौं इजरायली मारिनुका साथै थुप्रै मानिसहरू घाइते भएका थिए । उक्त आक्रमणको जिम्मेवारी प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ) ले लिएको थियो ।

आक्रमणको जवाफमा इजरायली सेनाले मार्च १४–१५ लेबनानमाथि प्रतिआक्रमण गर्‍यो । इजरायली सेनाले केही दिनमै लेबनानको दक्षिणी भागलाई आफ्नो कब्जामा लियो । सन् १९७८ मार्च १५ मा लेबनान सरकारले इजरायली आक्रमणविरूद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा विरोध पत्र दर्ता गर्‍यो ।

पत्रमार्फत् लेबनानले इजलायलमा भएको प्यालेस्टाइनी कमाण्डो अपरेसनसँग आफ्नो कुनै सम्बन्ध नभएको पनि दाबी गर्‍यो । मार्च १९ मा सुरक्षा परिषद्ले संकल्प ४२५ (१९७८) र ४२६ (१९७८) पारित गर्दै इजरायललाई तत्काल सैन्य क्रियाकलाप रोकेर सबै लेबनानी भूभागबाट फिर्ता हुन आह्वान गर्‍यो ।

साथै, सुरक्षा परिषद्ले लेबनानमा ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ तत्काल स्थापना गर्ने निर्णयसमेत गर्‍यो । ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ का सैनिकहरू सन् १९७८ मार्च २३ मा लेबनान पुगेका थिए ।

के तिनीहरू सैनिक हुन् ?

विभिन्न मुलुकमा खटिने शान्ति सेनाहरूलाई सैनिक मानिदैन । उनीहरू केबल आफ्नो गृहदेशका लागि मात्र सैनिक हुन् । तर, शान्ति सैनिक मिशनमा खटिने सेनाहरू युद्धमा संलग्न हुँदैनन् । शान्ति सेनाले निष्पक्ष रहनुपर्छ भन्ने मान्यता रहिआएको छ ।

संयुक्त राष्ट्रका अनुसार शान्ति सैनिक अपरेसनहरूले शान्ति–सुरक्षा कायममात्रै नगरेर खटिएको मुलुकको राजनीतिक प्रक्रियालाई सघाउने, नागरिकको संरक्षण गर्ने, पूर्व लडाकूहरूको निशस्तीकरण गर्ने र पुनः एकीकरणमा मद्दत गर्ने तथा चुनावमा सघाउने, मानव अधिकारको रक्षा गर्ने तथा कानूनी शासन पुनर्स्थापनामा सहयोग गर्दछन् ।

कुन देशबाट कति शान्ति सैनिक ?

‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ मा नेपालसहित ५० राष्ट्रका १० हजारभन्दा बढी शान्ति सैनिकहरू समेटेको छ । अल–जजिराले सेप्टेम्बर २ सम्मको अवस्थालाई आधार मानेर प्रकाशन गरेको समाचारअनुसार ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल’ सबैभन्दा बढी इन्डोनेसियाका सैनिक छन् ।

नेपाल शान्ति सेना लेबनानमा पठाउने मुलुकको सूचीको चौथो नम्बरमा पर्दछ भने इटाली र भारत क्रमशः दोस्रो र तेस्रो मुलुकमा पर्दछन् । इन्डोनेसियाबाट १ हजार २३१, इटालीबाट १ हजार ६८, भारतबाट ९०३ र नेपालबाट ८७६ शान्ति सेना लेबनानमा खटिएका छन् ।

यस्तै घानाबाट ८७३, मलेशियाबाट ८३३, स्पेनबाट ६७६, फ्रान्सबाट ६७३, चीनबाट ४१८, आयरल्याण्डबाट ३७०, दक्षिण कोरियाबाट २९४, पोल्यान्डबाट २१३, फिनल्यान्डबाट २०५, कम्बोडियाबाट १८५, सर्भियाबाट १८२, अस्ट्रियाबाट १६५, ग्रीसबाट १३१ र श्रीलंकाबाट १२६ शान्ति सैनिक लेबनानमा छन् ।

त्यसैगरी तन्जानियाले १२५, बंगलादेशले १२०, जर्मनीले ११२, टर्कीले ९२, एल सल्भाडोरले ५२, मोल्डोभाले ३२, ब्रुनाईले २९, हंगेरीले १५, ब्राजिलले ११, माल्टाले ९, उत्तर म्यासेडोनियाले ५, मंगोलियाले ४ जना सेनालाई लेबनान मिसनमा पठाएको समाचार अल–जजिरामा छ ।

अल–जजिराका अनुसार अर्जेन्टिना, केन्या, लाटभिया, सिएरा लिओनले ३–३ जना, साइप्रस, ग्वाटेमाला, जाम्बियाले २–२ जना तथा आर्मेनिया, युनाइटेड किङ्डम, कोलम्बिया, क्रोएशिया, एस्टोनिया, फिजी, कजाकिस्तान, मलावी, नेदरल्यान्ड्स, नाइजेरिया, पेरू, कतार र उरुग्वेबाट १–१ जना लेबनानमा शान्ति सेनाका रूपमा तैनाथ छन् ।

यो पनि-

‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय